अनि उनीहरु आधुनिक ‘खर्पन’तर्फ मोडिए (भिडिओ)
अन्तर्राष्ट्रिस्तरको स्वस्थ तरकारी अब सपना रहेन, खर्पनले यसरी गर्छ वैज्ञानिक प्रशोधन र होम डेलिभरी
काठमाडौं । कुरा २०७५ सालतिरको हो । बागबजारमा प्रिन्टिङ प्रेस चलाउँदै आएका सञ्जीप बुढाथोकी काम विशेषले भक्तपुरको बालकोट पुगे । साथमा थिए उनका मित्र लोकेश अधिकारी । लोकेश भने आईटी क्षेत्रमा काम गर्थे ।
बालकोट नपुग्दै उनीहरु हनुमन्ते खोलाको कोरिडोर नजिकै रहेको एउटा क्याफेमा खाजा खान छिरे । मगाएको खाजा र सलाद उनीहरुको टेबलमा आइपुग्यो । खाजा खाँदै गर्दा लोकेशको आँखा हनुमन्ते खोलामा पुगे । खोलाको पानीमा केही किसानले गाजर धोइरहेका थिए ।
हेर्दा खोला पनि भन्न नसुहाउने हनुमन्तेमा धोइएको गाजर देखेर उनको मनमा चिसो पस्यो । सलादको प्लेटमा सजाइएको गाजर र मूला कस्तो ठाउँबाट आएको होला ? कस्तो पानीमा धोएको होला ? स्वास्थ्यको लागि कति अनुकूल होला ? कति प्रतिकूल होला ?
प्रश्न एक प्लेट सलादमा मात्र सीमित थिएन । प्रश्न लोकेश र सञ्जीपको स्वास्थ्यसम्म पुग्यो । तर, यतिमा मात्रै सीमित थिएन । प्रश्न बजारबाट तरकारी किनेर छाक टार्ने तमाम उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित थियो । लोकेश र सञ्जीपलाई आफ्नो कौतुहल मेटाउने हुटहुटी जाग्यो । बुझ्दै जाँदा उनीहरुले थाहा पाए उपभोक्ताको भान्सामा पुग्ने तरकारी हनुमन्ते, मनहरा, बागमती, विष्णुमतीको दूषित पानीमा पखालिएर पुग्ने गर्छन् ।
थप चासो दिँदा उनीहरुले थाहा पाए बजारबाट किनेर ल्याइएका तरकारी तथा फलफूल घरघरमा ल्याएर राम्रो पानीले पखल्दासमेत यसमा प्रयोग गरिने कीटनाशक विषादीबाट छुटकारा पाउन सकिँदैन ।
‘हरेक मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यो समस्या वास्तवमै गम्भीर विषय हो भन्ने हामीले महसुस गर्यौं र यसको समाधान खोजिनुपर्छ भनेर हामी लागिपर्यौं’, सन्जीपले भने ।
उनीहरुले तरकारी तथा फलफूललाई स्वस्थकर बनाउने समाधानका विभिन्न ‘हिट एण्ड ट्रायल’ मेथड सुरु गरे । ‘सुरुमा हामीले भिनेगर, नून आदि प्रयोग गरेर फलफूल तथा तरकारी शुद्धीकरण गर्ने प्रयास गर्यौं । यसले पानीको तुलनामा केही हदसम्म राम्रो गर्ने तर यो नै पूर्ण समाधान होइन रहेछ’, सञ्जीप भन्छन् ।
सुरुमा गरिएका अनेक प्रयास असफल भए पनि उपभोक्ताले सफा र विषादीरहित तरकारी तथा फलफूल खान पाउनुपर्छ भन्ने सञ्जीप र लोकेशको अठोट भने बलियो हुँदै आयो, अध्ययनको दायरा फराकिलो हुँदै गयो । सोही क्रममा उनीहरुले अमेरिकी ‘फुड एण्ड ड्रग्स एडमिनिट्रेसन’को एक अध्ययन फेला पारे । उक्त अध्ययनको निष्कर्षअनुसार फलफूल तथा तरकारीलाई सफा र विषादीरहित बनाउन सबैभन्दा प्रभाकारी विधि हो- ‘ओजोन वाश’ ।
सञ्जीप भन्छन्, ‘विधि त थाहा पायौं । तर, प्रविधि नेपालमा उपलब्ध थिएन । हामीले आवश्यक प्रविधि भारतबाट मगाउने निधो गर्यौं ।’
त्यसपछि सुरु भयो उपभोक्तालाई सफा र विषादीरहित तरकारी तथा फलफूल खुवाउने आधुनिक ‘खर्पन’ अर्थात खर्पन ट्रेड प्रालि । खर्पन नाम नै किन राखियो ? सञ्जीप उत्तर दिन्छन्, ‘खर्पन भन्नाले कृषकहरूले आफ्नो कृषि सामग्रीलाई बजारसम्म पुर्याउन प्रयोग गर्ने साधन हो । सवारीसाधनको उपलब्धतासँगै यसको प्रयोग कम भएको छ । तर, हामीलाई के लाग्यो भने ‘खर्पन’ फगत एक साधनमात्र नभएर कृषि संस्कृतिको प्रतीक पनि हो । तसर्थ कृषि संस्कृतिलाई जीवित राख्न हामीले ‘खर्पन’ नाम चयन गर्यौं ।’
२०७५ सालमै ‘खर्पन’ अवधारणा बने पनि आवश्यक रिसर्च र डिजाइन, कोरोना कहर, अनुकूल ठाउँको खोजी आदिको कारण ‘खर्पन’ले व्यवसाय सुरु गरेको हाल साढे दुई वर्षमात्रै भएको छ । हाल भक्तपुरको तर्खगालमा खर्पन ट्रेडको प्रशोधनशाला सञ्चालनमा छ । सञ्जीपका अनुसार उक्त प्रशोधनशालामा अवस्थित स्वःचालित मेसिनले प्रतिघन्टा कम्तीमा ५०० किलो तरकारी र फलफूल प्रशोधन गर्छ । यसरी प्रशोधन गरिएका तरकारी तथा फलफूल पूर्ण रूपमा जीवाणु र कीटाणुरहित हुने उनले दावी गरे ।
खर्पन ट्रेडले हाल तीन हजार ५०० भन्दा बढी भान्सामा तरकारी पुर्याउने गरेको सञ्जीप सुनाउँछन् । खर्पनले बेच्दै आएको अधिकांश तरकारी सूर्यविनायक नगरपालिका वडा नम्बर १ र ४ का किसानहरुको उत्पादन हो । सञ्जीपका अनुसार खर्पन ट्रेडले हाल खर्कगलका २८० जना किसानहरुसँग ‘बाइ ब्याक एग्रिमेन्ट गरेको छ’ ।
खर्पन ट्रेडले कृषकहरुलाई बीउबिजन उपलब्ध गराउने, कृषि विज्ञहरुमार्फत निःशुल्क माटोपरीक्षण गराउने, निःशुल्क तालिम दिनेलगायत पनि गर्दै आएको छ । किसानसँगै खर्पनले बजारबाट पनि फलफूल तथा तरकारी किनेर ओजोन वास्ड गरेर बेच्ने गरेको छ । उपभोक्ताले कुन तरकारी तथा फलफूल बजारबाट किनिएको हो र कुन स्थानीय उत्पादन हो भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्छन् । ‘खर्पन’ले ओजोन वास्ड गरेका तरकारी तथा फलफूल खर्पन ट्रेडको एप वा वेबसाइटबाट अर्डर गर्न सकिन्छ ।
सञ्जीपका अनुसार कम्तीमा ७५० रुपैयाँको अर्डर भ्याल्युमा विना कुनै ढुवानी खर्च खर्पनले घरघरमै अर्डर डेलिभर गर्छ ।
तर्खगालमा खर्पनको स्थापना भएसँगै उत्पादन भएका तरकारीहरुले राम्रो बजार पाएको र यसले प्रदान गर्ने अतिरिक्त सेवाले उत्पादनसमेत बढेको किसान शालिग्राम न्यौपानेको भनाइ छ ।
खर्पनले खरिद गरेका तरकारी तथा फलफूलको व्यवस्थापन गर्न ‘जेरो वेष्ट पोलिसी’ अवधारणालाई अपनाइएको छ । जसअनुसार तरकारी तथा फलफूलको प्रशोधन गर्दा निस्केको फोहोरबाट मल बनाइन्छ । बिक्री नभएका तथा नबिक्ने खालका तरकारी ‘ड्राई’ गरेर पनि बेचिन्छ ।
त्यस्त खर्पनले ‘रोल्स एन्ड ब्रेड’ नामको बेकरी पनि चलाएको छ । जसमा ड्राई तरकारीको प्रयोग गरिन्छ । खर्पनले डेलिभर गरेका तरकारी सीधै पकाउन योग्य रहेको सञ्जीप बताउँछन् ।
‘सामान्यतया बजारमा पाइने तरकारीको कम्तिमा २० प्रतिशत वेष्ट हुन्छ । तर, हाम्रोमा त्यस्तो हुँदैन । जस्तैः हामीले डेलिभर गर्ने काउलीमा डाठ भेट्नुहुन्न’, उनले भने, ‘तरकारीलाई विषादीरहित बनाउन अत्याधुनिक प्रविधि प्रयोग गरिए पनि तरकारी तथा फलफूलको मूल्य सुपथ रहेको छ । बजारमा पाइने अन्य तरकारी उपभोक्तासम्म आइपुग्न धेरै च्यानल पार गर्नुपर्छ । तर, हाम्रा अधिकांश तरकारी किसानमार्फत आउने भएकाले हामीले सुपथ मूल्यमै तरकारी बिक्री वितरण गर्न सकेका छौं ।’