आईजीपीसहित ९ जना उच्च प्रहरी अधिकारी शनिबारदेखि अनिवार्य अवकाशमा


काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकारी शनिबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्दैछ ।
४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीलाई बिदाइ कार्यक्रम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको ब्याचका ९ जना अवकाशमा जान लागेका हुन् । अनिवार्य अवकाश जानेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी रहेका छन् ।
३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ रहेका छन् । थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, सुवेदी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख र लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा छन् ।
डीआईजीपी उपाध्याय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, आचार्य, सीआईबीमा, खा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत छन् ।
२०४९ चैत ११ मा सेवा प्रवेश गरेका दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे रहेका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा जान लागका हुन् । पाण्डे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र पञ्चियार नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत रहेका छन् ।