नेविसंघमा अध्यक्ष शेर्पाको चिठी आतंक रोक्न अल्टिमेटम, माग पूरा नभए आत्मदाह गर्ने चेतावनी (भिडिओ) – Nepal Press

नेविसंघमा अध्यक्ष शेर्पाको चिठी आतंक रोक्न अल्टिमेटम, माग पूरा नभए आत्मदाह गर्ने चेतावनी (भिडिओ)

काठमाडौं । काठमाडौंलगायत विभिन्न जिल्लामा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले चिठी आतंक मच्चाएको भन्दै संघको काठमाडौं जिल्ला समितिले आतंक रोक्न सात दिने अल्टिमेटम दिएको छ ।

नेविसंघ काठमाडौंले मंगलबार पत्रकार समेलन गर्दै अध्यक्ष शेर्पाले एकलौटी रुपमा वितरण गरिएको पत्र खारेज गर्नसमेत माग गरेको छ । नेविसंघ काठमाडौं विद्यार्थी नेताहरुले आफूहरुको माग पूरा नभए रिले अनसन, आमरण अनसन हुँदै आत्मदाह गर्नेसम्मकाे चेतावनी दिएका छन् ।

नेविसंघ काठमाडौंका नेताहरुले यसअघि नै संगठनको केन्द्रीय कार्यालय र काठमाडौं कांग्रेस कार्यालयमा तालाबन्दी गरिसकेका छन । आफ्नो मागप्रति गम्भीर बन्न कांग्रेस नेतृत्वलाई आग्रह गर्दै उनीहरु यसबाट निस्केको जुनसुकै परिणामको जिम्मेवारी लिन तयार रहनसमेत आग्रह गरेका छन् ।

उनीहरुले स्ववियु निर्वाचनको टिकट वितरण पारदर्शी नभएको आरोपसमेत लगाएका छन् ।

पत्रकार सम्मेलनमा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्ज्वल बज्राचार्यले स्ववियु निर्वाचनको टिकट वितरण र जिल्लाको पत्र आतंकविरुद्ध देशभर विरोध कार्यक्रम गर्ने चेतावनी दिए । ‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी पत्र वितरण गरेका छन् । हामी त्यसको देशभरबाट विरोध गर्छौं’, उनले भने ।

विद्यार्थी नेता जोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले संघका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको आरोप लगाए । नेविसंघको व्याकग्राउन्ड नै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको उनको भनाइ छ ।

नेविसंघ काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्वकेन्द्रीय सदस्य प्रेम शाही, काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बविन गुरुङले केन्द्रीय अध्यक्ष शेर्पाको कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर