‘के लत बस्यो’ले भाइरल भएका पेला भन्छन्- मलाई हिट हुनु छैन, गीत राम्रो भए हुन्छ
कैलाली । ‘देउडा गाउने ?’
‘नाइँ, आधुनिक’
बैतडीबाट २८ वर्ष पहिले गायक बन्ने सपना बोकेर काठमाडौं पुगेका तिलकसिंह पेलालाई म्युजिक नेपालका एक कर्मचारीले सोधे, त्यहाँ त देउडा गाउँछन्, हैन र ?’
‘हो तर, म आधुनिक गाउँछु’
‘कस्तो आधुनिक ? ’
‘तपाईंहरू कस्तोलाई आधुनिक भन्नुहुन्छ ?’
उनले भने, ‘नारायणगोपाल, भक्तराजहरूले गाउने गीतलाई आधुनिक भन्छौं ।’
‘हाम्रो पनि त्यस्तै हो । ’
पेलाले यति भनिसकेपछि उनलाई गीत-संगीतको बारेमा जानकारी रहेको बुझ्न समय लागेन ।
‘हार्मोनियम बजाउन आउँछ’, उनले फेरि सोधे ।
‘आउँछ ।’
‘ल सुनाउनुस् ।’
त्यसपछि पेलाले हार्मोनियम सँगै सुमधुर आवाजमा सुनाए,
लुकाउन खोज्दा पनि आँसु नखसेको होइन,
के गर्नु निधारमा हाँसो त लेखेकै छैन
फेरि पनि आफ्नो व्यथा कसैलाई भनेको छैन…..
पेलाको कर्णप्रिय आवाज सुनेपछि ढिलो नगरी उनको गीत रेकर्ड भयो ।
म्युजिक नेपालमा पनि त्यो बेला गीत रेकर्ड गर्नेको मारामार थियो । तर, धेरै टाढाबाट आएको भन्दै एउटा गीत पेलाले म्युजिक नेपालमा र अन्य सात वटा गीत रेडियो नेपालमा रेकर्ड गराए ।
‘दाइले शब्द लेख्ने अनि मैले गीत गाउने गर्न थालेको थिएँ । सुरुमा हामीले भारतीय धुनमा गीत बनायौं । दाइले शब्द लेख्ने र मैले गीत आउनेसम्म ठीक थियो । तर, धुन हाम्रो भएन’, उनले सुरुका दिन सम्झँदै भने, ‘केही समयपछि हामीले पनि आफ्नै नयाँ धुन बनाउन थाल्यौं ।’
पहिलो गीत रेकर्ड गराएको करिब २८ वर्षपछि पेला अहिले पुनः चर्चामा छन् ।
के लत बस्यो मलाई कहिले सुधार हुन्छ ।
एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ ।
साथी रहेछ दुःख हरपल सवार हुन्छ ।
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ ।
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?
खोला नदी समुद्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ ।
गजलकार डाक्टर प्रदीपकुमार मैनालीले रचना गरेको उक्त गजलका गायक तथा संगीतकार तिलकसिंह पेला आफैं हुन् ।
साँच्चिकै फिल्मी छ उनको संगीत यात्रा । २०३२ सालमा बैतडीमा जन्मिएका पेलाले कालिका निमावि र वीरेन्द्र माविमा अध्ययन गरे । परिवारमा संगीतको माहोल थिएन । तर, उनका दाजु श्रीकृष्णसिंह पेला गीत लेख्न रुचाउँथे । रेडियो नेपाल राम्रोसँग सुनिन्थेन, भारतीय रेडियो सुनेर उनले गीत लेख्थे ।
त्यो बेलासम्म उनले गाउँघरमा हुने रामलीलामा भाग लिन थालिसकेका थिए । पछि सशस्त्र द्वन्द्वका कारण रामलीला पनि बन्द भयो । अनि बन्द भयो उनको संगीत पाठशाला पनि ।
उनी बैतडीमै कक्षा १० सम्म अध्ययन गरे । एसएलसी फेल भएपछि उनको शैक्षिक यात्रा रोकियो । तर, सांगीतिक अध्ययनको यात्रा अघि बढ्यो ।
उनी भन्छन्, ‘किताबको शिक्षामात्रै शिक्षा होइन । त्योभन्दा पनि बाहिरबाट धेरै शिक्षा लिन सकिन्छ । त्यसपछि मैले किताबको शिक्षा छोडेर जीवनको शिक्षा लिन थालें ।’
पहिलो आधुनिक गीति एल्बम सफल भए पनि उनी सन्तुष्ट भने भएनन् । संगीत त सिक्ने कुरा हो, रहरमा गाएरमात्र हुन्न भनेर उनी गुरु खोज्न थाले । केही वर्षपछि धनबहादुर गोपाली भेटे ।
‘दाइले शब्द लेख्ने अनि मैले गीत गाउने गर्न थालेको थिएँ । सुरुमा हामीले भारतीय धुनमा गीत बनायौं । दाइले शब्द लेख्ने र मैले गीत आउनेसम्म ठीक थियो । तर, धुन हाम्रो भएन’, उनले सुरुका दिन सम्झँदै भने, ‘केही समयपछि हामीले पनि आफ्नै नयाँ धुन बनाउन थाल्यौं ।’
यही प्रयासमा बनेको थियो ‘लुकाउन खोज्दा पनि’ गीत । गीत तयार गरे पनि उनीहरुले बजारमा ल्याउने विषयमा भने सोचेका थिएनन् ।
‘प्रेम दाइले एल्बम निकाल्नुपर्छ भन्नुभयो । हामीलाई पनि त्यो कुरा ठीकै लाग्यो’, पेलाले भने, ‘त्यसपछि हामी काठमाडौं हानियौं ।’
रेडियो नेपालमा २४ हजारमा ८ गीत रेकर्ड गर्न पाइने व्यवस्था रहेको उनलाई जानकारी थियो । तर, त्यो बेला गीत रेकर्ड गर्न पालो पाउन महिनै कुर्नुपर्ने बाध्यता थियो ।
‘घरबाट पैसा मागेर गीत रेकर्ड गर्न काठमाडौं आएका थियौं । प्रेम दाइले पनि हामीलाई सहयोग गर्नुभएको थियो । तर, २०५३ भदौसम्म डेट पाउन सक्ने अवस्था भएन’, उनले भने, ‘त्यहीबाट म्युजिक नेपालमा जान सुझाव दिए । हामी पहिलो गीत रेकर्ड गर्न म्युजिक नेपालमा गयौं ।’
त्यहाँ पनि सहज थिएन गीत रेकर्ड गर्न । तर टाढाबाट आएको भनेर एउटा गीत रेकर्ड गरियो । अन्य सात गीत केही समय कुरेर रेडियो नेपालमा रेकर्ड गराएको याद छ पेलालाई । त्यसपछि उनले निकाले पहिलो गीति एल्बम ‘आँसु’ । त्यो बेला ‘आँसु’ निकै चर्चित भयो ।
पहिलो आधुनिक गीति एल्बम सफल भए पनि उनी सन्तुष्ट भने भएनन् । संगीत त सिक्ने कुरा हो, रहरमा गाएरमात्र हुन्न भनेर उनी गुरु खोज्न थाले । केही वर्षपछि धनबहादुर गोपाली भेटे ।
गोपालीसँग १० वर्ष शास्त्रीय संगीत सिके । त्यसले पनि उनको हुटहुटी सकिएन । त्यसपछि लागे शास्त्रीय संगीतको खानी मानिने भारतको बनारस । बनारसमा पण्डित देवासिस गिरीसँग संगीत सिकेपछि मात्र उनी नेपाल फर्किए ।
पेलालाई ‘के लत बस्यो’बाट नयाँले चिन्ने र पुरानाले सम्झने काम भयो । अहिलेको गीत चर्चामा पुगेपछि उनका पुराना गीतहरूको पनि खोजी हुन थालेको छ ।
नेपाल फर्किएर पनि उनी संगीत साधनामै मग्न भए । संगीत पाठशाला खोले । योबीचमा उनी हराए जस्तै भए । यो बीचमा पनि गीत नगाएको भने होइन । तर, देशैभरि अहिलेको जस्तो एकाएक ‘भाइरल’ भएको भने उनलाई याद छैन ।
पेलालाई ‘के लत बस्यो’बाट नयाँले चिन्ने र पुरानाले सम्झने काम भयो । अहिलेको गीत चर्चामा पुगेपछि उनका पुराना गीतहरूको पनि खोजी हुन थालेको छ ।
‘अहिले २८ वर्ष पहिलेका गीतहरू स्रोता दर्शकहरूले खोजीखोजी हेरिरहनु भएको छ । मैले नै बरु भुलेको हुन सक्छु । तर, उहाँहरूले शब्दशब्द याद गर्नुभएको छ’, उनले उत्साहित हुँदै भन,े ‘दर्शकहरूको यत्ति बिघ्न माया मैले बितेको २८ वर्षसम्म गरेको साधनाको फल हो ।’
उनी अहिले संगीत पाठशाला चलाइरहेका छन् । नेपालमा उनले संगीत सिकाएका थुप्रै व्यक्तिहरूले पनि सफलता प्राप्त गरेका छन् । रिदम कणेल, सुशील गर्ताैलाहरु अहिले पनि चर्चामा छन् । चर्चामा नरहेका दर्जनौं संगीतकारहरू उत्कृष्ट रहेको पेलाको बुझाइ छ ।
उनको बुझाइमा राम्रो गीत बन्नु र चर्चा पाउनु फरक हो । ‘के लत बस्यो’ भन्दा अझै उत्कृष्ट गीतहरू आफूले बजारमा ल्याएको पेला बताउँछन् । ‘के लत बस्यो’मा उनलाई धुन सबैभन्दा बढी कर्णप्रिय लाग्छ ।
‘मैले धेरैपल्ट सुनेको छु । मलाई धुन सारै प्यारो लाग्छ’, उनी भन्छन्, ‘शब्द, संगीत र स्वर सबै मिलेको हुँदा सायद सबैले मन पराउनुभएको हुनसक्छ ।’
आफूले चर्चामा आउन कहिल्यै काम नगरेको उनी बताउँछन् । ‘हिट बनाउन कहिल्यै काम गरिनँ । पहिले पनि गरिनँ, अहिले पनि गरेको छैन’, पेला भन्छन्, ‘मलाई हिट हुनु छैन, गीत राम्रो भए हुन्छ ।’
आफूले चर्चामा आउन कहिल्यै काम नगरेको उनी बताउँछन् । ‘हिट बनाउन कहिल्यै काम गरिनँ । पहिले पनि गरिनँ, अहिले पनि गरेको छैन’, पेला भन्छन्, ‘मलाई हिट हुनु छैन, गीत राम्रो भए हुन्छ ।’
‘के लत बस्यो’ बोलको गीत उनी आफैंले गाउने योजना बनाएका थिएनन् । सुरुमा कैलाली टीकापुरकै कमल विष्टले गीत गाएका थिए । रेकर्ड हुनुभन्दा पहिले पनि यो गीत सुन्नेले मन पराए । त्यसपछि एक दिन गीत रेकर्ड गर्ने योजना बनाए ।
‘मैले उहाँ(कमल विष्ट)ले नै गाउनुपर्छ भनेको थिएँ । मलाई गाउन रहर थिएन’, पेलाले भने, ‘होइन तपाईंले गाउनुपर्छ भनेपछि म तयार भएको हुँ ।’
उनले आफूले गाएको गीतमा शब्द सरल भएको हुँदा सबैलाई मन परेको बताउँछन् । ‘यसमा शब्द सरल थियो । निर्जन किनारसँग सोधिरहन्छु । म मेरा ओठहरूबाट उनको नाम खोसेर लियो कसले… यसमा गहिरो साहित्य छ । यो मान्छेले बुझ्दैनन्’, उनी भन्छन्, ‘यसमा के लत बस्यो मलाई.. कहिले सुधार हुन्छ.. एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ यो बच्चाले पनि बुझ्छ । यसमा गहिरो साहित्य छैन ।’
अहिलेसम्म उनले ४० को हाराहारीमा गीत रेकर्ड गराएका छन् । एक महिनाभित्रै थप तीन गीत बजारमा ल्याउने उनको योजना छ ।
एउटा सुदूरपश्चिम प्रदेशको मौलिक भाषा, अर्काे आधुनिक र गजल गरी तीन वटा गीत बजारमा ल्याइने उनले सुनाए । यसको सबै तयारी पूरा भइसकेको पेला बताउँछन् ।