२८ वर्षदेखि मकै पोलिरहेका कान्छा र लक्ष्मी, जो छोरा आउने बाटो हेरिरहेका छन् – Nepal Press

२८ वर्षदेखि मकै पोलिरहेका कान्छा र लक्ष्मी, जो छोरा आउने बाटो हेरिरहेका छन्

– अंकुश विष्ट

काठमाडौं । कान्छा लामा र लक्ष्मी लामाको दैनिकी हो- राति दुई बजे उठ्नु, बानेश्वरबाट हिँड्दै कालीमाटी जानु, धोगाको दरमा मकै किनेर घाम झुल्कनुअगावै साँघुरो कोठामा आइपुग्नु । खाना बनाएर बानेश्वर चोकमा बसेर मकै पोल्नु र बेच्नु । त्यही पोलेको मकैबाट प्राप्त आम्दानीले गुजारा चलाउनु । विगत २८ वर्षदेखि लक्ष्मी यही दैनिकीमा अभ्यस्त छिन् ।

ठेक्कापट्टाको काम गर्ने कान्छासँग लक्ष्मीको भेट त्यही पोलेको मकैसँगै भयो । कान्छा बाटो पर्दा मकै खान आउँथे । लक्ष्मी कान्छालाई पोलेको मकै बेच्छिन् । तर, मकैसँगै कतिवेला हो कतिवेला लक्ष्मीले मन पनि कान्छालाई नै दिइसकेकी रहिछन् । त्यो उनैलाई पत्तो भएन । पोलेको मकैले कान्छा र लक्ष्मीको पिरती गाँसिदियो ।

लक्ष्मी कान्छातिर फर्किएर हाँस्दै भन्छिन्, ‘मकै पोल्दापोल्दै कान्छासँगै माया बस्यो । अनि उसैलाई मकै पोल्न लगाउन थालें । मैले पनि मकै नै पोल्न थालें ।’

कान्छालाई बुवाको अनुहार कस्तो थियो, यादै छैन । एक्ली आमाले टुहुरा कान्छालाई जेनतेन एक छाक खुवाएर हुर्काएकी थिइन् । कान्छालाई आफू जन्मेको काभ्रेको कुनै गाउँमात्रै थाहा छ, गाउँको नाम पनि याद छैन ।

सात वर्षको उमेरमा कान्छाले मामाको पदचाप पछ्याएर घर छाडेका थिए र काठमाडौं छिरेका थिए । काठमाडौं आएर कान्छाले केमात्रै गरेनन् ? ६३ वर्षीय कान्छाको उमेरभन्दा लामो त उनले गरेका कामको प्रकारमात्रै छन् । अगाडि जे काम पाउँथे, भोको पेट भर्न त्यही काम गर्थे ।

लक्ष्मी पनि कामको सिलसिलामा काठमाडौं आइरहन्छिन् काभ्रेबाट । आमाबुवाको पत्तो थिएन । मामाघरमा हुर्किएकी थिइन् । काठमाडौं आइरहने, गइरहने गर्ने लक्ष्मीले अलि बुझ्ने भएपछि काठमाडौंमै सुदूर भविष्यको रेखा कोर्न थालिन् । काठमाडौंमै जीवन अल्झाउने मेलो खोजिरहँदा काठमाडौंले नै उनीमाथि कति थिचोमिचो र अन्याय गर्‍यो, त्यो लक्ष्मीकै मनलाई मात्रै थाहा छ । उनले हातको औंला गनेर हरेक हिसाबकिताब राखेकी छन् ।

लक्ष्मीले २८ वर्षअघि पाँच रुपैयाँ घोगाबाट मकै पोल्ने व्यवसाय सुरु गरेकी थिइन् । यसबीचमा लक्ष्मीको जीवन जहाँको तहीं छ । तर, मकैको भाउ भने ५ बाट बढेर ३५-४० रुपैयाँ पुगिसकेको छ ।

लक्ष्मी र कान्छाको एक छोरा जन्मिएका थिए । खुवै दुःखजिलो गरेर छोरालाई आठ कक्षासम्म पढाए । तर, त्यसपछि छोराले पढ्ने चेष्टा गरेनन् । बरु कहिले बुटवल त कहिले नेपालगञ्ज पुग्न थाले । गाडीको सहचालक बनेका छोरा गाडीको चक्का झैं निरन्तर घुमिरहे । त्यही घुमाइमा बाआमालाई पनि भुलिदिए ।

कान्छा र लक्ष्मीले १८-१९ वर्षको उमेरमा घर छाडेर हिँडेका छोराको नाकमुख नदेखेको पनि दश वर्ष भइसक्यो । योबीचमा उनीहरुको छोराले विवाह गरेको खबर सुने । बुहारीलाई भेट्न पनि सकेनन् । अहिले त नाति नै ११ वर्षको भइसकेको छ भन्ने सुनेका छन् दुवैले । अर्को नाति पनि नौ वर्षको भइसकेको सुन्ने गरेका छन् । तर, नातिहरुलाई काखमा राखेर खेलाउने र हेर्ने अवसर पाएका छैनन् ।

यतिका लामो समयसम्म पनि न दुःखले हुर्काएको छोरो देख्न पाएका छन् न त छोरासँगै बस्न पाएका छन् । कहिलेकाहीं बतासले बोकेर ल्याउने खबरमै चित्त बुझाइरहेका छन् दुवै । कहिलेकाहीं सुनेको भरमा छोरा, बुहारी र नातिहरु ठीकठाक छन् भनेर ढुक्क हुने गर्छन् ।

मान्छेहरुको घरमा फूल रोप्ने, गमला बनाउनेलगायत घरायसी काम गर्दै बसेकी लक्ष्मीले मकै पोल्न थालिन् । त्यही मकै पोल्दा सल्काइएको आगोको न्यानोमा अलिअलि उनको घुँडा तातिन्छ । नत्र, निकै लामो समयदेखि घुँडा दुख्ने समस्याले उनलाई पछ्याइरहेको छ । औषधोपचारका लागि मात्रै वार्षिक हजारौं रुपैयाँ लक्ष्मीले गाँस कटाएर जोहो गर्नुपर्छ ।

उपचारका लागि मकै पोलेरमात्रै पुग्दैन । लक्ष्मी र कान्छा सहयोगी मनहरु खोज्दै पनि शहरतिर भौतारिन्छन् । लक्ष्मी भन्छिन्, ‘वर्सेनि उपचार गरिरहनुपर्छ । खैर, छोरा आइदिए हुने । तर, मेरो मनले ऊ कुनै न कुनै दिन आउँछ जस्तो लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *