अहिले म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : गगन थापा – Nepal Press

अहिले म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : गगन थापा

'नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाटै प्रधानमन्त्री बन्ने चलन छ'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।

आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए । उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताए । उनले सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने बताए ।

‘मैले ५ वर्षको लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरु मैले नेपाली काँग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले’, उनले भने, ‘मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो । म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिन । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ ।’

महामन्त्री थापाले राजनीतिक दलहरु खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए । उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्ने बताए ।

‘हामीले एउटा भ्रम राखेका छौँ की जस्तो लागेको छ । हामी खुशी हुँदा कता कता देश नै खुशी भयो भन्ने भ्रम पो राखेका छौँ की ? हामी खुशी हुनासाथ देशभरका सबै नगरिकहरु स्वतः स्फुर्तः खुशी हुन्छन् भन्ने छ’, थापाले भने, ‘हामीलाई मतदान गरेका पनि अटोमेटिकल्ली खुशी हुन्छन् की भन्ने पनि मलाई लाग्दैन । हामीले खुशी बनाउन सक्छौँ की सक्दैनौँ भन्नेसँग जोडिएको छ । किनकी सरकार बन्ने कुरा त सरकार पहिला पनि थियो । अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो ।’

उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री हुने बताए । त्यसमा नयाँ स्वाद आइहाल्ने कुरा नहुने थापाको भनाइ छ ।

‘नागरिकलाई अहिले भएको राजनीतिक घटनाक्रमको विकासले कति धेरैलाई छुन सकेका छौँ भन्ने यो प्रश्न हामीले सोच्नुपर्छ । यो गठबन्धनले एक ठाउँमा रहेर हामीसँग ५ वर्ष छ, ५ वर्ष हामीले सरकार चलाउँछौँ, ५ वर्षको डेलिभरीको जिम्मा हाम्रो हो, यसमा हमीले डेलिभरी गर्न सकेनौँ भने त्यसको दण्ड सजाय हमी भोग्न तयार छौँ’, उनले भने, ‘यो ५ वर्षको विश्वास, आत्मविश्वास, भरोसा रहन्छ की रहँदैन, त्यहाँबाट यात्रा प्रारम्भ हुन्छ की हुँदैन । त्यसमा सोच्नुपर्छ । प्रधानमन्त्री गठबन्धनको नेता हुने की सरकारको नेता हुने भन्ने हो । गठबन्धनले ५ वर्षको निम्ति जिम्मेवारी पायो । तर प्रधानमन्त्री गठबन्धनमा हुँदा राजनीतिक दलको नेता हो । तर प्रधानमन्त्री सरकारको नेता हुन सक्नुपर्छ ।’

महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ की रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री गठबन्धनको नेता नभइ सरकारको नेता हुन सक्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “अहिले म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : गगन थापा

  1. देउवाले मन्त्री दिने त कुरै छोडौं सुघ्न पनि दिदैनन । अंगुर अमिलो भनेर आफ्नै बेईज्जत किन गरेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर