कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको ताला – Nepal Press

कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको ताला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एमाले) निकट (अनेरास्ववियु) ले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्लस टुका विद्यार्थीले भोट हाल्न पाउने÷नपाउने विषयलाई लिएर विवाद हुँदा क्रान्तिकारी र अनेरास्ववियुले शनिबार बिहान क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

अखिल (क्रान्तिकारी) ले आफ्नोतर्फबाट असहमति हुँदा पनि निर्वाचन समितिले आफूखुसी निर्णय गरेकोमा आपत्तिसमेत जनाएको छ । अखिल (क्रान्तिकारी) ले स्ववियू निर्वाचनमा सबै विद्यार्थीलाई मताधिकारको प्रयोग गर्न दिनुपर्ने माग गरेको छ ।

‘कोटेश्वर बहु‌मुखी क्याम्पसको एउटै छानोभित्र अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरू प्लस २, स्नातक तह, स्नातकोतरलाई समेटेर मताधिकार दिई आसन्न स्ववियू निर्वाचनलाई अघि बढाउन हाम्रो संगठन अनेरास्ववियू क्रान्तिकारी जोडदार माग गर्दछ । स्ववियु निर्वाचन नगर्ने क्याम्पस निर्वाचन समितिको षड्‌यन्त्रको घोर विरोध गर्दै सम्पूर्ण विध्यार्थीहरूलाई समेटी निर्वाचन सफल बनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ कोटेश्वर बहुमुखी क्याम्पसका अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष सरोज रायमाझीले जारी गरेको विज्ञप्तिमा भनिएका छ ।

एमालेनिकट अनेरास्ववियुले भने प्लस टू त्रिभुवन विश्वविद्यालयअर्न्तगत नपर्ने भएकाले भोट अधिकार दिन नहुने भन्दै विरोध जनाएको छ । साथै, अनेरास्ववियुले क्याम्पस हाताभित्र फरक आस्था भएका संगठनका विद्यार्थीमाथि कुटपिट र ज्यान मार्ने धम्की आइरहेको हुँदा तत्काल छानविन गर्नुपर्ने पनि माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर