प्रहरी बढुवामा नेताको गोजी : मर्यादामाथि मनमोजी, राजनीतिक ‘भिक्टिम’ खोजीखोजी
सरकारद्वारा चैत १० मा नियुक्त आईजीपी (महानिरीक्षक) बसन्तबहादुर कुँवर उनै व्यक्ति हुन्, जो २०७५ फागुन ७ गते एसपीबाट एसएसपी बढुवा हुँदा आफ्नो व्याचको १३औं नम्बरमा थिए ।
यही व्याचले २०७९ असार ८ मा एसएसपीबाट डीआईजीमा बढुवा हुँदा १३औं नम्बरका कुँवर पहिलोमा, पहिलो नम्बरका भण्डारी सातौंमा चढ्नु वा झर्नुपर्ने तर्कसंगत कारण केही थिएन । एउटै कारण हो, तत्कालीन राजनीतिक शक्ति सन्तुलन फरक हुनु ।
२०७५ को एसएसपी बढुवा हुँदा देशमा केपी ओलीको सरकार थियो । डीआईजी बढुवा हुने बेलामा ओलीको सरकार ढालेर शेरबहादुर देउवाको सरकार बन्यो । त्यति हुँदा पनि टेकप्रसाद राईले एसएसपीदेखि डीआईजी र अहिले एआईजी हुँदासम्म दुईको दुईमै वरियता जोगाएका छन् । किनभने पहिला गृहसचिवदेखि अहिले अख्तियार प्रमुखसम्म उनै प्रेम राई छन् ।
यसले कुन भाष्य निर्माण गर्दछ भने ओलीले बनाएको एक नम्बरलाई देउवाले फ्याँक्नैपर्छ । किनभने झगडा बसन्त र सन्दीपको हैन, ओली र देउवामा विभाजित राजनीतिक कित्ता मुख्य कारक हो । न बसन्त कुँवर कांग्रेसका कुनै तहका नेता न त सन्दीपसँग एमालेकै कुनै साइनो छ । अर्कातिर, गृहसचिव वा अख्तियार प्रमुख एउटै मान्छे रहँदा त्यहाँको सिफारिसवाला स्थिर रहने भयो ।
यसरी राजनीतिक शक्ति सन्तुलनका आधारमा देशको फौजी संगठन चल्ने भएपछि अब फौजमा जागिर खाने कर्मचारीले के आधारमा काम गर्लान् ? यीसहितका केही गम्भीर प्रश्नहरु तेर्सिएका छन् । जागिरको सुरु दिनदेखि आखिरीकालसम्म निष्ठा बचाएर राख्नुपर्छ, कर्तव्यपरायण हुनुपर्छ, पीडितमैत्री हुनुपर्छ भन्ने कुरालाई मजाकमा उडाए पनि भयो ? किनभने त्यसका आधारमा मूल्यांकन नहुने, शक्तिकेन्द्रको साथ हुने भएपछि फौजी कर्मचारीहरुले अब बाह्रै महिना शक्तिकेन्द्र धाएर हिँड्दा हुने हो ?
राजनीतिक शक्ति सन्तुलनका आधारमा देशको फौजी संगठन चल्ने भएपछि अब फौजमा जागिर खाने कर्मचारीले के आधारमा काम गर्लान् ? यीसहितका केही गम्भीर प्रश्नहरु तेर्सिएका छन् ।
उक्त बढुवाको पहिलो नम्बरका एसएसपी सन्दीप भण्डारी डीआईजी बढुवादेखि यति तल पारिए, एसएसपी बढुवामा दोस्रो लटका अशोक सिंहलाई तानेर सीधै तेस्रो वरियतामा डीआईजी बनाइँदा पनि उनी सातौंमा परे । त्यसअघि २०७१ फागुन १० मा एसपीबाट एसएसपी बढुवा हुँदा पहिलो नम्बरका श्याम ज्ञवाली एसएसपी हुँदा चौथोमा ‘फ्याँकिए’ । एसएसपी वरियतामा आफूभन्दा तीन नम्बरले तलका दीपक थापाभन्दा पछाडि अर्थात पाँचौंमा बढुवा पाए ।
जबकि २०७१ फागुन १० मा श्याम एसपी बढुवा हुँदा त्यसको पाँच महिनापछि अर्थात २०७२ साउन ८ गते दीपक एसपी बढुवा भएका थिए । एआईजी हुने मुखैमा तेस्रो नम्बरका डीआईजी अशोक सिंह राजीनामा दिन बाध्य भए, जन्ममिति विवादका कारण । अशोकको रिक्त वरियतामा दीपक थापा अगाडि आएपछि श्याम बल्ल चौथो नम्बरका एआईजी भए ।
नेपाल प्रहरीमा सामान्यतया एसपी बढुवादेखिको वरियतालाई आधार मानेर आगामी नेतृत्वमा को अगाडि बढ्छ भन्ने कुराको संकेतका रुपमा बुझ्ने गरिन्छ । फौजी संगठनमा वरियता भनेको मर्यादा हो । विभिन्न आधारमा तय हुने उक्त मर्यादा कायम भइसकेपछि किन तालमाथि हुन्छ भन्ने कुराका लागि निश्चित आधार र तर्क चाहिन्छ । तर, अहिलेको उच्च प्रहरी नेतृत्वको हकमा मर्यादामाथि यति मनमोजी चलिदियो कि उनीहरु फौजी नियम, परम्परा, तालिम, सेवाका जोखिम र वृत्ति विकासका अनेक खुट्किलाका आधारमा नभई राजनीतिक नेतृत्वले जे चाह्यो, त्यहीअनुसार चल्नुपरेको छ ।
उदाहरणका लागि बसन्तबहादुर कुँवरसहितका पाँच डीआईजीले एआईजीमा पाएको बढुवा कार्यसम्पादन मूल्यांकनका आधारमा थिएन, एसएसपीबाट डीआईजीमा भएको बढुवाको क्रम संख्याका आधारमा भइदियो । उक्त क्रम संख्यामा राजीनामा दिने तेस्रो नम्बरका डीआईजीको ठाउँमा चौथो, चौथोका ठाउँमा पाँचौं र पाँचौंका ठाउँमा छैटौंले मौका पाए । यहीमध्येका एक जनालाई आईजीपी बनाउनुपर्ने बेला भयो । क्रम संख्या १ लाई बनाइयो ।
अहिलेको उच्च प्रहरी नेतृत्वको हकमा मर्यादामाथि यति मनमोजी चलिदियो कि उनीहरु फौजी नियम, परम्परा, तालिम, सेवाका जोखिम र वृत्ति विकासका अनेक खुट्किलाका आधारमा नभई राजनीतिक नेतृत्वले जे चाह्यो, त्यहीअनुसार चल्नुपरेको छ ।
खासमा प्रहरी वा सेनाको मर्यादालाई क्रम संख्याले हैन, क्रम संख्यालाई निर्धारण गर्ने कार्यसम्पादन मूल्यांकनले तय गर्नुपर्ने हो । एकपछि अर्को दर्जामा हुने बढुवामा कोही तलमाथि किन पर्छन् ? यसको कारण हो, त्यस अवधिमा सम्बन्धित अधिकृतले के–कस्तो कार्यसम्पादन गरेको छ भन्ने कुराको मूल्यांकन हुनु ।
सोमबार एआईजी दर्जाका लागि सिफारिस भएका चार जनाको स्थिति पनि अघिल्लो बढुवाकै जस्तो छ । अर्थात ९ महिनाअघि डीआईजी बढुवा हुँदाको क्रम संख्यालाई नै वरियता मानेर सिफारिस गरिएको छ । असार ८ को बढुवाका १७ डीआईजीमध्ये ५ जनाले यसअघि नै एआईजी हुँदै एकजनाले आईजीमा बढुवा पाइसके । त्यसभन्दा तलको नम्बरमा डीआईजी हुने क्रमशः सन्दीप भण्डारी, सुदीप गिरी, टेकबहादुर तामाङ र मीरा चौधरी सिफारिस भएका छन् ।
अब बाँकी रहेका सात डीआईजीको स्थिति के हो ? भन्न सकिने अवस्था छैन । सोही बढुवाका डीआईजीहरु उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाले एआईजी बढुवाको कार्यसम्पादन प्रक्रियामा प्रवेश गर्न पाए कि पाएनन् ? स्वयं उनीहरु जानकार छैनन् वा डीआईजीबाट एआईजी बढुवाको यो सिंगो प्रक्रियामा उक्त पदका हकदार मानिने १७ डीआईजीको कार्यसम्पादन मूल्यांकनलाई एक ठाउँमा राखेर नतिजा निकालिएको भए कतै पहिलो हुनेले तेस्रो, चौथो हुनेले पहिलो वा अन्तिममा हुनेले अलिकति अगाडि ठाउँ पाउँथे कि ? किनभने डीआईजी बनाउँदा १३ नम्बरकोलाई तानेर एक नम्बर बनाउन मिल्छ भने डीआईजीबाट एआईजी बनाउँदा पनि मिल्थ्यो होला ? तर, यस्तो कष्ट उठाइएन ।
प्रहरीमा फेरि पनि स्थापित भएको नजिर हो कि आफ्नालाई माथि ल्याउनु परे अरुका मर्का नहेर्ने । आफ्नालाई अन्याय हुनासाथ भएभरका मान्छेको न्यायका कुरामा कुर्लिने ।