तनहुँ १ मा सिटौला उम्मेदवार बन्ने चर्चा र गोविन्द भट्टराईको अभिव्यक्तिले कांग्रेसमा तरंग – Nepal Press

तनहुँ १ मा सिटौला उम्मेदवार बन्ने चर्चा र गोविन्द भट्टराईको अभिव्यक्तिले कांग्रेसमा तरंग

पाेखरा । तीन दिनअघि नेपाल शिक्षक संघ तनहुँको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त तनहुँ १ मा आयातित उम्मेदवार उठाउन खोजिएको संकेत गरेपछि कांग्रेस पंक्तिमा खैलाबैला मच्चिएको छ ।

भट्टराईले भनेका थिए- यहाँका नेताहरु सक्षम छन् । यहाँ अन्यत्रबाट नेता झिकाएर लडाउनुपर्ने अवस्था छैन । यहाँ आयात होइन नेताको निर्यात गरेका छौं । कोही काठमाडौंमा गएर निर्वाचन जित्नुभयो, कोही बारमा । यहाँ अन्यत्रबाट नेता झिकाएर लडाउनुपर्ने अवस्था छैन । म निर्वाचन लड्न तयारी अवस्थामा छु र अरु आकांक्षी साथीहरुको व्यवस्थापनको दायित्व पनि मेरो हो ।

विना प्रसंग भट्टराईले किन बाहिरबाट नेता ल्याउन खोजिएको भने ? यसबारे तनहुँ नेपाली कांग्रेसका जिल्ला कार्य समितिका एक सदस्यले भने भट्टराईले केही सूचना पाएरै यस्तो अभिव्यक्ति दिएको दाबी गरेका छन् ।

नेपाल प्रेससँग आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै ती सदस्यले भने- गोविन्द दाइले केही संकेत पाएरै बोलेका हुन् । खासमा कृष्णप्रसाद सिटौलालाई तनहुँ १ बाट उपनिर्वाचन लडाउनेबारे शीर्ष तहमा छलफल भएको खबर आएको छ । कृष्ण सिटौला जत्तिको राष्ट्रिय नेता आउँदा हामी त खुशी नै हुन्छौं ।

सिटौला यसपटक कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका दाबेदार थिए । तर, सभापति शेरबहादुर देउवाले रामचन्द्रलाई गुण तिर्न सिटौलालाई ब्याक गरेका थिए । आफूलाई दुवैपटक सभापति बन्न निर्णायक सहयोग गरेका सिटौलालाई पनि देउवा न्याय गर्न चाहन्छन् ।

कतिपयले रामचन्द्रलाई राष्ट्रपति बनाउने बेलामै सिटौलालाई उपचुनाव जिताएर ल्याउने समझदारी बनेको अनुमानसमेत गरेका छन् । यसबारेमा सिटौलासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

कांग्रेस स्रोतका अनुसार सिटौलाले चाहेमा उनलाई तनहुँ १ मा उपचुनाव लडाउन सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का तयार छन् । आगामी महाधिवेशनमा सिटौलाले आफूलाई सभापतिमा सघाउने वातावरण बनाउन खड्काले चाहेका छन् । झापा ३ बाट लगातार २ पटक राप्रपाका राजेन्द्र लिङ्देनसँग चुनाव हारेका सिटौलालाई संसदमा ल्याउन कांग्रेस शीर्ष नेतृत्व चाहन्छ ।

राजनीतिक सक्रियता र पहलकदमी लिनसक्ने कांग्रेसका शीर्ष नेताहरुमध्ये संसद बाहिर अहिले सिटौलामात्र छन् । उनलाई कुनै न कुनै रुपमा न्याय गर्ने देउवाको चाहना प्रकट हुने गरेको नेताहरु बताउँछन् । त्यसो त सिटौलाको नाम आउनु र गोविन्द भट्टराईले तत्कालै प्रतिक्रिया जनाउनुको पछाडि तनहुँ कांग्रेसको आन्तरिक राजनीतिक फ्याक्टरले पनि काम गरेको छ ।

तनहुँ १ बाट उपचुनावमा उम्मेदवार बन्न भट्टराईसँगै रामचन्द्र पोखरेल, ध्रुव वाग्ले र दीपक भट्टराईले पनि बलियो दाबी पेश गरिरहेका छन् ।

यीमध्ये वाग्ले देउवाका सदाबहार सहयोगी हुन् । गोविन्द भट्टराईले मंसिर ४ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने घाेषणासमेत गरेका थिए । केन्दीय कोषाध्यक्ष मनाेनयन गर्ने आश्वासन पाएपछि उनी फर्किएको नेताहरु बताउँछन् । नेविसंघका पूर्व सभापतिमध्ये उनीभन्दा जुनियरले पटकपटक माैका पाउँदा पनि भट्टराईले आफू अन्यायमा पर्दै आएकाे बताउँदै आएका छन् ।

आफूले टिकट नपाउने अवस्थामा गोविन्दलाई रोक्न सिटौला ल्याउने पहल पनि जिल्लाकै कतिपय नेताले गर्न थालेका छन् । त्यसो त हाल २ नम्बर क्षेत्रबाट जितेका शंकर भण्डारी पनि अर्को चुनावमा १ नम्बरमा आउन चाहन्छन् । गोविन्दले जित्दा उनले सो क्षेत्रमा आउन अवरोध हुने भएकाले सिटौला ल्याउँदा उनको पनि स्वार्थ मिल्नेछ ।

तनहुँ १ कांग्रेसमा राम्रो आधार भएकाले भण्डारी एमालेको पकड रहेको क्षेत्रबाट सर्न चाहन्छन् । यसपटक उपचुनावमा सिटौलालाई उम्मेदवार बनाउँदा कांग्रेसमा अन्तर्घात पनि नहुने र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पनि सिटौलाको लागि आवश्यक सहयोग गर्ने भएकाले उनले चाहँदा तनहुँ १ मा कांग्रेसबाट अरु उम्मेदवार नहुने यहाँका नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर