भारतको कूटनीतिक प्रतिवेदनमा नेपालः उच्चस्तरीय भेटघाटदेखि धरानको अक्सिजन प्लान्टसम्मका प्रसंग – Nepal Press

भारतको कूटनीतिक प्रतिवेदनमा नेपालः उच्चस्तरीय भेटघाटदेखि धरानको अक्सिजन प्लान्टसम्मका प्रसंग

काठमाडौं । भारतीय विदेश मन्त्रालयले आफ्नो नयाँ वार्षिक कूटनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । २०२१/२२ को वार्षिक कूटनीतिक प्रतिवेदनमा भारतले चीनसँग नरम र पाकिस्तानसँग गरम नीति लिएको छ ।

पाकिस्तानलाई आतंकवादको प्रायोजक भनेर किटान गरिएको प्रतिवेदनमा चीनसँग भने सम्बन्ध जटिल भएपनि सामान्य हुने सम्भावना उल्लेख छ । पाकिस्तानलाई ‘खराब छिमेकी’ भनेको भारतले चीनसँगको सम्बन्धलाई भने ‘जटिल’ भनेर व्याख्या गरेको छ । पाकिस्तानसँग गरम र चीनसँगको नरम भाषाको विश्वभरका कूटनीतिक वृत्तमा चासो बढेको छ । रुसी मिडिया आरटीका एसिया सम्पादक जोएदीप सेन गुप्ताले त यस बारेमा एक लामो टिप्पणी नै लेखेका छन् ।

भारतले सार्वजनिक गरेको कूटनीतिक प्रतिवेदन ३१२ पृष्ठको छ । भारतले छिमेकीको सूचीमा चीनलाई राखेको छैन । उसले चीनलाई पूर्वी एसियाको सूचीमा राखेको छ । छिमेकीका सूचीमा नेपालसहित अफागानिस्तान, बंगलादेश, भुटान, माल्दिप्स, म्यानमार, पाकिस्तान, श्रीलंका आदिलाई समेटेको छ । छिमेकिकै सूचीमा हिन्द महासागर क्षेत्रका कोमोरोस, मादागास्कार, मौरिसस र सेसेल्सलाई समेत भारतले छिमेकिको रूपमा राखेको छ । केही समयअगाडि आएको भारतीय विदेशमन्त्री एस. जयशंकरको पुस्तक ‘द इन्डिया वे’ मा जस्तै भारतीय विदेश मन्त्रालयले पनि हिन्द महासागरका देशहरूलाई भारतका सँधियारी देशहरूको रूपमा सूचीकृत गरिएको छ ।

भारतको नेपाल प्रतिवेदनः उच्चस्तरीय भेटघाट र भारतीय सहयोगको चर्चा

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको गत वर्षको घटनाक्रमहरूको समष्ठिगत प्रतिवेदनमा नेपालबारेमा पृष्ठ १९ र २० मा चर्चा गरिएको छ । वार्षिक कूटनीतिक प्रतिवेदनमा नेपाल र भारतका उच्च स्तरीय भेटघाट र कुराकानीका प्रसंगहरूलाई प्राथमिकता दिइएको छ । सन् २०२१ को नोभेम्बरमा ग्लासगोमा भएको दुई देशका प्रधानमन्त्रीहरूको साइडलाइन भेटघाट, त्यो अगाडिका दुई किस्ताका फोन संवादलाई समेटिएको छ ।

नेपालका दुई देशका विदेशमन्त्रीहरूदेखि दुई देशका सेनापतिहरूको भ्रमण आदानप्रदान पनि प्रतिवेदनमा अटाएको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको तथा भारतबाटै नेपालको सबैजसो तेस्रो मुलुकसँगको व्यापार ट्रान्जिट हुने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो १० वर्षमा भारतबाट नेपालमा निर्यात आठ गुणाले बढेको र नेपालबाट भारतमा निर्यात भने दुई गुणाले मात्रै बढेको समेत प्रतिवेदनमा लेखिएको छ ।

२०२१ को सेप्टेम्बर/अक्टोबरमा भएको दुई देशका सेनाले गरेको ‘सूर्य किरण’ सैन्य अभ्यासदेखि सन् २०२१ अक्टोबर २२ मा भारतको जयनगरदेखि नेपालको कुर्तासम्मको ३४.९ किलोमिटर लामो रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको कुरा प्रतिवेदनमा अटाएका छन् । यस्तै, सन २०२१ नोभेम्बर १५ मा नुवाकोट र गोरखा जिल्लामा भूकम्पपीडित क्षेत्रमा भारतीय सहयोगबाट बनेका ५० हजार घरहरू नेपाललाई हस्तान्तरण गरिएको प्रसंग पनि प्रतिवेदनमा राखिएको छ ।

यसका अतिरिक्त भारतले नेपालको कोभिड-१९ तनावमा जुध्न गरेका सहयोगलाई पनि प्रतिवेदनमा समेटेको छ । भारतको मौलिक प्रविधिबाट धरानमा बनाइएको अक्सिजन प्लान्टको कुरा समेत प्रतिवेदनमा लेखिएको छ । धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा सन् २०२१ अगस्टमा जडान भएको अक्सिजन प्लान्टले एकैपटकमा दुई सय बिरामीलाई सेवा गर्ने भन्दै प्रतिवेदनमा धरानको अक्सिजन प्लान्टको कुरा समेटिएको छ ।

भारतले नेपालसँगको कूटनीतिमा भारतको सिग्नेचर कूटनीतिक कार्यक्रम ‘नेवरहुट फर्सट’ अर्थात् छिमेक पहिले नीतिको आधारशीला भएको लेखेको छ । नेपालसँगको भारतीय कूटनीतिक सम्बन्धका सवालमा भारतीय मिडिया र टिप्पणीकारहरूहरूले भन्ने जस्तो नेपालको मूलधारको राजनीतिको चिनियाँ प्रभावदेखि हस्तक्षेपका आरोपहरू भने भारतीय विदेश मन्त्रालयको प्रतिवेदनमा उल्ल्लेख गरिएको छैन ।

नेपाल र भारतको सम्बन्ध युगौँ पुरानो भएको देखि नेपाल भारत खुल्ला सीमादेखि सांस्कृतिक सम्बन्धका कुराले जनसम्बन्ध पनि बलियो भएको प्रतिवेदनको प्रारम्भमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर