सत्ताको झेलमा रविले खेलेको बाध्यात्मक खेल – Nepal Press

सत्ताको झेलमा रविले खेलेको बाध्यात्मक खेल

राजनीतिको फोहोर सफा गर्ने नारासहित वैकल्पिक राजनीतिक धार बोकेर आएको विवेकशील साझा अभियानले दलको आकार नलिँदै लगभग विघटनमा गयो । यसबीचमा बाबुराम भट्टराईदेखि सीके राउत र रेशम चौधरीदेखि रवि लामिछानेसम्मले पनि वैकल्पिक राजनीतिक धारकै वकालत गरे ।

तीमध्ये सबैभन्दा सफल भएकै कारण आज रवि लामिछाने परम्परागत राजनीतिक दल, तीनका साइबर लडाकु तथा एनजिओ आईएनजिओ र विदेशी दाताहरूले पत्याएका लेखक/बुद्धिजिवी/नागरिक अगुवा (जो निर्णायक बेलामामात्र कांग्रेसका रुपमा चिनिन्छन्) हरूको आक्रमणको तारो बनेका छन् ।

उसैपनि नेपालको राजनीतिक र मिडिया क्षेत्रको एलिट वर्ग रवि लामिछानेलाई हिजो पत्रकार मान्दैन थियो, आज देशको प्रमुख राजनीतिक शक्ति मान्न सकिरहेको छैन । त्यसमाथि उनले यो वर्गका अगुवाहरूमाथि केही समयअघि सामूहिक धावा बोलेकाले पनि उनीहरू सरकारी वकिलले मुद्दा नचलाउने भनेर गरेको निर्णयमा समेत रविको दोष देखिरहेका छन् ।

‘राजनीतिरूपी पोखरी औधी फोहोर भयो । पुरानाले सफा गर्नु त कता-कता, झनै फोहोर थपे । म इमानका साथ हिलोमै पसेर सफा गर्छु’ भन्दै फोहोर भनिएको राजनीतिक पोखरीमा छिर्ने पछिल्लो पात्र हुन्- रवि लामिछाने।

प्रधानमन्त्रीको प्रस्ताव लिएर आएका रविलाई ओलीले आफू सकारात्मक रहेको भन्दै खुमलटार जान चाहिँ सुझाए । रवि ओलीको सन्देशसहित खुमलटार पुगेपछि राजनीतिले बाटो मोड्यो । र, अन्तिममा प्रचण्ड बालकोटको बार्दलीमा झुल्किए । उनको नेतृत्वमा सरकार बन्यो ।

तात्तातो टेलिभिजन सेलिब्रेटीको पृष्ठभूमिका कारण राजनीतिमा उनले छोटो समयमै आश्चर्यजनक फड्को पनि मारे ।

टेलिभिजनका पर्दामा हालीमुहाली रहुञ्जेल राजनीतिक नेतृत्वको अधिक बद्ख्वाँई गर्ने पात्र हुन् रवि । तिनले राजनीति र नेतृत्वको आलोचना कम निन्दा बढि गरे । अर्थात्, त्यसबेला पनि टेलिभिजनका पर्दामा पत्रकारिता कम, राजनीति बढी गर्थे उनी ।

राजनीतिक नेतृत्वको चर्को आलोचना गर्नेलाई समाजले असाध्यै रुचाउने पछिल्लो ड्रेण्ड छ । र, त्यही ड्रेण्डले उनलाई क्रमशः ‘भगवान्’ बनाउँदै लग्यो।

मर्त्य लोकमा त्यो पनि ‘भगवान्’ असफल हुने कल्पनै नगरी रवि लहैलहैमा फोहोर सफा गर्न राजनीतिको हिले पोखरीमा हामफाले ।

रविले राजनीतिको फोहोर सफा गर्लान्/नगर्लान् ! उनी आफैं फोहोरी भएर निस्कने हुन् कि भन्ने भयले सताउन थालेको छ उनका ‘फ्यान’ र वैकल्पिक राजनीतिक अभियान सफल होस् भनेर कामना गर्नेलाई ।

किनकि, रविले राजनीति होइन राजनीतिले रविलाई फन्फनी घुमाउन थालेको छ ।

०००

भर्खर अमेरिकाबाट फर्केको अझ ‘ट्रयाक-रेकर्ड’ पनि गतिलो नभएको रविलाई केपी ओलीले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ बाट उद्धार गरिदिएका थिए । रवि नेतृत्वको दललाई सुरूमा धेरैले बालकोटको ‘स्याट्लाइट’ भनेर चित्रित पनि गरे ।

आफू नेतृत्वको दल २० सीटसहित चौथो शक्तिका रूपमा उदाएपछि रविले सहयोग गर्ने र जुटाउन सक्रिय पनि हुने भन्दै केपी ओलीलाई प्रधानमन्त्री ‘अफर’ गरे । रविको भनाइ थियो- ‘तपाईंसँग काम गरेर देशका लागि केही गर्ने हुटहुटी छ, प्रयास गरौं ।’

आफैंले ‘प्रतिगामी’ करार गरेका ओलीलाई कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीका साथ दिने सम्भावना नै थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै सहयोगले ओली प्रधानमन्त्री बन्ने पनि थिएनन् ।

त्यसैले होला, प्रधानमन्त्रीको प्रस्ताव लिएर आएका रविलाई ओलीले आफू सकारात्मक रहेको भन्दै खुमलटार जान चाहिँ सुझाए । रवि ओलीको सन्देशसहित खुमलटार पुगेपछि राजनीतिले बाटो मोड्यो । र, अन्तिममा प्रचण्ड बालकोटको बार्दलीमा झुल्किए । उनको नेतृत्वमा सरकार बन्यो ।

त्यसबेला ओली र दाहालको सम्बन्ध जोड्न रविले राम्रै भूमिका निर्वाह गरे । त्यही कारण नाइनास्ती नगरी दुवै नेताले उपप्रधानसहित गृहमन्त्रीको ‘पुरस्कार’ नै दिए ।नागरिकता विवादले सांसद पद नै गयो । कानूनतः त्यो जानु नै थियो ।

बाँचे देखिने हो सांसार! राजनीतिमा रहिरहे अहिलेको आलोचना अर्को सत्कर्मले मेटौंला भन्ने सोचेरै होला रविले प्राण रक्षाको बाटो रोजे । जे भएर जुन बाटो रोजे पनि गन्हाउन चाहिँ रवि गन्हाएका छन् । कमलको फूल टिप्न जाँदा फोहोरमा डुब्नैपर्छ र डुबेपछि गन्हाउँछ । रविले सायद यो फोहोर पखाल्नेछन् आफ्नै सत्कर्म ।

रविले कानून थाहा नभएर होइन, आफूलाई सर्वेसर्वा ठानेर, राज्यलाई हेपेर नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरू गरेका थिएनन् । उनी ‘राज्यले खोज्नु पर्‍यो नि, म आफैं जाने हो’ भन्थे रे ! पछि राज्यले खोजेन, कानूनले चाहिँ उनको सांसद पद नै खोस्यो ।

पद गएपछि राजनीतिको फोहोर सफा गर्न पोखरीको मध्यभाग पुगेका रवि छेउमा धकेलिए । जब मान्छे छेउ पर्छ, कसले पुस्छ ? रविलाई पनि भयो त्यस्तै । ६ महिनामा सांसद भएर फर्किन्छु फेरि गृहमन्त्री दिनुस् भनेर जति आग्रह गरेपनि प्रचण्डले भाउ दिएनन् । प्रधानमन्त्री नै भइसकेपछि प्रचण्डका लागि रविको उपादेयता आवश्यक पनि थिएन । हुन्थ्यो त रविलाई नदिए पनि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन्थे ।

गृहमन्त्रालयका लागि किचकिच परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने भयो । त्यसैबेला प्रधानमन्त्रीले ‘राहदानीमा देख्लास्’ भनेर धम्क्याए रे । त्यही धम्क्याइका कारण रविकै बलमा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन कायमै राखेर सरकार छोड्ने निर्णय गर्‍यो ।

त्यसयता रवि नेतृत्वको पार्टीका सबै निर्णय सत्ताको खातिरदारीमा केन्द्रित छन् । नहोस् पनि किन, राहदानीको ‘तरबार’ उज्याइरहेका थिए प्रधानमन्त्री प्रचण्ड । रविले सत्तासँग पौँठेजोरी खोज्दा सधैँका लागि राजनीतिबाट बाहिरिने खतरा थियो, किनकी सतरन्जको खेलमा उनी पछि नै थिए ।

जब रविले प्रचण्डलाई सर्वस्व सुम्पिए फटाफट आयो ‘क्लिन चिट’। जुन पाउन रविले पूर्वप्रतिबद्धता छोड्नु पर्‍यो । राजनीतिबाट सधैँका लागि हात धुनुभन्दा जाबो प्रतिबद्धता कौनसा ठूलो हो र?

बाँचे देखिने हो सांसार! राजनीतिमा रहिरहे अहिलेको आलोचना अर्को सत्कर्मले मेटौंला भन्ने सोचेरै होला रविले प्राण रक्षाको बाटो रोजे । जे भएर जुन बाटो रोजे पनि गन्हाउन चाहिँ रवि गन्हाएका छन् । कमलको फूल टिप्न जाँदा फोहोरमा डुब्नैपर्छ र डुबेपछि गन्हाउँछ । रविले सायद यो फोहोर पखाल्नेछन् आफ्नै सत्कर्म ।

०००

राहदानी ऐनको दफा २१ (क) भन्छ- झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिने प्रयत्न गरे कसूर मानिन्छ । र, दफा २२ ले सो कसुरका लागि दुईदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै हुने व्यवस्था गरेको छ ।

सार्वजनिक भएका विवरण, कागजात र रविकै भनाईअनुसार पनि रविले सन् २०१४ को मार्चमा अमेरिकी पासपोर्ट लिएका हुन् । र, अमेरिकी पासपोर्ट बहाल रहँदै सन् २०१५ मा नेपाली नागरिक भनेर नेपालको पासपोर्ट । तर, सन् २०१७ अक्टोवर ४ मा अध्यागमन विभागमा रविले बुझाएको व्यक्तिगत विवरणमा चाहिँ राष्ट्रियता अमेरिका लेखिएको दाबी छ ।

अमेरिकाको पासपोर्ट हुँदा-हुँदै रविले झूटो विवरण पेश गरेर नेपाली पासपोर्ट लिए । यस आधारमा उनीविरुद्ध राहादानी ऐनको दफा २१ (क) अनुसार मुद्दा चल्नै पर्ने हो । तर, महान्यायाधिवक्ता कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन र तल्ला निकायको राय भन्दै फाइल नै बन्द गरिदियो त्यो पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिनमै । महान्यायाधिवक्ताले रविविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुले अब रवि पनि सतरन्जको खेलमा विस्तारै फर्म लिँदैछन् ।

‘लेनदेन’ का लागि बाध्य पारिएकै कारण हुन सक्छ रवि नेतृत्वको पार्टीले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा प्रचण्डको कित्ता छोड्न सकेन । उपराष्ट्रपति नै चाहिँदैन भन्ने आफ्नै वाचापत्र बिर्सिएर गठबन्धनकै उम्मेदवारलाई भोट दियो ।

राज्यले अनुसन्धान गर्‍यो । प्रमाण संकलन गर्‍ यो। मुद्दा चलाउन गर्नुपर्ने सबै थोक गरेपछि मुद्दा चाहिँ नचलाउने निर्णय गर्‍ यो। नैतिक र कानूनी कठघरामा सरकार त सरकार पो उभिनु पर्ने होइन ? एकहोरो रविलाई धारेहात लगाएर विश्वासको मतसँग मुद्दा साट्ने सरकारको नेतृत्वलाई चाहिँ सुनपानी छर्किने ?

पुस १० गते बालकोटमा प्रचण्डले नै एमालेलाई राष्ट्रपति दिने सहमति गर्दा सँगै रहेका रविले पछि त्यो सन्दर्भ सार्वजनिकरूपमा भन्न पनि सकेनन् । पहिला पुस १० को सहमतिसमेत विचार गरेर राष्ट्रपतिमा मत दिन्छौं’ उनको दलले अन्तिम घडीमा प्रचण्डकै कित्ता रोज्यो ।

धेरैको आशंका छ रविले विश्वासको मतको बदलामा आफ्नो राहदानी विवाद राफसाफ गरे । ‘होइन’ भनेर तामा-तुलसी छोएर जति नै कसम खाए पनि रवि राहदानी प्रकरण सल्ट्याउने मामिलामा सौदाबाजी गर्न बाध्य भए/पारियो । अर्थात्, रविले सत्ताको भट्टीमा आफूलाई स्पातिलो बनाए, जुनको लागि रहरभन्दा बाध्यता थियो ।

रविलाई तत्काल राहत त भएको छ । तर, राहादानीरूपी ‘तरवार’उनको घाँटीबाट हटिसकेको छैन । महान्यायाधिवक्ताले अख्तियारको दुरुपयोग गरे भन्ने उजुरी टंगालमा परिसकेको छ । यता, प्रहरी, सरकारी वकिल र महान्यायाधिवक्ताले गरेको निर्णय पनि न्यायिक होइन । त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत जाने बाटो खुलै छ । रिट परेर अदालतले मुद्दा दर्ता गर्न भन्यो भने सत्ता र रविबीच भएको ठानिएको ‘सौदाबाजी’को म्याद सकिनेछ ।

स्वार्थको माध्यम बनाएर, बाध्य पारेर एउटा आशलाग्दो व्यक्तिको ‘करिअर ड्यामेज’ गर्नु सत्ताको चरित्रै हो । रवि यस्तो खेल मैदानमा थिए उनले फेयरप्लेमात्र गर्दा पारंगत खेलाडीहरूले सधैँका लागि खेल मैदानबाट अयोग्य घोषित गरेर प्रतिबन्ध लगाइदिन सक्थे । त्यसैले रविले बाँच र बचाऊ भन्ने नेपालीको छातीमा लेखिएको भनिने कुरालाई व्यवहारमा लागू गरे । आफू राजनीतिको रंगमञ्चमा रहिरहेमात्र खेल्न सकिन्छ भन्ने भएरै उनले अलिकति सौदाबाजी,अलिकति सम्झौता अनि अलिकति हतार गरेकै हुन् ।

०००

राजनीतिमा, अझ नेपालको राजनीतिमा-नेताहरूको कथनी र करनी फरक हुनु खासै ठूलो सन्दर्भ होइन । रविले हिजो जे भनेका थिए, आज त्यहीँ चुके। सँगै उनका प्रशंसक घटेका छन् । सायद, चितवन-२ मा मत पनि घट्ला । त्यही आंकलनले पनि हुन सक्छ उनी उप-निर्वाचनमा सकेसम्म सत्तारुढ गठबन्धनकै एकल उम्मेदवार हुन पाए हुन्थ्यो भनेर दौडधुप गरिरहेका छन् रे । चुनाव त उनले जितिहाल्छन् । तर, मत माग्न जाँदा अघिल्लो पटकको जस्तो नैतिक साहस उनले गुमाएका छन्, त्यसलाई उनले चिर्न पर्नेछ ।

चरम महत्वकांक्षा र ‘डेलिभरी’ को आकांक्षाले रविले आफू नेतृत्वको दललाई जनादेश विपरितको बाटो हिंडाए । एक सशक्तविपक्षीको रूपमा रचनात्मक खबरदारी गर्नु उनी र रास्पवाको जिम्मेवारी थियो । तर, सत्ता र शक्तिको लालचाले गलत बाटो समातेपछि त्यही बाटोको कुइनेटामा राजनीतिका सदाबहार खेलाडीले यसरी अँठ्याए कि रविले चाइँचुइँको मौकासमेत पाएनन् ।

रविलाई बिटुल्याएर ‘नयाँ पनि उस्तै हुन्’ भनेर सिद्ध गराउने पुराना पात्रको उद्देश्य एक हदसम्म पूरा भएको छ । बाँकी पूरा हुन दिने नदिने रवि जो आफैं जानून् ।

रविलाई जे-जे बाध्यता आइलागे पनि तत्कालका लागि उनको खेल्ने मैदान खोसिएन । किनकि, सौदाबाजी नगरेको भए सत्ताले राहदानी प्रकरणमा कहिल्यै पनि खेल्न नपाउने गरी रविलाई ‘रेडकार्ड’ सहित मैदानबाटै घोक्रेठ्याक लगाउने थियो । सम्झौता नै गरेर भएपनि रविले आफू र उदाउँदै गरेको पार्टीलाई जोगाएका छन् ।

लौ, रविले त लेनदेन गरेरै राहदानी प्रकरण राफसाफ गरे रे । मुद्दा खेप्नु पर्ने निश्चित भएको व्यक्तिले त्यसबाट छुटकारा पाउन संभव भएको सबै प्रयत्न गर्छ । भक्तिभाव गर्छ । मोलमोलाइ गर्छ । शरण पर्छ । गर्नु पर्ने-नपर्ने सबै-सबै गर्छ । यो मानवीय प्रवृत्ति हो । मान्छे नै भएका कारण रविमा यो प्रवृत्ति छैन कसरी भन्ने ।

सबै प्रत्यन गरेका कारण रवि दोषी भए रे । अनि, रविको स्वार्थ वा प्रभावमा पर्ने अर्को पक्ष चाहिँ ? यहाँ सीधै प्रधानमन्त्री प्रचण्ड भन्दा पनि सरकार भनौं न !

राज्यले अनुसन्धान गर्‍यो । प्रमाण संकलन गर्‍ यो। मुद्दा चलाउन गर्नुपर्ने सबै थोक गरेपछि मुद्दा चाहिँ नचलाउने निर्णय गर्‍ यो। नैतिक र कानूनी कठघरामा सरकार त सरकार पो उभिनु पर्ने होइन ? एकहोरो रविलाई धारेहात लगाएर विश्वासको मतसँग मुद्दा साट्ने सरकारको नेतृत्वलाई चाहिँ सुनपानी छर्किने ?

महान्यायाधिवक्ताको मुद्दा नचलाउने निर्णयमा रविको चलखेलभन्दा प्रचण्डको बदनियत प्रधान हो ।

रविकै महामन्त्री मुकुल ढकालले टीकाराम यात्रीसँगको सम्वादमा गम्भीर हुँदै भनेका छन्- ‘यहाँ लोकतन्त्र नै छैन । समर्थन गर्दिन भन्न पनि पाइँदैन, बाध्यता आइलाग्छ ।’

ढकालले केही महिनाको राजनीतिक अनुभवकै आधारमा भनेका होलान् । र, उनले भनेजस्तै रविलाई जे-जे बाध्यता आइलागे पनि तत्कालका लागि उनको खेल्ने मैदान खोसिएन । किनकि, सौदाबाजी नगरेको भए सत्ताले राहदानी प्रकरणमा कहिल्यै पनि खेल्न नपाउने गरी रविलाई ‘रेडकार्ड’ सहित मैदानबाटै घोक्रेठ्याक लगाउने थियो । सम्झौता नै गरेर भएपनि रविले आफू र उदाउँदै गरेको पार्टीलाई जोगाएका छन् ।

राजनीति, युद्ध र प्रेममा जे पनि जायज हुन्छ भन्ने कहावतलाई सिरानीमा राखेर रविको कदमलाई सही साबित गर्न सकिन्छ । राजनीतिमा टिक्न र बिक्न सम्झौता नगर्ने को छ र ?

अब, रविका प्रशंसकले यही भनेर चित्त बुझाउने त होला !


प्रतिक्रिया

One thought on “सत्ताको झेलमा रविले खेलेको बाध्यात्मक खेल

  1. विसय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो ल्वाङछरोको लेख मलाई मन पर्न थाल्यो तर व्यक्तिगत रूपमा म चिन्दिन तर यो मान्छे को हो भनेर जान्ने इच्छा चाहिँ छ है !

Leave a Reply

Your email address will not be published. Required fields are marked *