मिथिला मध्यमा परिक्रमा जनकपुरमा, मंगलबार अन्तरगृह परिक्रमा (भिडिओसहित) – Nepal Press

मिथिला मध्यमा परिक्रमा जनकपुरमा, मंगलबार अन्तरगृह परिक्रमा (भिडिओसहित)

जनकपुरधाम । १५ दिने ऐतिहासिक तथा धार्मिक मिथिला मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुगेको छ । साधुसन्त, महन्त तथा हिन्दू धर्मावलम्बीको लावालस्करसहित सो परिक्रमा महाकुम्भ यात्रा गरी जनकपुरधाम आइपुगेको हो ।

धनुषाको कचुरी मठबाट मिथिला विहारी र जनकपुरको अग्निकुण्डबाट जानकीको डोला उठेपछि १४ दिनअगाडि विधिवत रुपमा परिक्रमा सुरु भएको थियो । १३३ किलोमिटर यात्रापश्चात जनकपुरधाम आइपुगेको परिक्रमामा सहभागीहरु बाह्रविघा मैदानमा त्रिपाल टाँगेर बसेका छन् ।

परिक्रमामा सहभागी साधुसन्त, महन्थ, भक्तजन र धनुषाका लाखौं मानिस भोलि बिहान अन्तरगृह परिक्रमा गर्नेछन् । मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरमा गरिने परिक्रमालाई अन्तरगृह परिक्रमा भनिन्छ । पाँच कोषको यात्रा गर्नुपर्ने भएकाले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने चलन छ ।

मिथिला महात्म्यअनुसार यी विश्रामस्थलहरुको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रुपले व्याखान गरिएको हुँदा श्रद्धालुमा अटुट आस्था रहेको छ । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यस धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाउन थालिएको हो ।

परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । यो परिक्रमाको अगाढ धार्मिक आस्था रहेको छ । परिक्रमामा सहभागी हुनेहरु खाली खुट्टा पैदल यात्रा गर्छन् ।

परिक्रमा जनकपुरधाम आएकाले भोलिसम्मका लागि मास-मदिरा खरिद बिक्री तथा सेवनमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *