ए डिभिजन लिगः नवप्रवेशी चर्च ब्वाइजको अपराजित यात्रा कायमै, जावलाखेल तेस्रोमा उक्लियो – Nepal Press

ए डिभिजन लिगः नवप्रवेशी चर्च ब्वाइजको अपराजित यात्रा कायमै, जावलाखेल तेस्रोमा उक्लियो

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ ।

च्यासल रंगशालामा शुक्रबार सम्पन्न खेलमा दुवै टीमले गोल गर्ने थुप्रै अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा जीत निकाल्न सकेनन् ।

जारी लिगमा लगातार तीन जीत निकालेको चर्च ब्वाइज पछिल्ला दुई खेलमा लगातार बराबरी खेल्दै अंक बाँड्दा शीर्ष स्थानमा रहन चुकेको छ ।

खेलको पाँचौं मिनेटमा मछिन्द्रले अग्रता लिने अवसर खेर फालेको थियो । देवेन्द्र तामाङको क्रसमा पेनाल्टी बक्सभित्रबाट अफिज ओलावालेलेको प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसोले बचाएका थिए ।

त्यसछि निरन्तर मछिन्द्रमाथि दबाब बनाएको चर्च ब्वाइजका आशिष चौधरीले खेलको ११औं मिनेटमा १८ यार्ड बक्सभित्रबाट गरेको सशक्त प्रहार फ्रेममा नपर्दा अग्रता लिन सकेन ।

चौधरीले २७औं मिनेटमा बायाँ फ्ल्याङ्कबाट दिएको क्रशमा आशिष चापागाईंको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिँदा चर्च ब्वाइज पुनः अभागी सावित भयो ।

कप्तान सुजल श्रेष्ठको कर्नरमा देवेन्द्रको हेडर क्रसबार माथिबाटै बहिरिँदा मछिन्द्र अग्रता लिन चुक्यो । पुजन उपरकोटीले ४२औं मिनेटमा रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा सीमित भएको थियो । चर्च ब्वाइजका जोसेफ ओउसुमाथि फाउल गरेका पुजनले सोझै रातो कार्ड व्यहोरेका थिए ।

पहिलोहाफ आक्रामक शैलीमा प्रस्तुत भएको चर्च ब्वाइजले दोस्रो हाफमा १० खेलाडीमा सीमित मछिन्द्रमाथि खासै अवसरहरु बुन्न सकेन । खेलको ४८औं मिनेटमा गगनदीप सिंहको क्रसमा आशिष चापागाईंको होडर फ्रेममा परेन ।

चर्च ब्वाइजले ५०औं मिनेटमा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । आशिष चौधरीको क्रसमा आशिष चापागाईंले मिलाइदिएको बलमा एरिक विष्ट कनेक्ट हुन सकेनन् ।

खेलको ५५औं मिनेटमा आशिष चौधरीले मिलाइदिएको बलमा आशिष चापागाईंले गोललाइन नजिकै भेट्टाउन नसक्दा चर्च ब्वाइज पुनः अग्रता लिनबाट बञ्चित भयो ।

त्यसपछि केही अवसर पाए पनि दोस्रो हाफमा १० खेलाडीमा समेटिएको मछिन्द्रले चर्च ब्वाइजलाई काबुमा राखेको थियो । तर, पाएका अवसरहरुलाई स्कोरमा बदल्न नसक्दा दुबै टीमले एक-एक अंक बाँडेका छन् ।

आजै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोलले पराजित गर्दै जावलाखेल युथ क्लब तेस्रो स्थानमा उक्लिएको छ । खेलको १६औं मिनेटमा एनकोटो मासोबीले गरेको गोल जावलाखेलको जीतमा निर्णायक बनेको थियो ।

बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा तीन जीत र दुई बराबरीको नतिजासहित ११ अंक जोडेर दोस्रो स्थानमा छ । जावलाखेलको ५ खेलमा १० अंक छ । शीर्ष सातदोबाटोको १२ अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर