सञ्चारमाध्यममा प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड (भिडिओ)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताएकी छन् । नारी अनलाइन पत्रिकाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानले अवसर पाउने र समाजले गति लिने बताइन् । पुजा ढकाल (पवित्रा) सम्पादक रहेको उक्त अनलाइन विधिवत् शुभारम्भ गरिएको हो ।
विकृति र विसंगतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाई छ । विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उनले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभएर, एउटा समुदायकै विकासको रुपमा लिनुपर्ने बताइन् ।
पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुुकै क्षेत्रमा रहेका महिलाले आफूलाई सफल बनाउनुको विकल्प नरहेको उहाँको भनाई छ ।
समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक-फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले भनिन्, ‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर, महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो । अहिले निकै माथिल्लो तहमा पुगेका महिलामा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’
विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानून बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उनले भनिन्, ‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’
अर्को एक प्रसंगमा मन्त्री शर्माले अहिलेसम्म अनलाइन मिडियालाई कानूनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराइन् । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञको समिति बनाएर काम थालिएको पनि उनले बताइन् । नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि मन्त्री शर्माले आग्रह गरेकी छन् ।