विमोक्ष : स्मृतिबाट भागेर कसैले पाउन सक्छ मोक्ष ?
काठमाडौं । मान्छेले बाँच्नुपर्ने कारण अनेक हुन्छन् । हजार विकल्पसहित मान्छे बाँचिरहेको हुन्छ । तर, कुनै वेला यस्तो समय र मोड आउँछ, मान्छेहरुसँग सबै विकल्प सकिन्छ । रहर, महत्वाकांक्षा, तृष्णा सबथोक सकिएपछि मान्छेले स्मृति र सम्झनाहरुको बैसाखी टेक्न सुरु गर्छ । स्मृतिका धमिला भइसकेका रिलहरु पुछपाछ गरेर विगत सम्झँदै बाँच्न सुरु गर्छ ।
जब मान्छे विगततिर बरालिन थाल्छ, उसले बाँचेका सुन्दर पलहरुको जोडघटाउ गर्न थाल्छ । उसले गरेका गल्तीहरुमा बिथोलिन थाल्छ । उसले आवेग र सनकमा लिएका निर्णयहरुप्रति पछुताउन सुरु गर्छ ।
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘विमोक्ष’ त्यही स्मृतिहरुको एक अंगालो चिसो कथा हो । त्यही कथाको सहारामा नाटककार घिमिरे युवराज र निर्देशक प्रवीण खतिवडाले इतिहास, समाज, वर्ग, विभेद आदिलाई निफन्ने यत्न गरेका छन् ।
धमिलिन नसकेको, सधैं हृदय र मस्तिष्कको छेउकुनामा बिझाइरहने सुदूर अतीत बोकेर मुमाहजुर उर्फ रश्मिदेवीले दर्शकलाई नाटकभित्र घुसाउँछिन् । मुमाहजुर अर्थात् कर्णेल्नीले बाँचिरहेको वर्तमानसँग केही छैन । छ त केवल सन्नाटा, अक्सिजनको सिलिण्डरबाट निस्कने ग्यास र निस्सार एक्लोपन । अनि जीवनबाट भाग्दै गएको, मृत्युको ढोका ढकढक्याउँदै गएको वृद्धवय ।
मुमाहजुर एक्लो एक्लो, अत्यासलाग्दो वर्तमानबाट भाग्न विगतका पन्नाहरु पल्टाउँछिन् । उनले पल्टाउने हरेक पन्नाले कतै रश्मिदेवीको यौनकुण्ठा, कतै कर्णेलले लयमा ल्याउन नसकेको रश्मिदेवीको यौनेच्छा त कतै प्रतिष्ठाको ह्याकुलाले थिचेको उनको अतृप्त तृष्णाबारे बताउँछ । जति विगतलाई पल्टाउँदै जान्छिन्, उति नै ट्वीस्ट आउँछ ।
कुनै पन्नामा कमल घिमिरेको मखुण्डो ओढेर दीप दर्नाल आइपुग्छ । दीप दर्नालसँगै दलितले भोगेको ज्यादती र त्यो ज्यादतीमा रमाइरहेको नेपाली समाज पनि आइपुग्छ । शहरमा एक ओत बस्न थर बदल्न विवश दीपको निभेको दियो आइपुग्छ । कतै चार पर्खालभित्र निसासिएर थङथिलो बनेको रश्मिदेवीको चाहना आइपुग्छ । कतै पिंजडा जस्तो घरभित्र थुनिएकी रश्मिदेवी समग्र नेपाली महिलाको अनुहार बनेर आइपुग्छिन् ।
‘विमोक्ष’ वृद्ध मुमाहजुरले युवती रश्मिदेवी भएर स्मृतिहरुमा पुगेको कहानी हो । स्टेजमा अक्सिजनको सिलिण्डरसँग ओछ्यानमा अलपत्र जस्तो परेकी मुमाहजुरको छेवैमा दीप दर्नाल आइपुग्छन् । तर, मुमाहजुरले उसलाई दीप दर्नाल होइन, कमल घिमिरे भनेर खुट्याउँछिन् । तर, दीपले कमल घिमिरेको अवतारलाई भने निभाइसकेका छन्, मुमाहजुरले एस्ट्रेमा किचिमिची पारेर निभाएको चुरोटलाई जसरी ।
दीपले कमल घिमिरेलाई सम्झन चाहँदैनन् । कमल घिमिरेलाई वर्तमानमा बोकेर हिँड्न पनि रुचाउँदैनन् । तर, मुमाहजुरले दीपलाई कमल घिमिरे नै देख्छिन् ।
मुमाहजुर उर्फ रश्मिदेवी र कमलको शारीरिक निकटताको सुरुवात रश्मिदेवीका श्रीमान कर्णेल बितेपछि हुन्छ । रश्मिदेवीलाई श्रीमानको न्यानोको कुनै महसुस छैन । जसोतसो श्रीमान-श्रीमतीको सम्बन्धका कारण दुई छोरी जन्मिएका छन् । तर, कर्णेलले रश्मिदेवीमाथि सल्केको तृष्णाको आगो निभाउन सकेका थिएनन् । तैपनि छोरीहरुको मुख हेरेर रश्मिदेवीले जीवनलाई जसोतसो घिसारिरहेकी थिइन् ।
रश्मिदेवीकै घरमा कोठा भाडा लिएर बसेका थिए कमल घिमिरे । वास्तवमा ऊ दलित हो । तर, दलित भएकैले उसलाई शहरले कोठा भाडामा दिएन । जब दर्नालबाट घिमिरे बने, तब उनलाई शहरका हरेक घरले पत्याए । रश्मिदेवीको घरले पनि पत्यायो । उक्त घरमा कर्णेलसँग नजिकिनेमात्रै होइन, रश्मिदेवीका लागि पसल गएर सामान ल्याइदिने सहयोगी पनि बने कमल ।
युद्ध चलिरहेको वेला अचानक कर्णेलको मृत्युको खबर आउँछ । त्यही वेला रश्मिदेवीको यौनकुण्ठालाई कमल घिमिरेले छचल्काइदिन्छन् । उनीहरुबीच शारीरिक निकटता बन्छ । तर, भावनात्मक निकटता अथवा रश्मिदेवी र कमलबीचको प्रेम के हो ? यकिनका साथ भन्न सकिँदैन । किनभने कमलको असली थर पाएपछि कमल उक्त घरबाट बाहिरिन्छन् र रश्मिदेवीको सासू-ससुराले दलित बसेको घर चोख्याउँछन् । रश्मिदेवीको यौनकुण्ठा पखालिदिने साधनमात्रै बन्छ कमल ऊर्फ दीप दर्नाल !
‘विमोक्ष’ समग्रमा पश्चातापको कथा हो । बिरामी मुमाहजुर ओछ्यानबाट कमल चाहिरहेकी छन् । तर, पाइरहेकी छैनन् । कमल भने दीप दर्नालमात्रै बन्न खोजिरहेको छ । तर, कमल घिमिरेबाट आफूलाई अलग्याउन सकिरहेकी छैनन् ।
कर्णेलले मारेका दर्जनौं निर्दोष चित्तलको हिसाबकिताब खोजिरहेकी छन् मुमाहजुर । त्यही चित्तलको मासु स्वाद लिईलिई खाएका मुमाहजुर पछुताइरहेकी पनि छन् । कमल-रश्मिदेवीसँगको सम्बन्धले पछुताइरहेका छन् दीप पनि । तर, जति पछुताए पनि वा जति आत्मसमीक्षा गरे पनि विगतले मान्छेको गला अठ्याइरहन्छ । जसरी मुमाहजुर र दीप दर्नालको घाँटी अठ्याइरहेको छ विगतले ।
जात व्यवस्थाको बुटले कुल्चिएर अलिकति सास फेर्न थर बदलेका दीप दर्नाल र सामाजिक संरचनाको सुइरोले स्वच्छन्द आँखामा घोचिइएकी रश्मिदेवीमार्फत् निर्देशक खतिवडा र लेखक घिमिरेले नेपाली समाजको कुरुप चित्रलाई रंगमञ्चमा उतारेका छन् ।
तर, दीप दर्नालले कमललाई लिएर पछुताउनुमा उसको निरीहताबाहेक अर्थोक देखिँदैन । अनुसन्धानकर्ता बनिसकेका दीप कमललाई पछ्याइरहन्छन् । कमलको अवतारले गरेका कामहरुप्रति ग्लानीबोधमात्रै गरिबस्छन् दीप । पछुतोमा रमल्लिन्छन्, परिवर्तनका लागि तम्तयार देखिँदैनन् । शिक्षित बनिसकेका दीपले विगतमा आफूले गरेका क्रियापलापप्रति गुनासो गरिबस्छ, तर्कसंगत रुपले जात व्यवस्थामाथि प्रतिकार गर्न आह्वान गर्दैन । तर, दीपको मुमाहजुरमाथि प्रश्न छ, कमल घिमिरे भएर अंगालोमा बेरेकी रश्मिदेवीले दलित भनेर थाहा पाएकी भए पनि अंगालोमा बेर्थिन् होलिन् ? सम्भवतः दीपले कर्णेल्नी सापको घरमा कोठा नै पाउँदैन थिए ।
मुमाहजुरले कर्णेलमाथि प्रश्न गरेकी छन् । कर्णेलमार्फत् समाजमाथि उनको प्रश्न छ । तर, कमलसँगको शारीरिक सम्बन्धको रापतापलाई बिर्सन सकेकी छैनन् । त्यतैकतै शारीरिक तृष्णा मेटिएका पलहरुमाथि बढी जसो अलमलिएकी छन् । जसका कारण उनले तेर्स्याएका यक्ष प्रश्न ओझेलमा परेका छन् ।
नाटकको सेट डिजाइनले सुरुमै पात्रहरुलाई स्थापित गर्छ । स्टेजमा मुमाहजुर र दीपको वर्तमान अगाडि छ, स्पष्ट छ । रश्मिदेवी र कमलको विगत स्टेज पछाडि छ, अस्पष्ट छ । त्यही अस्पष्टतामा धेरै सवाल छन् । तर, वर्तमानमा बाँचिरहेका मुमाहजुर र दीपसँग केही सवालको मात्रै जवाफ छ । बाँकी पछुतो र आत्मग्लानी छ ।
दृश्यमा नदेखिएका पात्र कर्णेल श्यामकुमार बस्नेत दर्शकमाझ पूर्ण रुपमा स्थापित बन्छन्, नाटकको खासियत नै यही बनेको छ । फ्लासब्याकलाई सुन्दर र सुरुचिपूर्ण तवरले प्रस्तुत गरिएको छ । फ्लासब्याकले नै मुमाहजुर र दीप दर्नाललाई स्थापित गरेको छ । पात्रहरुलाई लाइटको संयोजन र पाश्र्व संगीतले पनि रोमाञ्चक बनाएको छ ।
मुमाहजुरको भूमिकामा सगुना शाह, रश्मिदेवीको भूमिकामा पवित्रा खड्का, दीप दर्नालको भूमिकामा घिमिरे युवराज, कमल घिमिरेको भूमिकामा सागर खाती कामीको अभिनयले दर्शकलाई खिचिरहन्छ । चार पात्रले ८० मिनेट माथिको नाटकमा पनि दर्शकको एकाग्रता कायम गराइराखेका छन् । नाटकको अन्त्यमा सबै पात्रमार्फत् दर्शक एकै निष्कर्षमा आइपुग्छन्, ‘मान्छे विगतबाट जति नै भाग्न खोजे पनि त्यसले निरन्तर लखेटिरहन्छ, यो क्रम निरन्तर चलरिहन्छ ।’