होलीले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।
‘होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’सन्देशमा भनिएको छ, ‘यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु ।’
‘सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तर घुलन गर्नसमेत मद्दत गरेको छ’, सन्देशमा छ । साथै, जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख छ ।
‘विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो’, सन्देशमा भनिएको छ, ‘परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरूलाई भने निरुत्साहित गर्नै पर्दछ ।’
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रङ्गहरुको पर्वका रूपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागत रूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सद्भाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।