सूचना नदिने कञ्चनरुप नगरपालिकाका कार्यालय प्रमुख साहलाई १५ हजार जरिवाना – Nepal Press

सूचना नदिने कञ्चनरुप नगरपालिकाका कार्यालय प्रमुख साहलाई १५ हजार जरिवाना

काठमाडाैं । राष्ट्रिय सूचना आयोगले मागेको सूचना उपलब्ध नगराउने सप्तरीको कञ्चनरुप नगरपालिकाका कार्यालय प्रमुख रेणुका साहलाई १५ हजार जरिवाना तिराउन आदेश दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सूचना उपलब्ध नगराएको भन्दै कारबाही गर्ने चेतावनी दिँदा पनि गैरजिम्मेवार देखिएको भन्दै आयोगले जरिवाना तिराउन आदेश दिएको हो ।

आयोगले चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन गर्ने पदाधिकारीलाई दण्डित गर्नुको बिकल्प आयोगसँग नरहेको भन्दै उनलाई १५ हजार जरिवाना गरिएको आयोगका प्रवक्ता तथा सूचना आयुक्त कमला ओलीले जानकारी दिइन् ।

उनका अनुसार आयोगले गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिइएको छ ।

त्यस्तै, आयोगले प्रमुख प्रशासकीय अधिकृत शाहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आदेश दिएको छ ।

शाहलाई आयोगको आदेशपश्चात् पनि सूचना उपलब्ध नगराए प्रतिदिन २ सय रुपैयाँका दरले जरिवाना हुने जानकारी पनि आयोगले गराएको छ । आयोगको निर्णमा चित्त नबुझे जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भनी विपक्षीलाई जानकारी दिन पनि आदेश दिएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका ११ का कैलाश माझीले कञ्चनरुप नगरपालिकासँग सूचना माग गरेकोमा सूचनाको हक अनुसार सूचना उपलब्ध नगराएको भन्दै उनले करिव २ वर्ष अघि २०७७ चैत १६ गते आयोगमा पुनरावेदन गरेका थिए ।

नेपालको संविधान, २०७२ को धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भन्ने उल्लेख भएको र सोही व्यवस्थाको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको छ ।

उक्त ऐनको दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ भन्ने उल्लेख गरिएको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने उल्लेख भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर