होलीमा अमर्यादित गतिविधि नगर्न धनुषा र सिरहा प्रशासनको आग्रह
जनकपुरधाम । होली पर्वमा अमर्यादित गतिविधि नगर्न धनुषा र सिरहा प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले होली पर्वलाई मर्यादित बनाउन विशेष सुरक्षा योजना बनाएको छ । प्रहरी प्रमुख एसपी विश्वराज खड्काले होलीमा अमर्यादित गतिविधि नगर्न सर्वसधारणलाई आग्रह गरेका हुन् ।
उनले अमर्यादित गतिविधि गर्न नदिन जिल्लाभर ५६० प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले भने, ‘जिल्ला प्रहरी कार्यालयबाट ४ सय ८७ जना र प्रदेश प्रहरी कार्यालयबाट ७३ थप जनशक्तिसहित ५ सय ६० सुरक्षाकर्मी खटाएका छौं ।’
एसपी खड्काले होली पर्वमा हुनसक्ने आपराधिक र अमर्यादित घटना हुन नदिन विशेष सुरक्षा योजना अन्तर्गत पैदल गस्ती र मोबाइल गस्ती परिचालन गर्नुका साथै ठाउँ ठाउँमा चेक प्वाइन्टहरु खडा गरिने बताए ।
उनले अन्तगृह परिक्रमाको अवधिमा जनकपुरधाको परिक्रमा सडकभित्र मदिरा र माछा–मासुको खरिद विक्री तथा सेवनमा प्रतिबन्ध लगाएको पनि जानकारी दिए ।
होलीमा विशेषगरी मदिरा र अन्य नशा सेवन गरी सवारी साधन चलाउने र होहल्ला गर्ने प्रबृत्ति पछिल्लो समय बढेको देखिन्छ । त्यसैले मदिरा वा अन्य नशा सेवन गरी सवारी चलाउनेलाई तत्काल नियन्त्रणमा लिने योजना पनि बनाएको एसपी खड्काले बताए ।
यता, जिल्ला प्रशासन कार्यालय सिरहाले पनि होली पर्व मर्यादापूर्वक मनाउन सार्वजनिक सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले रंगको माध्यमबाट एक अर्कामा खुशी साटासाट गरी होली हर्षोल्लासपूर्वक मनाउन सर्वसधारणसँग आग्रह गरेका छन् । उनले अवाञ्चित एवं उच्छृङ्खल क्रियाकलाप गर्नेलाई कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएका हुन् ।
होलीको नाममा जथाभावी रंग लगाउने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सवारी साधनसंग रकम असुली गर्ने, हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, गोबर माटो लगाउने, मादक पदार्थ र नसालु पदार्थ खाने खुवाउने एवं मापसे गरी सवारी चलाउने, अरुलाई जिस्काउने लगायतका अमर्यादित गतिविधि गर्नेलाई कारबाही गरिने सूचनामा उल्लेख छ ।