दिलकुमारीका दुःख : उमेर ६४ पुग्यो नागरिकता छैन, सिजनका फलफूल बचेर गुजारा
सुर्खेत । बिहानको झिसमिसे उज्यालो । भालेको डाँकोमा उठेर आफ्नो दैनिकी सुरु गर्छिन् दिलकुमारी भण्डारी । वीरेन्द्रनगर ७ बस्दै आएकी भण्डारी काममा जाने हतारमा बिहानै उठेर घरधन्दा सकाउँछिन् । घरको काम सकिएपछि खाना खाएर आफ्नो काममा होमियो । दैनिक जस्तो डोकोमा केही फलफूल, भुइँमा बिछाउनका लागि चाहिने केही, पिफर्ममा टुक्रा बोकेर आफ्नो बाटो लाग्छिन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भूकम्प मापन केन्द्रको पर्खालको आडैमा उनको दैनिकी बित्छ ।
यहाँ बसेर उनले व्यापार गर्न थालेको पनि २९ वर्ष भयो । यहाँ उनी सिजन अनुसारका फलफूल काँक्रा, अम्बा, बदाम बेचेर आफ्नो गुजारा गर्दै आएकी छन् ।
‘व्यापार गरेर घरको गुजारा त अहिलेसम्म चलेकै छ’ उनी भन्छिन् । व्यापारबाट कहिले दुई सय, कहिले १ हजारसम्म दैनिक आम्दानी हुने गरेको छ ।
उनी भन्छिन्, ‘यहीँ व्यापारबाट सानोतिनो घर बनाएकी छु । दुई कोठाको जस्तापाता लगाएर घाम लाग्दा छेक्ने र पानी पर्दा ओत लाग्ने छ । उनको घरमा एउटा छोरा, बुहारी र नाति छन् ।’
जसोतसो दुःख गरेर उनले घर त बनाइन् तर नागरिकता नहुँदा आफ्नो नाममा छैन । ‘दिन रात नभनेर केही रुपैयाँ जम्मा गरेर ३ वर्ष पहिला ४ लाखमा घडेरी किने ३ लाख लगानी गरेर घर बनाए । तर, कहिले के हुने हो थाहा छैन’, उनी भन्छिन् ।
बुवा आमाले ९ वर्षको उमेरमा नै विवाह गरेर पठाएका थिए । तर उमेर पुग्दा पनि श्रीमानले नागरिकता बनाइदिएनन् । नत उनलाई नै नागरिकता बनाउनुपर्छ चाहिन्छ भन्ने ज्ञान थियो । जब अहिले नागरिकताको आवश्यकता पर्यो श्रीमान् साथमा छैनन् । सङ्कटकालमा नै उनका श्रीमान् अर्को विवाह गरेर बेपत्ता भए ।
उनी भन्छिन्, ‘एक छोरा र छोरी जन्मिदा पनि श्रीमानले नागरिकता बनाइदिनु भएन । सङ्कटकालमा श्रीमानले केटी भगाएर गए । यता हामी घर न घाटको भयौँ ।’
आफूले नागरिकता नहुँदा धेरै दुःख पाएको उल्लेख गर्दै उनले छोरा २१ वर्षको हुँदा पनि नागरिकता बनाउन नसकिएको बताउँछिन् ।
भण्डारी रुँदै भन्छिन्, ‘वडामा धाए तर वडा अध्यक्षले तपाईँलाई कसको आधारमा सिफारिस दिने ? भनेर प्रश्न गर्छन् भन्छिन् । माइतबाट बनाऊ भने पनि बुवा आमा छैनन्, नागरिकता त छ । तर, बुवा आमाको नामबाट नागरिकता बनाउन मिल्छ कि मिल्दैन थाहा छैन ।’
आफूसँग नागरिकता नहुँदा सन्तानलाई भोलिका दिनमा दुःख पो हुन्छ की भन्ने उनको चिन्ता छ । भन्छिन्, ‘म त डाँडा पारिको घाम भइसके छोराको भविष्यको डर लाग्छ । भर्खरै २१ वर्ष भयो उसको पनि नागरिकता छैन । कसरी बनाउने उसको पनि बच्चाहरू होलान् । नातिनातिनाको भविष्य के होला सोच्दा पनि छटपटी हुन्छ ।’
सङ्कटकालमा बाबिचौरको घर छोडेर वीरेन्द्रनगर ०५० सालमा आएको दिलकुमारी भण्डारी बताउँछिन् । भन्छिन्, ‘त्यो समयमा श्रीमान् भागेर जानू भयो, माओवादीका सेनाहरू घर रिजब गरेर बसे । हामीले घर छोडेर वीरेन्द्रनगर आएको हौँ ।’