सफल ‘डिलमेकर’ बन्दै चीनः रुस-युक्रेन युद्धमा चिनियाँ शान्ति प्रस्ताव सफल होला ? – Nepal Press

सफल ‘डिलमेकर’ बन्दै चीनः रुस-युक्रेन युद्धमा चिनियाँ शान्ति प्रस्ताव सफल होला ?

काठमाडौं । एक हप्ता अगाडि फ्रान्सको सरकारी विश्व च्यानल फ्रान्स २४ ले साउदी अरबका पूर्वगुप्तचर प्रमुख तुर्की अल-फैसललाई प्रश्न गर्‍यो- केही अगाडिसम्म तपाईं इरानमा सत्ता परिवर्तन हुनुपर्छ । इरानलाई एक्ल्याउनुपर्छ भन्नुहुन्थ्यो । आज फरक बोल्दै हुनुहुन्छ ?

जवाफमा फैसलले भनेका थिए- अब दुई देशका सरकारहरु मिलिसकेपछि मैले व्यक्तिगत रुपमा भनेको कुराको कुनै अर्थ रहन्न ।

बेलायत र अमेरिकाको लागि राजदूत भइसकेका फैसलको धारणा जस्तै इरान र साउदी अरबका नागरिकको अहिले एक-अर्कालाई हेर्ने नजरिया फेरिएको छ । कटु दुश्मनी साँध्दै आएका सिया बाहुल्य इरानी गणतन्त्र र सुन्नी बाहुल्य साउदी राजतन्त्रको सम्बन्ध अहिले कूटनीतिक दुश्मनीबाट दोस्तीमा रुपान्तरण भएको छ । सन् २०१६ बाट दुवै देशले दूतावास तहको सम्बन्ध अन्त्य गरेका थिए । अहिले सात वर्षपछि दुई देशको सम्बन्धमा सुधार आएको छ । गत मार्च १० मा दुई देशले सार्वजनिक जानकारी दिएर आपसमा कूटनीतिक रुपमा जोडिने जानकारी दिएका थिए ।

गत शुक्रबार दुई देशको सम्बन्ध न्यानो तहमा पुगेको अर्को संकेत सार्वजनिक भयो । साउदी अरबका राजा सल्मान बिन अब्दुल्लाजिज अल साउदले इरानी राष्ट्रपति इब्राहिम राइसीलाई साउदी अरब भ्रमणको निम्तो दिएका छन् । विश्व मिडियाहरुका अनुसार निम्तो पाएपछि इरानी राष्ट्रपति राइसीले स्वागत गरेका छन् । यी सबै घटनाक्रम हेर्दा नाटकीय लाग्छन् । दश दिन अगाडि सम्म इरान र साउदी अरबको सम्बन्धलाई हेर्ने दृश्य दश दिन पछाडि व्यापक फेरबदल आएको छ । सिरियादेखि यमन हुँदै पश्चिम एसियासम्म खासगरी अरब विश्वमा दुई देशका फरकफरक विचारका कारण धेरै युद्ध भएका छन् । धेरै तनाव भएका छन् । पश्चिम एसियाका दुई महाशक्ति एकापसमा मिल्ने तहमा पुगेपछि त्यो अवस्थामा केही सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ ।

इरान र साउदीको कूटनीतिक दुश्मनीदेखि दोस्तीसम्मको यात्राको सारथि चीन भएको छ । चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले दुवै देशका कूटनीतिज्ञहरुलाई सँगै राखेर हात मिलाएको तस्बिर अहिले भाइरल भएको छ । इरान र साउदीले आफ्ना कूटनीतिक दस्तावेजमा पनि चीनको समन्वयलाई सम्बोधन गरेका छन् । चीनको समन्वयमा भएको यो इरान र साउदी समझदारी अहिलेसम्मकै सबैभन्दा प्रभावशाली समन्वय हो । यसले अरब दुनियाँमा चीनको नयाँ रुपको प्रवेशको रुपमा हेर्न थालिएको छ ।

हप्ता दिन अगाडि फ्रान्स २४ सँग कुरा गरेका साउदीका पूर्वकूटनीतिज्ञ तथा गुप्तचर प्रमुख फैसलले पनि इरान र साउदी दुवैसँग समान सम्बन्ध बनाएकाले चीन डिलमेकर बन्न सकेको तर्क गरेका छन् ।

अब इरान र साउदीको सम्बन्धले पश्चिम एसिया खासगरी अरब विश्वमा कतिको सकारात्मक प्रभाव पर्छ त्यो हेर्न बाँकी छ । तर, यो चाहिं प्रस्ट भएको छ कि चीनको प्रभाव भने त्यो क्षेत्रमा बढेको छ । अमेरिकी सैन्य शक्ति होस्ट गरेर बसेको साउदी अरबले आफ्नो तथा अमेरिकाको साझा दुश्मन मानेको इरानसँग चीनको समन्वयमा कूटनीतिक आत्मीयता बढाउनु एकातर्फ चीनको कूटनीतिक सफलता र अमेरिकाको कूटनीतिक असफलता हो भने अर्कोतर्फ साउदीले अमेरिकी लाइनको ‘एस म्यान’को ट्याग फुकाउनु पनि हो ।

म्यानमार र बंगलादेशको शरणार्थी समन्वयमा पनि चीनको नेतृत्व

सन् २०१७ को नोभेम्बर अन्तिम हप्तामा बंगलादेश र म्यानमारले एक सम्झौतामा हस्ताक्षर गरे । बेलायती अखबार दि गार्डियनका अनुसार सम्झौताबाट बंगलादेशमा आएका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई घर फिर्ताको बाटो तय गरिएको थियो । शरणार्थी घर फिर्ती प्रक्रियाको पछिल्लो चरणमा एक हप्ता अगाडि म्यानमारबाट अधिकारीहरु बंगलादेश आएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरुले शरणार्थीहरुसँग अन्तर्वार्ता गरेका थिए । यो सबै काममा पनि चीनको समन्वय भएको छ । शरणार्शीका मुद्दामा चीनको समन्वय महत्वपूर्ण भएको बंगलादेशका अधिकारीहरु विश्वस्त छन् । उनीहरुले चीनलाई समन्वय गर्न सार्वजनिक रुपमै पनि आग्रह गर्दै आएका छन् ।

पछिल्लो पटक चीनका तत्कालीन विदेशमन्त्री वाङ यी २०२२ अगस्टमा बंगलादेशको भ्रमणमा पुग्दा बंगलादेशी अधिकारीहरुले शरणार्थी मामिलामा चीनको सहयोग र समन्वय खोजेका थिए । दश लाखभन्दा बढी शरणार्थीहरु म्यानमारबाट बंगलादेशमा पुगेका छन् । त्यसको केही इच्छुक अंशलाई मात्रै स्वदेश फिर्ता गर्न सकिएमा त्यो कूटनीतिक मामिलाको एक भाग जस चीनलाई पनि जानेछ । चीन डिलमेकर भएकाले बंगलादेश र म्यानमारका शरणार्थी वार्ताहरु सहज भएका छन् ।

रुस-युक्रेन युद्ध समाधानमा चीनको समन्वय होला सफल ?

सन् २०२२ फेब्रुअरी २४ मा रुसी सेनाले युक्रेन पसेर युद्ध छेड्न सुरु गर्‍यो । युद्ध १३ महिना पुग्दा हजारौंको मृत्यु र लाखौं विस्थापित भएका छन् । युक्रेनले नेटो सदस्यता लिएर रुसी सिमानामा नेटो सैनिक राख्ने बहस छेडेपछि रुसले सैन्य कारबाहीको नाममा हमला सुरु गरेको थियो । युद्धरत युक्रेन र रुसबीच टर्कीले समन्वय गरेको अन्न निर्यातको सम्झौता भए पनि शान्ति स्थापनामा कुनै सम्झौता भएको छैन ।

सन् २०२२ जुलाई २२ मा अन्न निर्यातको सम्झौताको समन्वय गराउन टर्की सफल भएको थियो भने सेप्टेम्बर २१ मा युद्धबन्दीको साटफेरको सम्झौता गराउन सफलता पाएको थियो । टर्कीको यस्तो समन्वयबाट केही कदम अगाडि बढेर चीनले भने रुस-युक्रेनबीच शान्ति सम्झौताको प्रस्ताव अघि सारेको छ । त्यसको लागि पछिल्लो समयमा चीनले १२बुँदे शान्ति प्रस्ताव सार्वजनिक गरेको छ ।

युक्रेन युद्धको वर्षगाँठ पुगेको समयमा चिनियाँ विश्व च्यानल सीजीटीएनले सार्वजनिक गरेको चिनियाँ १२बुँदे शान्ति प्रस्तावका मूलभूत बुँदा यस्ता छन्ः

१) सबै देशको सार्वभौमसत्ताको सम्मान
२) शितयुद्धकालीन मानसिकताको अन्त्य
३) दुश्मनीको अन्त्य
४) शान्ति वार्ताको पुनः थालनी
५) मानवीय संकटको समाधान
६) नागरिक र युद्ध बन्दीको संरक्षण
७) आणविक भट्टीहरुको सुरक्षा
८) रणनीतिक जोखिमको अन्त्य
९) अन्य निर्यातको समन्वय
१०) एकतर्फी प्रतिबन्धहरुको अन्त्य
११) औद्योगिक र निर्यात प्रक्रियाको स्थिरता
१२) द्वन्द्वपछिको पुनर्निर्माणको प्रवर्द्धन

आइतबार तीन दिने राजकीय भ्रमणमा रुस पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई आइतबारै अनौपचारिक कुराकानीमा भेटे । मंगलबार दुई विश्व नेताबीचमा महत्वपूर्ण छलफल हुने चिनियाँ र रुसी मिडियाहरुले उल्लेख गरेका छन् । सीको भ्रमणमा दुई देशबीचको व्यापार, कूटनीतिक तथा रणनीतिक सम्बन्धका साथै युक्रेन युद्धका बारेमा पनि छलफल हुनेछ । ग्लोबल टाइम्स, सीजीटीएन जस्ता चिनियाँ मिडियाहरुले सीको भ्रमणले युक्रेन शान्ति प्रक्रियाको लागि छलफल गर्ने बताएका छन् भने आरटी जस्ता रुसी सरकारी मिडियाले भने अमेरिकी विश्व व्यवस्थालाई कमजोर बनाउन दुई देशले केही रणनीतिक कदम चाल्न सक्ने तर्क गर्दै आएका छन् ।

इरान र साउदी अरबको कूटनीतिक समन्वयदेखि बंगलादेश र म्यानमारको शरणार्थी वार्तासम्ममा पाएको सफलता जस्तै रुस र युक्रेन शान्ति मिसनमा चीनले सफलता पाउँछ वा पाउँदैन ? अहिल्यै किटान गरेर भन्न सकिन्न । यति चाहिं भन्न सकिन्छ, चीनले आफूलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा आफूलाई व्यापारिक डिलमेकरमा मात्रै सीमित नगरेर पछिल्लो समयमा कूटनीतिक डिलमेकरको पहिचान बनाउन थालेको छ । उसको कूटनीतिक डिलमेकर परिचयले केही प्रारम्भिक सफलता पाएकोे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *