स्ववियु कार्यालयमा लागेको ताला नखुलेपछि उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)को स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि आज ११ बजेबाट सुरु हुने भनिएको उम्मेदवारी दर्ता अनिश्चित बनेको छ ।
कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा बिहिवार तालाबन्दी गरेको थियो ।
तर, हालसम्म पनि विद्यार्थी संगठन र क्याम्पस निर्वाचन समितिबिच सहमति नहुदा ताला खुलेको छैन । जसले गर्दा उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित भएको छ ।
विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाहीको माग राखेको छ । क्याम्पसले भने छानबिन समिति बनाएर सो विशेषमा छानबिन गर्ने तयारी गरेको क्याम्पस स्रोतको दाबी छ ।
यसअघि चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पिएन क्याम्पसमा आज बिहान ११ बजेदेखी २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यसूची थियो ।