छुवाछुत गर्ने गाउँपालिका अध्यक्ष यादवविरुद्ध प्रहरीले मानेन उजुरी दर्ता गर्न – Nepal Press

छुवाछुत गर्ने गाउँपालिका अध्यक्ष यादवविरुद्ध प्रहरीले मानेन उजुरी दर्ता गर्न

जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले गरेको छुवाछुत सम्बन्धी उजुरी सिरहा प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले दर्ता नगरी दलित अधिकारकर्मीहरुलाई फर्काएका छन् ।

दलित समुदायलाई सुनियोजित र जानाजान रुपमा छुवाछुत गरी भोज खुवाइएको भन्दै दलित अगुवाहरुले गाउँपालिका अध्यक्ष यादव विरुद्ध किटानी जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए । तर प्रहरी प्रमुख एसपी लिम्बूले उजुरी दर्ता गर्न मानेनन् ।

छुवाछुत गरिएको घटनाका दोषीहरु उपर अनुसन्धान गरी कानून बमोजिम दण्ड सजाय गरी पाउँ भन्दै उजुरी दर्ता गराउन पुग्दा प्रहरी प्रमुख एसपी लिम्बुले नमानेको दलित अगुवा शिव कुमार महराले जानकारी दिए । उनले भने, ‘उजुरी प्रहरी प्रमुख ज्यूको टेबलमा राख्यौं । तर उहाँले उजुरीलाई छुनु समेत भएन ।’

जातीय छुवाछुत गरेर कानूनलाई चुनौत दिएका गाउँपालिका अध्यक्ष यादव विरुद्ध प्रहरीले उजुरी दर्ता नगर्दा दुःख लागेको दलित अधिकारकर्मी रविन महराले गुनासो गरे । उनले नेपाल प्रेससँग भने, ‘उजुरीमा के लेखिएको छ भनेर पढ्ने कुरा त परै जाओस् । मानौ निवेदन छुँदा पनि छोइछिटो लाग्छ भने जस्ते गरी दर्ता हुँदैन भनेर फकाई दिनुभयो ।’

जिल्ला प्रहरी कार्यालय सिरहाले उजुरी दर्ता नगरेपछि अधिकार अगुवा तथा अधिकारकर्मीहरुको टोली जिल्ला सरकारी वकिल कार्यालय पनि पुगेको थियो । तर त्यहाँबाट पनि उनीहरु निराश भएर फर्केका छन् ।

यता सिरहाका प्रहरी प्रमुख एसपी लिम्बुले जो भोजमा छोइछिटो गरिएका पीडित हुन् उनीहरु प्रमाणसहित उजुरी लिएर आए मात्र दर्ता गर्ने बताए । अन्य दलितले दिएको उजुरी दर्ता नगर्ने भनेर सम्झाएर फिर्ता पठाएको उनको भनाई छ ।

उजुरी दर्ता नहुने भनेर जिल्ला प्रहरी कार्यालय सिरहा र सरकारी वकिलको कार्यालयबाट फिर्ता पठाइएका दलित अगुवाहरु राष्ट्रिय मानव अधिकार आयोगको ढोका घच्घच्याउन पुगेका छन् । अधिकारकर्मीहरुले आयोगलाई उजुरी दर्ता नगरिएको गुनासो सुनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *