प्रचण्डविरुद्ध आफ्ना कार्यकर्ताले लगेको रिटबारे कांग्रेसको चासो, के भने रमेश लेखक र कान्छारामले ? – Nepal Press

प्रचण्डविरुद्ध आफ्ना कार्यकर्ताले लगेको रिटबारे कांग्रेसको चासो, के भने रमेश लेखक र कान्छारामले ?

कांग्रेस महाधिवेन प्रतिनिधि ज्ञानेन्द्र आरण भन्छन्- रमेश लेखकले कस्तो मुद्दा हो भनेर सोध्नुभएको हो, रिट दर्ता नगर भन्नुभएन

काठमाडौं । गत शुक्रबारदेखि मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएका कांग्रेस महाधिवेशन प्रतिनिधि तथा अधिवक्ता ज्ञानेन्द्रराज आरण मंगलबार मध्यान्ह एकैचोटी सर्वोच्च अदालत परिसरमा देखिए ।

उनी सम्पर्कविहीन हुनुको कारण थियो, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता नगर्न पार्टी नेतृत्वले दिएको निरन्तर दबाब । बागमती प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप पुरानागाउँका आरण प्रचण्डविरुद्ध रिट लैजाने प्रमुख निवेदक हुन् ।

आरणलाई सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शान्ति प्रक्रियामा असर पर्ने र राष्ट्रपति चुनावमै माओवादीको भोट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई आउनबाट बिथोलिने भन्दै रिट दर्ता नगर्न भनेका थिए ।

लेखकले पटक-पटक आग्रह गरेपछि अर्का रिट निवेदक रामेछापकै कांग्रेस महाधिवेशन प्रतिनिधि जीतेन्द्र मोक्तान भने लचिलो भएका थिए । तर, आरण भने सम्पर्कबाहिर रहेर एकैपटक मंगलबार रिट दर्ता भएपछि पत्रकारसामु उपस्थित भए ।

पार्टीले केन्द्रबाट मात्र नभएर जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङमार्फत पनि आरण र मोक्तानलगायत कांग्रेस कार्यकर्तालाई रिट दर्ता नगर्न भनेको थियो । कान्छारामको दबाब थेग्न नसकेर जीतेन्द्र जिल्लाकै एक बिहे कार्यक्रममा समेत कान्छाराम भेट हुने भएपछि निम्ता छलेर बसेको बताइन्छ ।

नेपाल प्रेसकर्मी उमेश कार्कीको प्रश्नमा आरणले आफूलाई पार्टीबाट सोधपुछ भएको स्वीकार गरे । उनले आफूहरु पीडित भएकाले रिट दर्ता गर्नबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

आरणले भने, ‘रमेश लेखकले कस्तो खाले रिट हो ? शान्ति प्रक्रियालाई असर पर्नसक्छ कि भनेर सोध्नुभएको थियो । तर, रिट दर्ता गर्दै नगर भन्नुभएन । सामान्य कस्तो खाले रिट हो भनेर सोधेको हो । कान्छारामले पनि त्यस्तै त्यस्तै भन्नुभएको हो ।’

रिट निवदेक आरणले मुद्दा दर्ता भएसँगै प्रचण्ड अब अभियुक्त भएको भन्दै प्रधानमन्त्री पदमा रहन नमिल्ने बताए ।

आरणसहित ३३ वटा रिट सर्वोच्चमा प्रचण्डविरुद्ध दर्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर