जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन : कांग्रेस उपसभापति खड्का (भिडिओ) – Nepal Press

जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन : कांग्रेस उपसभापति खड्का (भिडिओ)

माओवादीलाई बाहिर राखेर एमालेसँग काँग्रेसको सहकार्य हुँदैन

काठमाडौ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते काँग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् ।

शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उनले यस्तो स्वीकार गरे ।

उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए ।

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए । उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’

उपसभापति खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्‍याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर