छिमेक कूटनीतिमा बिजोग : चीनका राष्ट्रपतिले ओहोदा लिएनन्, भारतले विश्व मञ्चमा निम्तो दिएन !
काठमाडौं । हालसालै चीनले आफ्ना नागरिकलाई घुम्न सिफारिस गरेका ४० देशको सूचीमा नेपाल पर्यो । चीनको पर्यटन सूचीमा नेपालले मान्यता पाएजस्तै चीनको कूटनीतिमा नेपालले मान्यता पाएको छैन । चीनस्थित नेपाली राजदूतले राष्ट्रपति सी चिनफिङसँग अहिलेसम्म भेट पाएका छैनन् । गठबन्धन सरकारको राजदूत भएर चीन पुगेको सात महिना पुग्दा पनि उनले भेट पाएका छैनन् ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले काठमाडौं पोस्टका पत्रकार पुरुषोत्तम पौडेलसँग बेइजिङमा केही अगाडि कुरा गर्दै सात महिनासम्म राष्ट्रपतिसँग ओहोदाको प्रमाणपत्र बुझाउन नपाएको स्वीकार गरेका थिए । उनले लाचार उत्तर दिँदै चीनमा १७५ देशका दूतावास भएको र चिनियाँ उच्च अधिकारीसँगको पहुँचमा समस्या भएको बताएका थिए ।
१७५ देशमा नेपाल चीनका १४ संधियारमा एक हो । चीनसँग कूटनीतिक रुपमा सफ्ट हुने थोरै छिमेकीमा नेपाल पनि हो । त्यो निकटताको फाइदा श्रेष्ठ जस्ता कमजोर राजदूतहरुले लिन सकेनन् वा भनौं चीनले भाउ दिएन । नेपालका लागि नयाँ चिनियाँ राजदूत गत पुस २४ गते (जनवरी ८)मा नेपाल आएर व्यापक राजनीतिक र कूटनीतिक भेटघाट गर्दा सात महिना भन्दा अगाडि बेइजिङ पुगेका चीनका लागि नेपाली राजदूत भने पहुँच अभावमा तड्पिरहेका छन् ।
आगामी सेप्टेम्बर ९ र १० (भदौ २३ र २४) मा दिल्लीमा विश्वका बीस उत्कृष्ठ अर्थतन्त्रहरुको संस्था जी-२० को अठारौं शिखर सम्मेलन हुँदैछ । त्यहाँ आमन्त्रितको रुपमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बोलाइएको छ । नेपाली प्रधानमन्त्रीको उपस्थिति छैन ।
चीनमा मात्रै होइन, भारतीय मामिलामा पनि यस्तै देखिएको छ । भारत सरकारले उसको प्रभाव हुने विश्वस्तरीय मञ्चहरुमा नेपाललाई कुनै स्थान दिएको छैन । उदाहरणका लागि भारत सरकारको विदेश मन्त्रालयको सहयोगमा ‘अब्जरभर रिसर्च फाउन्डेसन’ले आयोजना गरेको भारतको प्रतिष्ठित ‘राइसिना डाइलग’मा विश्वभरका आगन्तुक बोलाउँदा नेपाललाई बोलाइएन । नेपालको राजदूत भइसकेको भारतीय विदेश सचिव विनयमोहन क्वात्राले स्वागत मन्तव्य दिएको कार्यक्रममा उनी प्रभावशाली थिए । उनै क्वात्रासँग समिप भए पनि नेपाली कूटनीतिज्ञहरुलाई त्यहाँ बोलाइएन ।
राइसिना डाइलगको आठौं संस्करणका मार्च २ देखि ४ (फागुन १८, १९ र २०) सम्म आयोजना हुँदा माल्दिभ्सका परराष्ट्रमन्त्री अब्दुल्ला शाहिदले निमन्त्रणा पाउँदा नेपाली कूटनीतिज्ञ कोही लेपनि निम्ता पाएनन् । १०० देशका वक्ताहरु बोलाइएको सूचीमा नेपाल परेन, नेपाली अनुहारहरु परेनन् । इटालियन प्रधानमन्त्री गिओग्रिया मेलोनी, अस्ट्रेलियाली पूर्व प्रधानमन्त्री टोनी एबोटदेखि पूर्वबेलायती प्रधानमन्त्री टोली ब्लेयर हुँदै डलरे खर्बपति बिल गेट्ससम्म सहभागी राइसिना डाइलगमा नेपाली अनुहार परेनन् । यो पनि नेपालको कूटनीतिक असफलता हो ।
फेब्रुअरी १३ र १४ (फागुन १ र २) मा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाठौंमै थिए । उनले पहिलो पुस्तादेखि दोस्रो पुस्ताका नेताहरुलाई भेटे । तर, १६ दिनपछि हुने ‘राइसिना डाइलग’मा उनले कसैलाई योग्य देखेनन् । यसले नेपाली राजनीतिज्ञहरुलाई भारतीय संस्थापनले कुन स्तरको ठान्छ भन्ने देखाउँछ ।
भारतले नेपालमा आफूले चाहेको सत्ता निर्माणमा यताका दल तथा नेताहरुलाई मानमनितो गरे पनि उनीहरुलाई विश्वस्तरीय मञ्चमा स्थान दिन भने नचाहेको देखिन्छ ।
हालै सकिएको राइसिना डाइलगमा मात्रै होइन, भारतमै आयोजना हुने जी-२० को शिखर सम्मेलनमा नेपाल गयल छ । आगामी सेप्टेम्बर ९ र १० (भदौ २३ र २४) मा दिल्लीमा विश्वका बीस उत्कृष्ठ अर्थतन्त्रहरुको संस्था जी-२० को अठारौं शिखर सम्मेलन हुँदैछ । त्यहाँ आमन्त्रितको रुपमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बोलाइएको छ । नेपाली प्रधानमन्त्रीको उपस्थिति छैन । यसले पनि नेपाललाई भारतले खास महत्व नदिएको देखिन्छ । अर्को शब्दमा भन्दा भारतदेखि जी-२० देशको नजरमा नेपाल आमन्त्रित हुन योग्य देश होइन भन्ने देखाउँछ ।
भारतमा मोदी सरकार आएपछिको नयाँ कूटनीतिक लाइन हो ‘नेवरहुड फस्ट’ अर्थात् छिमेक पहिलो । छिमेकी पहिलो नीति हुँदाहुँदै र नेपालका नेताहरुको भारतीय नेता तथा कर्मचारीतन्त्रहरुसँग व्यक्तिगत सम्बन्ध हुँदाहुँदै पनि भारतले नेपाली नेताहरुलाई महत्व नदिएको देखिन्छ । राइसिना डाइलगदेखि जी-२० शिखर सम्मेलनमा मात्रै होइन, भारतको राजकीय भ्रमण गर्न खुट्टा उचालेर बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत अहिलेसम्म औपचारिक निम्तो र मिति पाएका छैनन् ।
यी सबै घटनाक्रमले भारतले नेपालमा आफूले चाहेको सत्ता निर्माणमा यताका दल तथा नेताहरुलाई मानमनितो गरे पनि उनीहरुलाई विश्वस्तरीय मञ्चमा स्थान दिन भने नचाहेको देखिन्छ । अर्को शब्दमा भन्दा भारतमा आयोजना भएका विश्वस्तरीय मञ्चमा पुग्ने योग्यता भारतले नेपाली नेताहरुमा नदेखेर पनि त्यसो गरेको हुनसक्छ । जेसुकै कारणले यस्तो भएको होस्, एउटा कुरा चाहिं सत्य देखिएको छ । त्यो हो- अहिले नेपालको छिमेक कूटनीति अत्यन्तै बिजोग अवस्थामा छ । दक्षिण एसियाको सबैभन्दा पुरानो सार्वभौम देशको लागि यो लज्जाको विषय हो ।
दास हलिया प्रबृत्तिका नालायक भए पछि यस्तै हो
यो गम्भीर सवाल उठाउनु भयो, यसमा खिसिट्यूरि गर्ने समय छैन् नेपालीपनलाई जोहो होस् ।
गणतन्त्र संघीयताको महान उपलब्धि ।
नोकर लाई मालिक ले मित्र को स्थान दिदैन 🇳🇵🇳🇵🇳🇵
नेपाली राजनिति पुसमाघमा वहने हावा जस्तो देखिन्छ।छिमेकि देशले स्थायी राजनिति देखेर वास्ता गर्न छोडे जस्तो छ।केवल पार्टि विशेष उराल्ने मात्र देखिन्छ।कतै नेपाली जनताले दुख त पाउ दैनन्?
विश्व अर्थतन्त्रमा उदाउंदै गरेका दुई छिमेकी राष्ट्र चिन र भारतसंग भन्दा सात समुन्द्र पारी रहेको अमेरिका र युरोपियन युनियनसंग गांसिदै गएको मोहमयाको उपज हो । चिन र भारतले नेपालबाट विश्व परिवेशमा तटस्थ रहोस भन्ने भुमिका खोजेको छ तर हाम्रो देशले बिराउंदै गरेको परराष्ट्र नीतिको बाटोले यसतर्फ धकेलेको देखिन्छ ।
दलालीको अब्बल परमादेश मानेको छन नि , यदि देशभक्त भएको भए बिदेशी को गुलाम हुनुपर्ने थिएन ।