‘इस्ट इन्डिया कम्पनीको दिनगन्ती देखेरै जंगबहादुर बेलायत पुगेका हुन्’
काठमाडौं । उनको परिवारमा कोही पनि कूटनीतिक सेवामा जोडिएको इतिहास थिएन । तर, लिसा होनान कूटनीतिज्ञ बनिन् । उनको घरमा कोही पनि पर्यटन क्षेत्रमा जोडिएको इतिहास थिएन । तर, लिसा सन् २०२१/०२२ मा लाइसेन्स प्राप्त सिटी अफ लण्डनको औपचारिक गाइड बनिन् । बेलायत अधिनस्थ सेन्ट हेलेना टापुको त उनी पहिलो महिला गभर्नर बनिन् । सेन्ट हेलेना टापुको ५०० वर्षको इतिहासमा महिला गभर्नर बनेको रेकर्ड उनको मात्रै छ ।
सेन्ट हेलेना त्यही टापु हो जहाँ फ्रान्सेली शासक नेपोलियनले निर्वासनको गन्तव्य बनाएका थिए । सेन्ट हेलेना टापु सन् १८५४ सम्म इस्ट इन्डिया कम्पनीको निजी टापु थियो । २०० वर्ष कम्पनीले टापु आफ्नो बनाएको थियो । सेन्ट हेलेना टापुको गभर्नर भएपछि लिसामा इस्ट इन्डिया कम्पनीबारे जान्ने चासो बढ्यो ।
सन् २०२१ ताका काठमाडौंमा बेलायतका कार्यबाहक राजदूतदेखि बेलायती सहयोग निकाय डीएफआईडीको नेपाल प्रमुख भइसकेको अनुभव भएकी लिसा त्यही नेपाल सम्बन्धको आधारमा इस्ट इन्डिया कम्पनी र नेपालबारेमा उनी राम्रो जानकार छिन् । इस्ट इन्डिया कम्पनीसँग दोस्ती गरेर बेलायत पुगेका प्रथम नेपाली प्रधानमन्त्री जंगबहादुर राणाबारे उनी राम्रो जानकार छिन् । जंगबहादुरको बेलायत भ्रमण र इस्ट इन्डिया कम्पनीसँगका सम्बन्धबारेमा उत्तिकै जानकार छिन् । लिसाले अहिले इस्ट इन्डिया कम्पनीकै विज्ञता लिएर गाइड गर्दै आएकी छिन् । सन् २०२१ जुलाईबाट कूटनीतिबाट पर्यटनको लाइनमा जोडिएकी उनले जोड्ने पर्यटन लाइन इस्ट इन्डिया कम्पनीकै कथा हो, इस्ट इन्डिया कम्पनीकै इतिहास हो ।
सिटी अफ लण्डन बेलायतको राजधानी लण्डनको मुटु हो । जहाँ लण्डनका सबै प्रमुख मुख्यालयहरु छन् । लण्डनकै रैथाने लिसाले अहिले त्यही सिटी अफ लण्डनको एक वर्ग माइल क्षेत्रमा इस्ट इन्डिया कम्पनीको सम्बन्धका कथाहरु सुनाउँदै आएकी छन् । उनको गाइडिङमा जोडिनेहरु यो लिंकबाट सीधै जोडिन सक्छन् ।
कूटनीतिक अनुभवको चार दशक लामो कामबाट अवकाश लिएर अहिले इस्ट इन्डिया कम्पनीको कथामा आधारित रहेर जारी पर्यटक गाइडको काममा सक्रिय लिसाले नेपाल प्रेससँग इस्ट इन्डिया कम्पनी र त्योसँग जोडिएका नेपाली कुरा भन्न समय छुट्याएकी छन् ।
राजनीतिक रुपमा चतुर र रणनीतिक थिए जंगबहादुर
नेपालमा बेलायती सहयोग निकायको प्रमुखदेखि कार्यबाहक राजदूतको अनुभव लिएकी लिसा इस्ट इन्डिया कम्पनीकी विज्ञ हुन् । यी सबै अनुभवको आधारमा उनी १७३ वर्ष अगाडि सन् १८५० मा बेलायत गएका नेपालका प्रधानमन्त्री जंगबहादुरलाई धेरै चतुर र रणनीतिक मान्छिन् । उनी भन्छिन्, ‘जंगबहादुरलाई इस्ट इन्डिया कम्पनी भारतमा जानुको कारण नै व्यापार र नाफा भएको जानकारी थियो । त्यसैले उनले कम्पनीसँग जुध्न भन्दा मिल्दा नेपालको स्वतन्त्रतामा फाइदा पुग्ने बुझेका थिए ।’
इस्ट इन्डिया कम्पनीको शक्ति र स्वार्थ बुझेका जंगबहादुरले कम्पनीको दिनगन्ती सुरु भएकोसमेत बुझेको उनको तर्क छ । त्यही बुझाइकै कारणले जंगबहादुर कम्पनीसँग भन्दा सीधै बेलायती सत्तासँग सम्बन्ध बनाउन बेलायत यात्रामा निस्किएको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो बुझाइमा जंगबहादुरलाई कम्पनीको दिनगन्ती सुरु भएको जानकारी थियो र अन्तिममा बेलायत सरकार र संसदसँग सम्बन्ध बनाउनु नै नेपाल र बेलायतको हितकर भएको मानेर उनी सन् १८५० मा बेलायत गएको जस्तो लाग्छ ।’
जंगबहादुरको भ्रमणले नेपाल-बेलायत सम्बन्ध न्यानो बन्यो
सन् १८५० जनवरी १५ मा यात्रा सुरु गरेका जंगबहादुर मे २५ देखि अगस्ट २१ सम्म ४ महिना बेलायतमा भएको लिसा बताउँछिन् । बेलायत यात्रा चार महिने हुनुमा जंगबहादुरले इस्ट इन्डिया कम्पनीले प्रयोग गर्ने जल र स्थलको रुट प्रयोग नगरेर आफ्नै रुटमा गएकाले भएको उनी बताउँछिन् । जंगबहादुरले कोलकाता, चेन्नई, श्रीलंका, स्वेज, कायरो, अलेक्जाड्रिया, माल्टा, जिब्राल्टर हुँदै साउथ ह्याप्टनमा मे २५ मा पुगेर बेलायत टेकेको लिसा बताउँछिन् ।
बेलायती महारानी तथा अन्य राजपरिवार सदस्यहरु, क्याबिनेट सदस्यहरुदेखि उच्चपदस्थ बेलायतीहरुसम्मसँग पटकपटक भेट गरेका जंगबहादुरकै कारण नेपाल बेलायत सम्बन्ध न्यानो भएको उनको तर्क छ । उनी भन्छिन्, ‘जंगबहादुरको (बेलायत) भ्रमण सफल भएको देखिन्छ । नेपाल-बेलायत न्यानो सम्बन्ध त्यहीबाट सुरु भएको मानिन्छ ।’
गोर्खा भर्तीदेखि बेलायतीको खानपिन आदत निर्माणसम्म इस्ट इन्डिया कम्पनी
लिसाले इस्ट इन्डिया कम्पनी मूलतः व्यापारिक स्वार्थ हुँदै बेलायतको विस्तारवादी नीति बोक्ने बहुराष्ट्रिय कम्पनी भएको बताउँछिन् । बेलायती महारानी एलिजाबेथ प्रथमले युरोपका अरु देशले किनेर ल्याएका सामानलाई महँगो तिर्नुपरेकाले आफ्नो विस्तारवादी र व्यापारिक स्वार्थको लागि इस्ट इन्डिया कम्पनी खडा गरेको उनी बताउँछिन् ।
इस्ट इन्डिया कम्पनी सुरुमा व्यापारमात्रै गरे पनि पछि आफ्नै सेना बनाउने, व्यापारमा एकाधिकार बनाउनेदेखि अर्काको देशको जमिन खोस्नेसम्म काममा सक्रिय भएको लिसा बताउँछिन् । कम्पनीप्रति धेरै बेलायतीहरुमै पनि नकारात्मक धारणा रहेको उनको भनाइ छ ।
तर, इस्ट इन्डिया कम्पनीकै कारण नेपालीको बेलायती सेनामा गोर्खा भर्ती भएको र बेलायतीहरुको खानपिन तथा रहनसहनको दैनिक आदत फेरिएको लिसाको तर्क छ । इस्ट इन्डिया कम्पनीले बनाएको शेयरधनी, निर्देशक, अध्यक्ष वार्षिक साधारणसभा जस्ता प्रचलनहरु भने अहिले विश्वका सबै कम्पनीहरुमा लागू भएको लिसा बताउँछिन् ।
अहिलेको इस्ट इन्डिया कम्पनीका मालिक भारतीय
बेलायती उपनिवेशको शक्ति र साधन रहेको इस्ट इन्डिया कम्पनीले सबैभन्दा धेरै दोहन भारतमा गरेको थियो । अहिले कम्पनीको पुरानो विरासत अस्तित्वमा छैन । कम्पनीको पुरानो स्वामित्व छैन । पुरानो रापताप छैन । तर, पुरानो तरिकाकै सरसामान किनबेचमा इस्ट इन्डिया कम्पनी सक्रिय छ । चिया, कफी, मरमसला, गरगहना, सिक्का आदि इस्ट इन्डिया कम्पनीले लण्डनका विभिन्न पसलहरुमा बेच्दै आएको लिसा बताउँछिन् ।
उनी भन्छिन्, ‘लण्डन भ्रमण गर्दा पुग्नैपर्ने एक कुरा यो पनि हो । यो (इस्ट इन्डिया कम्पनी)का मालिक भारतीय व्यापारी (सञ्जीव मेहेता) छन् । कति सुहाँउदो ।’