२ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ब्याज महँगिँदा बढ्यो भार – Nepal Press

२ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ब्याज महँगिँदा बढ्यो भार

काठमाडौं । आन्तरिक ऋणको ब्याजदर बढ्दा सरकारलाई सकस परेको छ । सरकारले यो वर्ष २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

तर, आन्तरिक ऋणको ब्याज बढेसँगै सरकारलाई ४३ अर्ब रुपैयाँ अतिरिक्त भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले पनि आन्तरिक ऋणको ब्याजदर बढ्दा सरकारलाई अतिरिक्त भार थपिएको बताए ।

अहिले ट्रेजरी बिलको डिस्काउन्ट रेट नै ९ प्रतिशत रहेको उनको भनाइ छ । यस्तै विकास ऋणपत्र तथा नागरिक बचतपत्रलगायतको व्याजदर साढे १२ प्रतिशतसम्म रहेको छ । सरकारले लिएको ऋणमध्ये हालसम्म ९ खर्ब ४५ अर्ब आन्तरिक ऋण तिर्न बाँकी रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी गिरीले यसअघि जुन ब्याजदरमा ऋण लिएको हो, सोही ब्याजदर कायम हुने भए पनि यसपटक ब्याजदर बढ्दा सरकारलाई अतिरिक्त आर्थिक भार थपिएको बताए ।

अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार ब्याजदर बढेकाले बजेटमा लिएको लक्ष्यभन्दा ४३ अर्ब बढी आन्तरिक ऋणको लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माग गरेको छ । ‘ऋण लिएपछि तिर्नुपर्ने अनिवार्य दायित्व हो । तर, त्यही दायित्व ब्याजदरका कारण थप बढेको छ’, ती सहसचिवले भने, ‘खर्च चलाउन बढी ब्याजमा भए पनि ऋण लिनैपर्ने अवस्था छ ।’

यता नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका प्रमुख पिताम्बर भण्डारी ४-५ वर्ष अघिसम्म आन्तरिक ऋणको ब्याज कम हुँदा सर्वसाधारण सरकारले जारी गर्ने बचतपत्र तथा ऋणपत्र खरिद गर्न इच्छुक नभएको बताउँछन् । तर, आजभोलि ब्याजदर बढी पाइने र सुरक्षित पनि हुने भएकाले रुचि बढेको उनको भनाइ छ ।

वैदेशिक रोजगार बचतपत्रकै कुरा गर्ने हो भने २०७३ सालयता जारी भएकोमा १० प्रतिशत ब्याजदर देखिन्छ । त्यसअघि कुनै वर्ष ९ प्रतिशत र कुनै वर्ष १० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अहिले यसको व्याजदर साढे १२ प्रतिशत पुगिसेकेको छ । नागरिक बचतपत्रको गत वर्ष १०-११ प्रतिशत व्याजदर थियो । त्यसअघिका वर्षमा ९ देखि ६ प्रतिशतसम्म थियो ।

कति उठाइँदैछ आन्तरिक ऋण ?

चालू आर्थिक वर्ष सरकारले ट्रेजरी बिलमार्फत १ खर्ब ५० अर्ब, विकास ऋणपत्र (२ वर्षदेखि ६ वर्ष अवधिको) १ खर्ब, नागरिक बचतपत्र ५ वर्ष अवधिको) ५ अर्ब र वैदेशिक रोजगार बचतपत्र (५ वर्ष अवधिको) १ अर्ब रुपैयाँ निष्काशन गर्ने कार्यतालिका छ । जसमा पहिलो तीन महिना (साउन-असोज)मा कुनै लक्ष्य राखिएको छैन । दोस्रो तीन महिना (असोज-पुस)मा ३० अर्ब उठाउने लक्ष्य रहेको थियो । सो अवधिमा ३० अर्ब बराबरकै आन्तरिक ऋण परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

तेस्रो त्रैमास (पुस-चैत्र) मा सरकार ८८ अर्ब रुपैयाँ उठाउँदैछ । त्यसका लागि राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र चैत १० गते निष्काशन गर्दैछ ।

५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र फागुन १४ गतेदेखि बिक्री खुला भइरहेको छ । यसको ब्याजदर साढे १२ प्रतिशत तोकिएको छ ।

यस्तै साढे २ अर्बको नागरिक बचतपत्र पनि फागुन १० देखि बिक्री भइरहेको छ । यसको ब्याजदर साढे ११ प्रतिशत तोकिएको छ । यस्तै फागुन २१ गते १५ अर्ब ४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल (२८, ९१ र १८२ दिने) बिक्री खुला भएको छ । यसको डिस्काउन्ट रेड साढे ९ प्रतिशतभन्दा माथि छ । यस्तै चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ ।

गत आर्थिक वर्ष सरकारले लक्ष्यअनुसारको आन्तरिक ऋण उठाउन सकेको देखिँदैन । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्ष२ खर्ब ३१ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले १ खर्ब ८३ अर्ब रुपैयाँमात्र ऋण उठाएको देखिन्छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका प्रमुख पिताम्बर भण्डारी अधिकांश समय लक्ष्यअनुसार ऋण उठेको भए पनि कुनै कुनै वर्ष भने अण्डर सब्सक्राइब भएको स्वीकार्छन् ।

कसरी उठाइन्छ आन्तरिक ऋण ?

सरकारले वि.सं. २०१८ देखि आन्तरिक ऋण उठाउन थालेको देखिन्छ । सरकारले आर्थिक विकासका लागि न्यून वित्त परिचालनको स्रोतका रूपमा आन्तरिक ऋण लिन थालेको ६० वर्षभन्दा बढी भयो । सरकारले ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋणपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ ।

सरकारले घाटा बजेट पूर्ति गर्न आन्तरिक ऋण उठाउने क्रममा विभिन्न प्रकारका ऋणपत्रहरू जारी गर्छ । ऋणपत्र सरकारले बैंक तथा वित्तीय संस्थाहरू र सर्वसाधारण जनताबाट ऋण लिएको हो भनी प्रमाणित गरिदिने प्रमाणपत्र हो । यो सरकारी मान्यता प्राप्त प्रमाणपत्र हुने हुँदा यसलाई सर्वसाधारणले व्यक्तिगत ऋण लिँदा धितोका रूपमा पनि प्रयोग गर्न सक्छन् ।

नेपालमा ट्रेजरी बिललाई आन्तरिक ऋण उठाउने उपकरणका रूपमा वि.सं. २०४५ बाट प्रयोग गरिएको थियो । नेपालमा अहिले ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि जारी गर्ने प्रचलन छ ।

यस्तै विकास ऋणपत्र सरकारको आन्तरिक ऋण उठाउने दीर्घकालीन उपकरण हो । यो संस्थागत ऋणदाता, वित्तीय संस्थाहरू जस्तै पेन्सन फन्ड, बीमा कम्पनी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण उठाउन प्रयोग गरिन्छ । यो दीर्घकालीन पूँजी उठाउने उपकरण हो । जुन ५ वर्ष अवधिको लागि जारी गरिँदै आएको छ ।

नागरिक बचतपत्र आन्तरिक ऋण उठाउन प्रयोग गरिने दीर्घकालीन उपकरण हो । नेपालमा यसको निष्काशन वि.सं. २०५८ देखि सुरु भएको हो । यो पनि ५ वर्षे अवधिको हो ।

मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी सरकारले निश्चित ब्याजदर (सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हो । यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर