तीन महिनामा लुम्बिनीमा भेटिबापत एक करोड तीन लाख संकलन
रुपन्देही । पछिल्लो तीन महिनामा बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ ।
पुस, माघ र फागुन महिनाको संकलित भेटि वुधबार सकिएको गणनामा यो रकम संकलन भएको हो । यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
आइतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना शुरु गरिएको थियो । आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए ।
फागुन २८ गतेदेखि वुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो । अघिल्लो पटक मंसिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम बृद्धि भएको कोषले जनाएको छ ।
कोरोना महामारीपछि यहाँ आउने पर्यटक घटेपनि पछिल्लो महिना पुरानै लयमा आउन थालेको तथ्यांकले देखाएको छ ।