एमालेको मिसन ग्रासरुट अभियान- घेराबन्दीविरुद्ध आगामी निर्वाचनबाट एकल बहुमत – Nepal Press

एमालेको मिसन ग्रासरुट अभियान- घेराबन्दीविरुद्ध आगामी निर्वाचनबाट एकल बहुमत

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने उल्लेख गर्दै त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आएका इन्चार्ज कँडेलले सोमबार बिहान सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

उनले भने, ‘एमालेलाई घेराबन्दी गर्ने काम भएको छ । यसलाई जनताको बलमार्फत परिवर्तन गरेर अगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रूपमा रूपान्तरण गर्न हामी अहिलेदेखि नै लाग्नुपर्छ । आफ्नो खुट्टामा दृढतापूर्वक उभिन सक्यौँ भने मात्रै हामीले अरूका घेराबन्दीलाई चिर्न सक्छौँ । त्यसका लागि संगठन निर्माण जनताका जीविकाका प्रश्नहरूलाई हामीले महत्त्वका साथ उठान गर्नुपर्छ ।’

उनले आफूले जुम्लाको अवस्था हेर्दा एमालेप्रति आकर्षण र विश्वास पर्याप्त मात्रामा रहेको पाए पनि होहल्ला गर्ने, मरेको राजतन्त्रलाई जिउँदो बनाउँछौँ भनेर यहाँका दुर्गम बस्तीमा भ्रम छर्नेहरूले चुनाव जितेको पाउँदा आश्चर्य लागेको बताए।

पार्टीको समानुपातिक मत जति पनि आफ्नो उम्मेदवारलाई मत नआउने स्थितिको अन्त्य गर्नासाथ जुम्लामा एमालेले विजय हासिल गर्ने विश्लेषण उनले सुनाए।

बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो ।

नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा आयोजित बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउनेबारेमा कार्य योजना बनाइएको छ ।

जुम्लामा अभियानका अनुगमनका लागि इन्चार्ज कँडेल आइतबार जुम्ला आइपुगेका हुन्। उनले जुम्ला जिल्लाभरको समग्र कामका बारेमा जुम्लाका खटिनुभएका केन्द्रीय प्रतिनिधि र जिल्लाका पदाधिकारीहरूसँग बैठक बसी जानकारी लिएका थिए।

जुम्लामा भइरहेका कामका बारेमा केन्द्रीय प्रतिनिधिहरू विष्णु रिजाल, नगेन्द्र शाही र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी दिएका थिए। अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न उनले निर्देशन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर