जमिन भरतपुर अस्पतालको, रजाइँ अरुको – Nepal Press

जमिन भरतपुर अस्पतालको, रजाइँ अरुको

चितवन । चितवनको भरतपुर अस्पताल चितवनसहित आसपासका जिल्लाका बिरामीलाई उपचार गराउने रेफरल केन्द्रीय अस्पतालको रुपमा सेवारत छ ।

२०१३ सालमा स्थापित यस अस्पतालले २०७५ फागुनको मन्त्रिपरिषद् निर्णयबाट संघीय सरकार मातहत रहनेगरी ५०० बेडको विशिष्टीकृत सेवा दिन थालेको हो । यसको स्वामित्वमा साढे ३१ बिगाभन्दा बढी जमिन छ । तर, लालपुर्जा आफ्नो हातमा भए पनि अधिकांश जमिन भने अरुले नै ओगटेका छन् ।

चितवन मेडिकल कलेज र आँखा अस्पतालले सम्झौता गरेर जमिन उपभोग गरिरहे पनि टोल विकास संस्थादेखि विभिन्न सरकारी निकायले विनासम्झौता अस्पतालको करिब २० बिगा जमिन हडपेर बसेका छन् ।

विनासम्झौता अस्पतालको जमिन भोगचलन गर्नेमा सीटीईभीटी, ब्लड बैंक, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी र नहर टोल विकास संस्था रहेका छन् ।

२०७२ सालमा सरकारले लिज ऐन कार्यान्वयनमा ल्याएपछि सरकारी जमिन सरकार मातहतकै निकायले ऐनअनुसारबाहेक भोगचलन गर्नै नपाउने व्यवस्था छ । तर, भरतपुर अस्पतालको जमिन वर्षौंदेखि विनाइजाजत भोगचलन गर्नेलाई कुनै किसिमको कारबाही गरिएको छैन ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार सीटीईभीटीले अस्पतालकै कम्पाउण्डभित्र ५ बिगा जमिनमा आफूखुशी संरचना बनाइ हडपेर बसेको छ । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले दुई ठाउँमा घर बनाएर बसेको छ । नहर टोल विकास संस्थाले एक ठाउँमा टहरा बनाएर अस्पतालको जमिन जबरजस्ती भोगचलन गर्दै आएको छ ।

मेसु डा. पौडेलका अनुसार जनस्वास्थ्य कार्यालयले ४ कठ्ठा र ब्लड बैंक भरतपुरले उपभोग गरेको २ कठ्ठा १० धुर जमिनमा पनि कुनै लिखित सम्झौता छैन ।

२०४२ सालमा मन्त्रिपरिषद्बाट भोगचलन अधिकार लिएको आँखा अस्पताल भरतपुरले ४ बिगा ५ कठ्ठा जमिन उपभोग गरिरहेको छ । उसले अस्पताललाई कुनै भाडा तिर्दैन ।

२०५० सालमा सरकारसँग ४९ वर्ष सम्झौता गरेको मेडिकल कलेज चितवनले ९ बिगा जमिन भोगचलन गर्दै आएको छ । तर, सम्झौताअनुरुप भाडा बुझाएको छैन । मेसु डा. पौडेल भन्छन्, ‘अघिल्लो वर्षकै ४० लाख बढी नियमित भाडा तिरेको छैन ।’

आफू मातहतका जमिनको लिज ऐनअनुसार ल्याउन पटकपटक अस्पताललाई महालेखाको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले निर्देशन गर्दै आएका छन् ।

मेसु थप्छन्, ‘हामीले रोक्न खोज्दा नहर टोल विकास संस्थाले अघिल्लो वर्ष हुलहुज्जत गरी टहरा बनायो । अरुले त झनै अस्पतालले पटकपटक गरेको परिपत्रमा सधैं अटेर गर्दै आएका छन् ।’

अस्पतालका अध्यक्ष राजु पौडेल अस्पतालको गुरुयोजनाअनुसार शैक्षिक भवन, कर्मचारी आवास, प्रसूतिलगायतका भवन अपुग भएकाले थप गर्न आवश्यक भए पनि अस्पताल मातहतको जमिन अरुले जबरजस्ती उपभोग गरिरहेको कारण समस्या परेको बताउँछन् ।

अस्पतालमा चितवन र आसपासका गरी २६ जिल्लाका बिरामीले सेवा लिने अस्पतालको तथ्याङ्क छ । हाल ६०० शय्या क्षमतामा अस्पताल सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *