बुटवललाई खिज्याइरहेको मुख्य सडक: ६ वर्षमा साढे ३ किलोमिटर बाटोको ३० प्रतिशतमात्रै काम – Nepal Press

बुटवललाई खिज्याइरहेको मुख्य सडक: ६ वर्षमा साढे ३ किलोमिटर बाटोको ३० प्रतिशतमात्रै काम

रुपन्देही । बुटवलको केन्द्रमा रहेको साढे ३ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्ष पुग्दा पनि भौतिक प्रगति ३० प्रतिशतभन्दा बढेको छैन ।

स्थानीय तह र संघीय तथा प्रदेश निर्वाचनमा एमालेका उम्मेदवारविरुद्ध प्रचारको मसला बनेको यो बाटो स्थानीय तह चुनाव भएको एक वर्ष पूरा हुन लाग्दा पनि सम्पन्न हुने कुनै सुरसार छैन ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चौराहा-चिडियाखोला सडक खण्डको साढे तीन किलोमिटर सडक २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो । २०७६ असोज १२ गते काम सक्नुपर्ने भए पनि अझै निर्माण अस्तव्यस्त अवस्थामा छ । सडक निर्माण सम्झौताको ६ वर्ष पूरा भइसकेको छ ।

निर्वाचनका बेला मसला बनाउनेहरुले अहिले यसको विषय उठाउनै छाडेको भन्दै सो क्षेत्रमा व्यापारीहरु आक्रोशित छन् । निर्वाचनअघि केही व्यापारी तथा दलका नेताहरुले बाटो छेउका व्यापारीलाई उचालेर अदालतमा पुर्‍याएर काममा ढिलाइ गराए । उनीहरुले मुआब्जाको प्रश्न उठाए । पछि ठेकेदारलाई नै विभिन्न बहानामा ढिलो गर्न प्रेरित गरे । दुइटै चुनावमा यसलाई प्रचारको मसला बनाए । अहिले बाटो छेउमा व्यापार गर्नेहरु आफूहरु पलायन हुने अवस्था आएको बताउँछन्् ।

सो क्षेत्रका व्यापारी दीपक श्रेष्ठले सुरुमा जग्गा विवादले रोकिएको सडक निर्माण पछि ठेकेदार कम्पनीको कारण ढिलो भएको बताए ।

मिलनचोकका पसल सञ्चालक दिनेश गैरेले सडक विस्तारका नाममा दिनभर उड्ने धूलोले बेहाल भएको र व्यवसाय चौपट बनाएको गुनासो गरे । वर्षौंदेखि सडकभरि खाल्डाखुल्डी र धूलोले गर्दा ग्राहक आए पनि पसल खोलेर बस्ने अवस्था नरहेको उनले बताए ।

अर्का व्यवसायी भुवन अर्याल बुटवलमा व्यवसाय कमजोर हुनु र व्यवसायी पलायन हुनु यो सडक निर्माण प्रमुख कारण भए पनि दलका नेता, व्यापारिक संघसंस्थाको नेतृत्व ठेकेदार कम्पनीको अगाडि नतमस्तक भएको बताउँछन् ।

उद्योगी व्यवसायीको नेतृत्व गर्ने संघसंस्थाहरुले पनि यो विषय पटक-पटक उठाएका छन् । तर, सम्बन्धित निकायले सुनेको छैन । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले सडक समयमै नबन्दा व्यापारमा ठूलो नोक्सान भइरहेको बताए ।

सडकका कारणले ग्राहकहरु पसलमा जान नरुचाउने उनको भनाइ छ । रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष यमलाल लोहनीले लामो समय काम भएर अलपत्र पारिएको सडकले व्यापारीलाई हैरानी भएको बताए । व्यापार नभएपछि धेरै व्यापारीले घर भाडा तिर्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

केन्द्र सरकारको योजना भए पनि नगरपालिकाले समन्वय गरेर जतिसक्दो चाँडो सडक निर्माण सक्न पहल गरेको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बताए । पछिल्ला दिनमा आफूहरूको दबाबले धेरै काम अगाडि बढेको उनको दाबी छ ।

पछिल्लो पटक २०८० असारसम्म सक्ने गरी म्याद थपिएको छ । तर, अहिलेसम्म उक्त सडकको भौतिक प्रगति ३० प्रतिशतमात्र रहेको सडक कार्यालय बुटवलले जनाएको छ ।

द कञ्चनजंघा विरुवा जेभी काठमाडौंले भ्याट र पीएससमेत गरी ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँ ३८ पैसामा सडक निर्माणको ठेक्का लिएको थियो । उक्त ठेकेदार कम्पनीले हालसम्म १३ करोडभन्दा बढी रकम भुक्तानी लगिसकेको छ । सडक विस्तारको काम तीन पटक म्याद थप्दासमेत पूरा नभएपछि स्थानीय सास्ती व्यहोर्न बाध्य छन् ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेकेदारले सक्रियता देखाउँदै सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रे गरे पनि अझै प्रभावकारी काम नगरेको बताए । उनले सडकको कामलाई तीब्र बनाउन पटक-पटक दबाब दिएको जानकारी दिए ।

यस्तै भए ठेक्का तोड्न सकिने उनको भनाइ छ । त्यसो त डिभिजन कार्यालयले यस्तो चेतावनी दिएको यो पहिलो होइन ।

चुनावअघि उही ठेकेदारलाई काम ढिलो गर्न प्रोत्साहित गर्नेहरु अहिले उसैका कारण ढिलो भयो भनेर जनता ढाँट्ने काम भएको स्थानीय देवराज पोखरेलको भनाइ छ ।

अहिले बुटवलको बसपार्कदेखि मिलनचोक हुँदै पश्चिमाञ्चल फाइनान्ससम्म एकतर्फी सडक बनाएको छ । यस्तै ट्राफिक चोकमा पनि एकतर्फीमात्र सडक सञ्चालनमा ल्याइएको छ ।

काममा ढिला गरेपछि सडक डिभिजन कार्यालयले गत फागुन ४ गते एक सूचना प्रकाशित गर्दै ठेकेदार कम्पनीहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको थियो । त्यसपछि कम्पनीले काम छिटो सम्पन्न गर्ने बताएको छ । तर पनि काम सुस्त छ ।

सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्साल समयमै काम सम्पन्न गर्ने स्पष्ट आधारसहित स्पष्टीकरण सोधिएकोमा निर्माण कम्पनीले त्यही अनुरुपको जवाफ पठाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *