२०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बने सन्दीप, रनको टप टेनमा नेपालका ३ ब्याट्सम्यान
काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले सन् २०२३ मा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरुको सूचीमा अग्रस्थान कायम गरेका छन् । हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएर उनी सूचीको पहिलो नम्बरमा रहेका हुन् ।
दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । नामिबियाका आर ट्रिम्पेलम्यानले ६ म्याचमा १५ विकेट लिँदै दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सिराजले ५ खेलमा १४ विकेट लिएका छन् । सिराज अहिले आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका बलर हुन् ।
सर्वाधिक विकेट लिने टप १० बलरमा नेपालकै करण केसी पनि छन् । केसीले अहिलेसम्म ९ म्याच खेल्दा १३ विकेट लिएका छन् । उनी सूचीमा छैटौं नम्बरमा छन् । उनको एभरेज र इकोनोमी भने खराब छ । औसत ३१.३८ बलमा एक विकेट लिइरहेका करणले प्रति ओभर ५.७३ रन खर्चेका छन् ।
सन्दीपको भने औसत र इकोनोमी पनि निकै राम्रो छ । उनले औसत १५.०९ बलमा विकेट लिइरहेका छन् भने प्रतिओभर ४.१८ रन मात्रै खर्चिएका छन् । यो वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा पनि नेपालको इन्ट्री भएको छ । नेपाली ओपनर आसिफ शेख अहिले सूचीको तेस्रो स्थानमा उक्लिएका छन् । हिजोकोखेलमा पीएनजीविरुद्ध सतक बनाउँदै उनी तेस्रोमा चढेका हुन् ।
आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएका छन् । उनले ४५.६२ को औसतमा यति रन बटुलेका हुन्, जसमा एक सतक र दुई अर्धसतक सामेल छन् । सर्वाधिक रन बनाउनेको सूचीमा भारतका बिराट कोहली र रोहित शर्मा, ईंग्ल्यान्डका डेविड मलान र डेभोन कोनवे आसिफभन्दा पछाडि छन् ।
सर्वाधिक रन बनाउनेको टप १० ब्याट्सम्याको सूचीमा नेपालका कुशल मल्ल र रोहितकुमार पौडेल पनि छन् । उनीहरुले क्रमशः २९५ र २६४ रन बनाउँदै आठौं र दशौं स्थान कायम गरेका हुन् । नेपालकै कुशल भुर्तेल १३ औं नम्बरमा रहेका छन् । उनले २३९ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका सुवमन गिल पहिलो स्थानमा छन् । उनले ६ खेलमा नै ६५७ रन बनाइसकेका छन् । उनको औसत ११३ भन्दामाथि छ भने स्ट्राइक रेट पनि उच्च छ । दोस्रो स्थानमा रहेका ईंग्ल्यान्डका जोस बटलरले ३७२ रन बनाएका छन् ।