आदिवासीलाई सम्बोधन गर्न अष्ट्रेलियामा जनमत संग्रह हुने
काठमाडौ । अष्ट्रेलियाले आफ्नो देशका आदिवासीलाई सम्बोधन गर्न जनमत संग्रह तयारी गरेको छ । कतारी विश्व च्यानल अलजजिराका अनुसार सन् २०२३ को अक्टोबर र डिसेम्बरको बीचमा जनमत संग्रह हुनेछ ।
अष्ट्रेलियाका वाम ढल्कुवा दल लेबर पार्टीका प्रधानमन्त्री एन्थोनी एम्बानेसले जनमत संग्रहको घोषणा गरेका हुन् । ६५ हजार वर्षबाट अष्ट्रेलियामा बसोबास गरेको इतिहास भए पनि १२२ वर्ष पुरानो अस्ट्रेलियाको संविधानमा त्यहाँका ३.८ प्रतिशत आदिवासी (एबोरोजिनल)लाई सम्बोधन र सम्मान नभएको भन्दै जनमत संग्रहको घोषणा गरिएको छ ।
प्रधानमन्त्री एल्बानेसले अरु अष्ट्रेलियालीभन्दा आदिवासीको सरदर आयुमा १० वर्ष कम भएको, आत्महत्यादर दोब्बर भएको, बाल मृत्युदर र रोगको समस्या ज्यादै भएको भन्दै भावुक सम्बोधन गरेर जनमत संग्रहको घोषणा गरेका हुन् ।
उनले जनमत संग्रहका बारेमा बोल्दै प्रश्न गरेका छन्, ‘अहिले नभए कहिले ?’