रामचन्द्र राष्ट्रपति भएपछि रिक्त बनेको तनहुँ १ मा कांग्रेसबाट तीन नेताको दाबी – Nepal Press

रामचन्द्र राष्ट्रपति भएपछि रिक्त बनेको तनहुँ १ मा कांग्रेसबाट तीन नेताको दाबी

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १ को उपचुनावको मिति घोषणा नभए पनि नेपाली कांग्रेसबाट तीनजनाले आफ्नो उम्मेदवारी दाबी पेश गरेका छन् ।

रामचन्द्र राष्ट्रपति उम्मेदवार बनेलगत्तै केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले सभापति शेरवहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने बताएका थिए । उनले आफूलाई सभापतिले उपचुनावको तयारीमा लाग्न भनिसकेको बताएका छन् ।

गत निर्वाचनमा टिकट नपाएपछि उनले बागी उम्मेदवारीको घोषणा समेत गरेका थिए । तर शीर्ष नेताहरुले पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभामा ल्याउँने आश्वासन दिएपछि उनी रोकिएका थिए ।

सोही क्षेत्रबाट कांग्रेसका पूराना नेता रामचन्द्र पोखरेलले पनि उम्मेदवार बन्नका लागि सार्वजनिक रुपमै लबिङ गरेका छन् । पौडेल राष्ट्रपति निर्वाचित भएपछि आफूले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि दृढ संकल्पका साथ उम्मेदवारीका लागि दावी गरेको फेसबुक स्टाटसमार्फत घोषणा गरेका छन् ।

२०४६ सालमा बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन लड्ने आफ्नो संकल्प अहिलेसम्म पूरा नभएको भन्दै उनले आफूलाई एकपटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर दिन नेतृत्वसँग् माग गरेका छन् ।

पोखरेल कांग्रेसका सिनियर नेता भए पनि उनीभन्दा अगाडि रामचन्द्र र गोविन्दराज जोशी भएकाले निर्वाचन लड्न पाएका थिएनन् । २०४९ सालमा जिल्ला विकास समितिको सभापति भएका पोखरेल कांग्रेसको मुख्य सचिवसम्म भएका थिए ।

त्यस्तै, कांग्रेसबाट तनहुँ १ मा युवा नेता दिपक भट्टराईले पनि दावी गरेका छन् । त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति र नेविसंघको महामन्त्री भइसकेका भट्टराई हाल महाधिवेशन प्रतिनिधि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर