यूएईमाथि नेपालका बलर हावी, ५ ओभरमै गुमायो ४ विकेट
काठमाडौं । यूएईविरुद्ध दोस्रो इनिङमा नेपालले शानदार सुरूवात गरेको छ । नेपाली बलरहरूले पाँच ओभरभित्रै यूएईका ४ ब्याट्सम्यानलाई पेभिलियन फर्काइदिएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो ।
नेपालले आज पहिलो ओभर बलिङ गर्न स्पिनर राजवंशीलाई पठाएको थियो । प्रशिक्षक र कप्तानको निर्णयलाई सही सावित गर्दै ललितले पहिलो ओभरमै नेपाललाई सफलता दिलाए । पहिलो ओभरको पाँचौ बलमा हृत्य अरविन्द ललितको बलमा बोल्ड भए ।
यसैगरी तेस्रो ओभरमा बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीलाई पनि सफलता मिल्यो । उनले २.४ ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे । त्यसपछि यूएईका कप्तान मोहम्मद वसिम राजवंशीलाई ठूलो सट खेल्ने चक्करमा आउट भए । चौथो विकेटका रूपमा सोमपाल कामीले यूएईका खतरनाक ब्याट्सम्यान आसिफ खानलाई पेभिलियन पठाइदिएका छन् ।
यो समाचार बनाउँदासम्म यूएईले ६ ओभर खेलेर ८ रनमात्रै बनाउन सकेको छ । खासगरि नेपालका स्पिनरहरूलाई झेल्न यूएईलाई कठिन हुने देखिएको छ । आज नेपालले अतिरिक्त स्पिनरका रूपमा राजवंशीलाई टीममा समावेश गरेको हो ।
तस्बिरहरू : उमेश कार्की ।