गौमाता र संस्कृतको संरक्षणसँगै जडीबुटीजन्य औषधि उत्पादनमा सक्रिय डा. याेगी सोमराज – Nepal Press

गौमाता र संस्कृतको संरक्षणसँगै जडीबुटीजन्य औषधि उत्पादनमा सक्रिय डा. याेगी सोमराज

रुपन्देही । सडकमा छाडिएका गाईको संरक्षण र संस्कृत शिक्षाको अध्यापनमा व्यस्त छन् डाक्टर सोमराज । यतिमात्रै होइन जडीबुटीबाट विभिन्न प्रकारका औषधि र गड्यौली मल उत्पादनमा पनि नमुना काम गरिरहेका छन् उनी ।

डाक्टर सोमराज पूर्वपश्चिम राजमार्गको छेउमा रहेको रुपन्देहीको देवदह नगरपालिका- १० भुलहीमा साढे ५ बिगा धार्मिक वनका योगीसमेत हुन् ।

गौधामबाट काम थालेका उनले करिब ५ सय गाईको संरक्षण गरेका छन् । यी गाईका दूध, गोबर, पिसाबलाई प्रयोग गरेर उनले विभिन्न औषधि बनाइरहेका छन्, गड्यौली मल बनाइरहेका छन् । सँगै संस्कृत विद्यापीठ सञ्चालनमा सक्रिय छन् उनी ।

४१ वर्षीय सोमराजले देवदहस्थित भलुहीमा प्रयोगविहीनजस्तै रहेको सो जग्गालाई अहिले उर्बर बनाएका छन् । भलुहीमा उनले बनाएका विभिन्न जडिबुटीजन्य औषधि लिन र गाई व्यवस्थापनसम्बन्धी अध्ययन गर्न आउनेहरुको क्रम बढेको छ । संस्कृत तथा अंग्रेजी विषय एकैपटक अध्यापन गराएर कसरी शिक्षालय चलाउन सकिन्छ भनेर अध्ययन गर्नेहरु समेत यहाँ आउन थालेको उनी बताउँछन् ।

‘योगी नरहरिनाथसँगै बसेर मैले यो विषयमा धेरै अध्ययन गर्न पाएको हुँ’, सोमराजले भने, ‘नेपाल-भारतका यस्ता धामहरु धेरै ठाउँमा घुमेर अध्ययन गरेर यहाँ सुरु गरेको हुँ । जीवनमा कुनै नमुना काम गर्न सकिन्छ भन्ने आशाका साथ काम थालेको हुँ ।’

नेपालमा गौमाताको संरक्षण गरेर नै धेरै विकास गर्न सकिने उनी बताउँछन् । ‘नेपाली भाषाको मुटु नै संस्कृत हो । विश्वको नाम चलेका देश तथा कलेजहरुमा संस्कृत पढाउन थालियो । हामीकहाँ हराउँदै गएको छ । यसकारण पनि मैले यो विषयमा विशेष चासो दिएर थालेको हुँ’, सोमराजले थपे, ‘संस्कृत नेपालको पुरानो भाषा हो, सबै क्षेत्रको जननी हो । यसैबाट चिकित्सा क्षेत्रको सुरुवात भएको हो । वैज्ञानिक पनि छ, सभ्यता पनि छ । अनुशासन नभएको शिक्षाको भविष्य छैन ।’

अबको संस्कत कर्मकाण्डीमात्र होइन नैतिक शिक्षाले अबको भविष्य खोजिरहेको र यसकै संरक्षण आफ्नो दायित्व रहेको उनको भनाइ छ ।

गौमाता संरक्षकको रूपमा चिनिएका योगी डा. सोमराज गौधामभित्रै रहेको विद्यापीठमा रहेका विद्यार्थीहरूको हेरचाहमा पनि खटिन्छन् । उनले आफ्नो पहिलो अभियान गौ संरक्षण नै भएको तर समाजमा नैतिक शिक्षाको अभाव भएकाले गुरुकुल स्थापना गर्नुपरेको सुनाए ।

राजमार्गमा हुने गाई तस्करी नियन्त्रणमा पनि निकै सक्रिय छन् डा सोमराज । उनले सडकमा सङ्कटमा परेका गाईलाई संरक्षण गर्ने हेतुले देवदह नगरपालिकाले प्रदान गरेको जंगल क्षेत्रमा राखेका छन् । जहाँ ५ सयभन्दा बढी गाईबाच्छा रहेका छन् । गाईवस्तुलाई दाना खुवाउनेदेखि रेखदेखको लागि १८ जनाले यहाँ रोजगारी पाएका छन् ।

विद्यापीठमा संस्कृत र अंग्रेजीको पढाइ

गौधामभित्रको संस्कृत विद्यापीठमा संस्कृतसँगै अंग्रेजी पनि पढाइन्छ । गल्याङ नगरपालिका-९ स्याङ्जाका प्रितम भण्डारी संस्कृतसँगै अंग्रेजी पनि पढ्न पाइने सूचना पाएपछि कामधेनु संस्कृत विद्यापीठमा आएको बताउँछन् ।

गत वर्षदेखि सुरु भएको विद्यापीठमा कक्षा ६ मा भर्ना भएका भण्डारीले पहिलो वर्षमै आफूले धेरै सिक्न पाएको बताए । संस्कृत श्लोक उच्चारण गर्नेदेखि अंग्रेजी भाषामा सहज रूपमा कुराकानी गर्नसक्ने भण्डारी यहाँको एक्लो विद्यार्थी भने होइनन् ।

स्याङ्जा, दाङ, कञ्चनपुर, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लाबाट भण्डारी जस्तै संस्कृतसँगै अंग्रेजी अध्ययन गर्न आउनेको लहर चलेको छ । कञ्चनपुरका नवीन भट्टराई पनि आफ्नो अभिभावकको सल्लाहमा यहाँ पढ्न आएको बताउँछन् । १३ वर्षीय भट्टराई पनि भण्डारी जस्तै संस्कृतसँगै अंग्रेजी पढिरहेका छन् ।

धनगढीका विष्णु शर्माले संस्कृत गुरुकुलमा अध्ययन गर्ने सानैदेखि रुचि भएको कारणले स्थानीय विद्यालय छाडेर यहाँ आएको बताए ।

‘संस्कृतसँगै अंग्रेजी पढ्दा भविष्यमा जागिरदेखि जीवनयापन गर्न कुनै समस्या पर्दैन भनेर यहाँ आएको हो’, उनले भने, ‘पढ्नेबाहेक पनि यहाँ धेरै व्यवहारिक काम सिक्न पाइन्छ, खान बस्न, दैनिक आफ्नो काम गर्न कुनै समस्या छैन ।’

उनीहरु जस्तै यहाँ स्थायी रुपले बसेर पढ्ने र काम सिक्ने डेढ दर्जन विद्यार्थी छन् । विद्यार्थीहरूले पढाइ, श्लोक उच्चारणदेखि उनीहरूको बोली व्यवहारले लगातार गौधाम जानेहरू प्रशंसा गर्ने गर्दछन् । दुवै भाषामा दक्ष बनाउने र अनुशासनसहितको नैतिक शिक्षा सिकाउन गुरुकुल सुरु गरिएको विद्यापीठका संरक्षक तथा प्राचार्य सोमराजको भनाइ छ ।

उनले संस्कृत भाषाको आफ्नै महत्व रहेकाले त्यसको संरक्षण तथा अंग्रेजी अन्तर्राष्ट्रिय माध्यम भाषा भएकाले समायोजन गर्न दुवै भाषालाई महत्व दिइएको बताए । अहिले आधुनिक शिक्षा आर्जन गरे पनि समाज संस्कारयुक्त, नैतिकवान बन्न नसक्दा चिन्ता लागेको उनको भनाइ छ ।

गुरुकुलमा विद्यार्थीहरूलाई पढाइसँगै खान, बस्न, पोशाकलगायत निःशुल्क व्यवस्था गरिएको छ । गरिब तथा विपन्न वर्गका संस्कृत अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूलाई प्राथमिकता दिने गरिएको छ ।

‘यहाँ पढाउने विद्यार्थीहरूका अभिभावकलाई पनि शर्त राखिएको छ, परिवारमा सकेसम्म मदिरा सेवन नगर्ने गरेको, यदि गरेको रहेछ भने पनि छाड्ने सर्तमा हामीले विद्यार्थी छनोट गर्ने गरेका छौं’, डा. सोमराजले भने ।

देवदह नगरपालिकाका शिक्षा प्रमुख टीकाराम शर्माका अनुसार विद्यापीठको लागि नपाले अहिले एउटा शिक्षकको तलब व्यहोरेको छ । ४ जना शिक्षकबाट अध्यापन गरिएको विद्यापीठमा अन्य स्रोत भने दाताको दान र गौशालाको आम्दानीबाट गरिएको छ ।

गड्यौली मल : गजबको आम्दानी

खेती बढाउन आवश्यक पर्ने गड्यौली मल उत्पादन गरेर आम्दानीको स्रोत बनाइएको छ । गाईको गोबर र पिसाबसमेत प्रयोग गरेर बनाइएको यस्तो मल विभिन्न क्षेत्रमा बिक्रीका लागि पठाइने सोमराज बताउँछन् । ‘यो मलले उत्पादन बढाउँछ, कृषि क्षेत्रमा अध्ययन गर्ने विभिन्न क्षेत्रबाट यहाँ आएर नमुना लगेर आफ्नो उत्पादन बढाएका छन्’, उनले भने, ‘हामी आफैं यस्तो मल उत्पादन गरेर बेच्ने गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *