हिन्दू विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन समिति गठन – Nepal Press

हिन्दू विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ ।

हिन्दू विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेका हुन् ।

डा. जगमान गुरुङको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतोनाथ गौतम र कमल ढकाल सदस्य रहेका छन् भने सदस्य सचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा रहेका छन् ।

समितिलाई आगामी मंसिरभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । मन्त्री किराँतीले आफूले सिफारिस गरेको व्यक्तिहरुले आफूहरुसँग भएको ज्ञानको प्रयोग गरेर हिन्दू विश्वविद्यालय स्थापनाका लागि आवश्यक अवधारणासहित सम्भाव्यता अध्ययन गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, समितिका संयोजक गुरुङले २०८० मंसिरभित्रै प्रतिवेदन बुझाउने र २०८१ वैशाखभित्रै हिन्दू विश्वविद्यालय स्थापना घोषणा गर्नुपर्ने बताए । हिन्दू विश्वविद्यालय भन्दापनि श्री पशुपति हिन्दू विश्वविद्यालय नै नामाङ्करण गर्न उचित हुने उनको भनाइ छ ।

उनले हिन्दू विश्वविद्यालयको औचित्व पुष्टि हुने गरी काम गर्ने दाबी गरे । सरकारले काभ्रेको भकुण्डेबेँसीमा हिन्दु विश्वविद्यालय स्थापना गर्ने तयारी थालेको हो । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर