उर्लाबारी क्याम्पसमा नेविसंघको प्यानलै विजयी


विराटनगर । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।
क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन् ।
कार्कीले ६५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहालले ३२५ मत पाएकी छिन् ।
दाहाल माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार हुन् ।
यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल ५९५ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका थानेश्वर अधिकारीले ३७० मत प्राप्त गरे ।
यस्तै कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरूमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना वि.क., विनिता गौतम र विराट थापा विजयी भएका छन् ।