विश्वविद्यालयको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अनुदान आयोगका अध्यक्षको आग्रह – Nepal Press

विश्वविद्यालयको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अनुदान आयोगका अध्यक्षको आग्रह

रुपन्देही । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीले विश्वविद्यालयको अन्तर्राष्ट्रिय मापदण्ड तयार भएकाले त्यसलाई सबैले पूरा गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् ।

‘विश्वभरका विश्वविद्यालय एउटै हुन्, यद्यपि स्थापित मापदण्ड भने सबैले पूरा गर्नुपर्छ, उनले भने –‘अनुसन्धाता, जनशक्ति विकास र सामाजिक प्रभावका विषयमा स्पष्ट दृष्टिकोण हुनुपर्छ ।’

विश्वविद्यालयलहरुले दीर्घकालीन नीति तर्जुमा गरेर मात्रै अघि बढ्नुपर्ने उनले बताए । ‘अनुसन्धान रणनीति, शैक्षिक रणनीति विश्वविद्यालयले तर्जुमा गरिरहेको देखिँदैन, अध्यक्ष अधिकारीले भने,–‘विश्वविद्यालयका हरेक योजनाहरू वेबसाइटमा देखिनुपर्छ । लक्ष्य तय गरेर अघि बढ्नुपर्छ ।’

शैक्षिक क्यालेन्डर निर्माण र त्यसको कार्यान्वयन नहुँदा विश्वविद्यालयप्रति विश्वसनीयता कम भइरहेको भन्दै उनले १७ महिनासम्म परीक्षाको नतिजा नआउनु जस्ता गम्भीर समस्याहरू नीतिगत रूपमै समाधान गर्नुपर्ने बताए । नीति बनाउन कठिन भइरहेका विश्वविद्यालयलाई अनुदान आयोगले सघाउने उनले विश्वास दिलाए ।

मुलुकमा नयाँ विश्वविद्यालयको आवश्यकताभन्दा पनि हाल सञ्चालित विश्वविद्यालयलाई नै गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने उनको धारणा छ । वार्षिक ८० हजार विद्यार्थी उच्च शिक्षाका लागि बाहिरिनु भनेको गम्भीर कुरा रहेको भन्दै त्यसको निराकरणका लागि आफूले प्रयत्न गर्ने उनले बताए ।

विश्वविद्यालयहरूमा जनशक्ति र भौतिक संरचनाको अभाव रहेको भन्दै यसको बहुपक्षीय समाधान खोज्न आयोगले काम गर्ने अधिकारीको भनाइ छ । ‘रिसर्च पोलिसि बोकेर अनुदान आयोगमा आउनुस्, हामी सघाउँछौँ, उनले भने ।

अध्यक्ष अधिकारीले लुम्बिनी बौद्ध विश्वविद्यालयले विकास गरेको भौतिक संरचनाहरूको प्रशंसा गर्दै थप योजनाका साथ अगाडि बढ्न आग्रह गरे ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवम् रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयलाई अनुसन्धान केन्द्रित गर्ने नीति अनुरूप सातै प्रदेशमा अध्ययन तथा अनुसन्धान केन्द्र सञ्चालनको तयारी गरिएको जानकारी गराए ।

विश्वविद्यालयले छोटो समयमा भौतिक पूर्वाधारहरूको अभावलाई पूर्ति गरेको भन्दै अव आत्मनिर्भर रहँदै चालु रहेका शैक्षिक कार्यक्रम व्यवस्थापनको चुनौती आइरहेको बताए ।

‘विशिष्टीकृत विश्वविद्यालय भएकाले जुनसुकै शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था छैन, बौद्ध दर्शनमा विद्यार्थीको संख्या कम हुन्छ, उनले भने,–‘त्यसैले अझै केही समय विश्वविद्यालय अनुदान आयोगको सहयोग विश्वविद्यालयलाई आवश्यक रहेको छ ।’

लुम्बिनीमा कोर बुद्धिज्म, बुटवलमा मानविकी तथा सामाजिक विज्ञान र देवदहमा दिगो विकासका कार्यक्रम अन्तर्गतका शैक्षिक क्रियाकलाप अघि बढाउने योजना अनुरूप काम भइरहेको उनले जानकारी दिए ।

भौतिक विकास भए पनि विश्वविद्यालयमा सीमित जनशक्ति हुँदा लक्ष्य अनुरूप अनुसन्धान तथा प्राज्ञिक उपलब्धि हुन नसकिरहेको उनले बताए । दरबन्दी व्यवस्थापन, अनुसन्धानका कार्य सञ्चालनमा अनुदान आयोगबाट विश्वविद्यालयले सहयोग अपेक्षा गरिरहेको उनको भनाइ थियो ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुंले प्राज्ञिक विकासका लागि जनशक्ति प्रमुख विषय रहेकाले त्यो समस्याको समाधान अनुदान आयोगबाट हुनुपर्ने बताए ।

अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा गितु गिरीले विश्वविद्यालयले साना तथा मझौला अनुसन्धानका क्रियाकलापहरू गरिरहेको जानकारी दिँदै अनुसन्धानमा चाहिने जनशक्ति विश्वविद्यालयमा व्यवस्थापन हुँदा अझै प्रभावकारी काम हुने सुझाव राखेका थिए ।

कार्यक्रममा परीक्षा नियन्त्रक इन्द्रप्रसाद काफ्ले, सिटी क्याम्पस बुटवलका प्रमुख फणीन्द्र कुमार न्यौपाने, प्राध्यापक संघका अध्यक्ष गुनाखर गैरे, शाखा अधिकृत गजेन्द्र गुप्ता, शाखा अधिकृत चुरामणि पोखरेललगायतले बोल्दै विश्वविद्यालयका लागि आवश्यक स्रोत साधन अनुदान आयोगबाट वृद्धि हुँदै जाने विश्वास गर्दै नवनियुक्त अध्यक्षलाई शुभकामना दिएका थिए ।

अनुदान आयोगका अध्यक्ष अधिकारीले विश्वविद्यालयको देवदहस्थित डिन कार्यालय, बुटवलस्थित सिटी क्याम्पस तथा केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर