वनमा डढेलो कि मनमा !
सरकाले चैत्र १ देखि ७ गतेसम्मलाई वन डढेलो सचेतना सप्ताहका रुपमा मनाउँदै आएको छ । वर्षेनी वनमा डढेलो लाग्दा वन,वातावरण र जैविक विविधतामा अनेकौं समस्याहरु थुप्रिन्छन् । भौतिकमात्र होइन मानवीय क्षति समेत हुने गर्छ ।
वन डढेलोकै कारण वनका पशुपंक्षीहरु डढेर नाश हुन्छन् । बहुमूल्य जडीबुटीहरु खरानी बन्छन् । वनस्पतिहरु जलेर राश लाग्छन् । किटपतंगको सर्वनाश हुन्छ । जसको कारण वातावरणीय असन्तुलन देखापर्न सक्छ ।
वर्षेनी हाम्रा वनजंगलहरुमा डढेलो कुनै न कुनै कारणले लाग्दै आएको पाइन्छ । खासगरी वन डढेलोको मुख्य कारण मानवीय हेलचक्राइ तथा असावधानी नै हो । प्राकृतिक कारणले कहिलेकाँही वन डढेलो लागेको नपाइने होइन तर वन विनाशका कारण त्यस्तो समस्या यतिबेला देखिन छाडेको छ । वनको घनत्वका कारण ठूल्ठूला चट्याङ्ग पर्दा वनमा डढेलो लाग्ने गरेको कितावमा पढ्न पाइन्छ ।
आज यस्तो कारण कितावी ज्ञानमात्र भएका छन् । कहिलेकाँही जंगलहुँदै बस्तीमा लगिएका बिजुलीका नाङ्गा तारहरु जोल्ठिएर डढेलो लाग्ने गरेको भेटिन्छ । चोरीनिकासी गर्ने क्रममा पक्राउ पर्ने डरका कारणले काठ तस्कारहरुले जंगलमा काठको प्रमाण नाश गर्न डढेलो लगाउने गरेको भेटिन्छ ।
मानवीय कारणले नै हाम्रा वनजंगलहरुमा डढेलो लाग्ने र वन विनाश हुँदैछ । घाँस पलाउन हाल्न होस् वा वर्षायाममा किर्ना वा भुसुनाबाट जोगिन वनमा डढेलो लगाउने चलन नयाँ होइन । त्यतिमात्र होइन, वनजंगली जनावरहरुलाई गाउँबस्तीमा पस्न नदिन वा सर्प लगायतका सरिसृपबाट जोगिन पनि वनमा डढेलो लगाउने चलन चलकै छ । भुड्की च्याउ लगायतका च्याउहरु फलाउने कुविचारको परिणाम नै वनमा डढेलो लगाउने गरेको पाइन्छ ।
बहुमूल्य वा लोपोन्मुख वनस्पति तथा जडीबुटीहरु डढेलोको कारण खरानीका राश बनेका छन् । ती बनस्पति र जडीबुटीहरु पुनः यस पृथ्वीमा नभेटिन सक्छन् । त्यसका निम्ति हामीले यतिबेला जोगाउनु पर्ने दायित्वलाई भुल्नु हुँदैन । क्षणिक लाभका कारण वन संरक्षणप्रतिको मोह भंग हुन सक्छ । वनको सुन्दरता नै वनस्पति,जडीबुटी र पशुपंक्षीहरु हुन् तर तिनीहरु डढेलोका कारण सखाप भएमा हाम्रो वन कुरुपतामा परिणत हुने छ । त्यसैले पनि हामीले हाम्रो वनजंगलमा डढेलो लाग्न दिनुहुँदैन ।
डढेलो लगाउनेहरुलाई नलगाउन सचेत गर्नुपर्छ । त्यसैले पनि सरकारले वन डढेलो सचेतना सप्ताहका मनाउन थालेको हुनुपर्छ । आम उपभोक्ताहरुलाई आफ्नो वनको संरक्षणका लागि सचेतनामुखी अभियानका माध्यमबाट सचेतकीकरण गर्नुपर्छ । समृद्धिका लागि वन,सबैका लागि वन भन्ने नारालाई साकार बनाउन समेत वनमा डढेलो पस्न दिनुहुँदैन ।
हाम्रा वनजंगलमा रहेका बाघ,हात्ती,जरायो,मयुर ,गैंडा लगायतका पशुपंक्षीहरु हेर्नका लागिमात्र वर्षेनी लाखौंका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्रिएका छन् । पर्यटकहरु आउँदा हाम्रा चमेनागृह चलेका छन् । होटल,लज,रिसोर्टहरु सञ्चालनमा आएका छन् । जसका कारण लाखौंले रोजगार एवम् स्वरोजगार पाएका छन् । आफ्नै देशमा गरिखाने बाटाहरु फराकिला भएका छन् ।
पर्यापर्यटनका कारण होमस्टेहरु सञ्चालनमा आएका छन् । होमस्टेहरुमा पाक्ने रैथाने परिकारहरुले पर्यटकहरुका पेट भर्नेमात्र होइन,मुखै रसाउने गराएका छन् । स्थानीय सांस्कृतिक कार्यक्रमहरु फस्टाउने अवसर मिलेको छ । पर्यटकहरुले आँखामा नेपाली कलासंस्कृतिलाई सजाउने अवसर पाएका छन् । आम्दानी बढेको छ । वनमा डढेलो लाग्दा पर्यापर्यटनको अवस्था अकल्पनीय हुनेछ । जुन क्षतिले हामीलाई जुगजुगसम्म हानी गर्नेछ ।
वनमा लाग्ने डढेलोको कारण वनमा रहेका माटाहरु पाक्ने छन् । जसका कारण वर्खामा आउने अतिवृष्टिले पाकेको माटो सजिलै बगाएर लैजान्छ । त्यसले भू–क्षय हुनेछ । गाउँबस्तीहरु बगेर जान सक्नेछन् । गोठहरु बग्नुका साथै गाईबस्तुहरु मर्न सक्नेछन् । मानिसका घरहरु पहिरोले क्षति पुग्ने छ । नेपालको माटोले बंगालको खाडीमा पहाड बनेको वर्षौ भयो । वनमा डढेलो लाग्दै जाने हो भने यसको गतिमा कुनै कमी आउने देखिदैन । वनमा डढेलो लगाउन हुँदैन भन्ने कुरा पहिला मनमा साँच्नु पर्दोरहेछ ।
हेर्दा सामान्य डढेलो जस्तो लागेता पनि यसका दुष्परिणाम अनगिन्ति छन् । डढेलो निभाउन गएका नेपाली सेनाहरु आगोमा डढेर शाहदत्त प्राप्त गरेको कुरा हामीले नसुनेका कहाँ हौ र ? यसैका कारण हाम्रा उपभोक्ताहरु घाइते भएका,अंगभंग भएका र मृत्युवरण गरेका कुरा सुनेका छौं । यसका पीडाहरु हामीले भोग्न बाध्य छौं । त्यसैले आजैदेखि वनमा डढेलो लाग्न नदिन वा लागि हालेमा निभाउनका निम्ति सबै सचेत हौऔं ।
वन डढेलो सचेतना सप्ताहमा मात्र होइन,सदैव वनप्रतिको दायित्व निर्वाह गरौं । वनको समुचित प्रयोगका निम्ति पनि वन जोगाउनु पर्ने छ । वनमा डढेलो लागेमा हामीले हाम्रो वनको सही सदुपयोग गर्न सक्ने छैनौं । वन डढेलोको कारण धूँवा निस्किदा मानव स्वास्थ्यमा पार्ने असर हामीले भुलेका छैनौं ।
त्यसैले हूरीबतास लाग्ने बेलामा वनजंगलमा पिकनिक खाने छैनौं । प्रज्ज्वलनशील बस्तु वा सलाई,लाइटर लिएर वनमा पस्ने छैनौं । क्षणिक लाभका पछि दौडेर वनमा आगो झोस्ने छैनौं । वन हामीलाईमात्र होइन,हाम्रा पछिल्ला पुस्तालाई हस्तानान्तरण गर्नुपर्ने कुरालाई हामीले बिर्सिने छैनौं । वनमा डढेलो लगाउनेहरुलाई वन ऐन अनुसार कार्वाही र दण्डसजायँ हुन्छ भन्ने कुरा भुलेका छैनौं ।
वनमा डढेलो लगाउनेलाई कार्वाही भन्दा पनि आफ्ना सामुदायिकलाई डढेलोबाट जोगाउने उपभोक्ताहरुलाई पुरस्कृत गर्ने संस्कार र सभ्यताको विकास गरौं ।
atyantai ramro lekh