पीएनको स्ववियुमा १२ विद्यार्थी संगठन, बागीदेखि संयोजककै नाममा समूह दर्ता – Nepal Press

पीएनको स्ववियुमा १२ विद्यार्थी संगठन, बागीदेखि संयोजककै नाममा समूह दर्ता

पोखरा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा चुनावको माहौल तातेको छ । चैत ५ गते निर्वाचनका लागि निर्वाचन कार्य तालिकासमेत क्याम्पसहरूले सार्वजनिक गरिसकेका छन् ।

सांसददेखि मन्त्री उत्पादन गरिसकेको पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) मा पनि चुनावी माहौल बढेको छ ।

पिएन क्याम्पसमा फागुन १८ र १९ गते समूह दर्ताका लागि आवेदन गर्न आह्वान गरिएको थियो । जसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि १४ वटा समूह दर्ता भएका थिए । तर, २ वटा समूहको नाम सर्वदलीय बैठकबाट फिर्ता गर्दै क्याम्पस स्ववियु निर्वाचन समितिले १२ समूहको अन्तिम नामावली प्रकाशन गरेको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौं), विप्लव माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी विप्लव, अनेरास्ववियु क्रान्तिकारी संयुक्त, पृथ्वी विद्यार्थी मञ्च, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, संयुक्त विद्यार्थी युनियन, नेकपा समाजवादीनिकट अनेरास्ववियु दर्ता भएका छन् । समाजवादी निकट अनेरास्ववियुको बागीको रूपमा समाजवादी विद्यार्थी युनियन दर्ता भएको छ ।

स्रोतका अनुसार नेविसंघका कार्यकर्ताले अनेरास्ववियु केपी समूह र अनेरास्ववियुका कार्यकर्ताले नेविसंघ गगन–विश्वप्रकाश समूह दर्ता गराएका थिए ।

नेविसंघले अनेरास्ववियु केपी समूह दर्ता गरेपछि त्यसलाई काउन्टर दिन अनेरास्ववियुले नेपाल विद्यार्थी गगन–विश्वप्रकाश समूह दर्ता गरेका थिए । तर, पछि सर्वदलीय बैठकपछि दुवै समूहले आफ्नो नाम फिर्ता लिएको पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन समिति सदस्यसचिव बोधराज ढकालले बताए ।

दर्ता गरिएको नाम नै फेरियो

फागुन १९ गते एक समूहले ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गरायो । संयोजकमा दिप्सन गुरुङ र सचिवमा अम्बिका धिमालसहितको टोलीले दर्ता गराएको ‘स्वतन्त्र विद्यार्थी समूह’ को नाम भने क्याम्पसले परिवर्तन गरिदियो । क्याम्पसको निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गर्दै अन्तिम नामावली सार्वजनिक गरेको छ ।

‘स्वतन्त्र विद्यार्थी समूह’ को नाम परिवर्तन गर्दै ‘पृथ्वी विद्यार्थी मञ्च’ राखिएको छ । स्वतन्त्र विद्यार्थी समूहले सबै विद्यार्थी समूहको मिलेमत्तोमा नाम परिवर्तन गरेको भन्दै विरोध जनाएको छ । समूहका अध्यक्ष भूपेन्द्र महरासहितको टोलीले क्याम्पसलाई ज्ञापनपत्र बुझाएको हो ।

‘हामीले क्याम्पसमा ज्ञापनपत्र बुझाएका छौँ, क्याम्पसबाट केही जानकारी आएको छैन, सबै विद्यार्थी समूह मिलेर हामीलाई हराउन खोजियो, हामी कानुनअनुसार अगाडि बढ्छौँ,’ अध्यक्ष महराले भने ।

सबैसँग छलफल गरेरै नाम परिवर्तन गरिएको पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन समिति सदस्यसचिव बोधराज ढकालले बताए । ‘स्वतन्त्र विद्यार्थी समूह दर्ता गराएकाहरू प्राज्ञिकबाट काम गरिरहनु भएको थियो, हामीले सबै पक्षसँग सल्लाह गरेर नाम परिवर्तन गरेका हौँ,’ उनले भने ।

संयोजकको नाममा समूह

स्ववियु निर्वाचनका लागि पिएन क्याम्पसमा प्रतीक अधिकारीको संयोजकत्वमा नेपाल विद्यार्थी समूह (नेविस) दर्ता गरिएको थियो । तर, क्याम्पसले उक्त नाम परिवर्तन गरी प्रतीक अधिकारी विद्यार्थी समूह राखी अन्तिम नामावली प्रकाशन गरेको छ ।

नाम नेविसंघसँग मिल्दोजुल्दो भएको र संयोजक पुनः सम्पर्कमा नआउँदा समूहको नाम परिवर्तन गरिएको समिति सदस्यसचिव बोधराज ढकालले बताए । ‘हामीले उहाँलाई सम्पर्क गर्ने धेरै प्रयास गर्‍यौं, तर, उहाँहरू कोही पनि सम्पर्कमा आउनुभएन, क्याम्पसका सबैसँग राय लिएर अर्कैको नामसँग जोडेन सक्ने भएकाले हामीले संशोधन गरेर नाम परिवर्तन गरेका हौँ,’ ढकालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर