लाइसेन्स परीक्षामा ७२ प्रतिशत इन्जिनियर फेल- कहाँ भयो कमजोरी ?
नेपालमा इन्जिनियरिङ पेशामा आवद्ध हुन नेपाल इन्जिनियरिङ काउन्सिलमार्फत इन्जिनियरिङ अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने कानूनी व्यवस्था छ । अघिल्लो वर्षसम्म त्यस्तो अनुमतिपत्र प्राप्त गर्न नेपालभित्रका विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरे पुग्थ्यो । विदेशमा पढेका विद्यार्थीहरूले पनि त्रिभुवन विश्वविद्यालयमार्फत समकक्षतापत्र (इक्युभ्यालेन्ट सर्टिफिकेट) निकालेर बुझाए काउन्सिलले थप अध्ययन गरेर अनुमतिपत्र दिन्थ्यो ।
मेडिकल, कानूनलगायतका अन्य क्षेत्रमा व्यवसायिक अनुमतिपत्र लिन पहिलेबाट नै छुट्टै परीक्षाको व्यवस्था छ । तर, इन्जिनियरिङ क्षेत्रमा त्यस्तो परीक्षा नहुँदा उत्पादित जनशक्तिहरूको गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ । विशेषगरी विदेशबाट इन्जिनियरिङ अध्ययन गरेका विश्वविद्यालयको गुणस्तर र विद्यार्थीहरूले त्यहाँ अध्ययन गर्दा हासिल गरेको दक्षतालाई नेपालका विश्वविद्यालयको अनुपातमा मापन गर्ने कुनै आधार छैन । यो समस्यालाई समाधान गर्न यसै वर्षबाट इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङ अनुमतिपत्र परीक्षाको व्यवस्था गरेको छ । अर्थात अबदेखि इन्जिनियरिङ अध्ययन गरेपछि पनि इन्जिनियरिङ अनुमतिपत्र लिन काउन्सिलले लिने छुट्टै परीक्षा उत्तीर्ण गर्नैपर्छ ।
केही दिनअधि सम्पन्न पहिलो इन्जिनियरिङ अनुमतिपत्र परीक्षाको नतिजा निकै निराशाजनक रह्यो । परीक्षामा सहभागी दुई हजार ६ परीक्षार्थीमध्ये ५६५ जना (करिव २८ प्रतिशत) मात्र उत्तीर्ण भए । यसले नेपालको इन्जिनियरिङ शिक्षामाथि मात्र होइन, अघिल्ला वर्षहरूमा विनापरीक्षा अनुमतिपत्र लिएका इन्जिनियरहरूको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाएको छ । तर, यस्तो नतिजा आउनुमा धेरै कारण छन् ।
परीक्षामा सहभागी दुई हजार ६ परीक्षार्थीमध्ये ५६५ जना (करिव २८ प्रतिशत) मात्र उत्तीर्ण भए । यसले नेपालको इन्जिनियरिङ शिक्षामाथि मात्र होइन, अघिल्ला वर्षहरूमा विनापरीक्षा अनुमतिपत्र लिएका इन्जिनियरहरूको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाएको छ ।
पहिलो, अनुमतिपत्रको लागि यस्तो परीक्षा यही वर्ष गरिएको हो । परीक्षा अगाडि काउन्सिलले उल्लेख्य मात्रामा नमुना प्रश्नपत्र उपलब्ध गराएन । परीक्षाको लागि तोकिएको पाठ्यक्रमले ४ वर्ष अध्ययन गरेको सबै विषय समावेश गर्यो र यसले परीक्षण गर्न खोजेको सीप एवं क्षमता स्पष्ट भएन । त्यसैले परीक्षार्थीहरू परीक्षाको तयारी कसरी गर्ने भन्नेबारेमा प्रस्ट हुन पाएनन् र नतिजा कमजोर आयो ।
दोस्रो, नेपालका सर्वाेत्कृष्ट विद्यार्थीहरूको रोजाइमा पर्ने त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसबाट उत्तीर्ण प्रायः विद्यार्थीहरूले परीक्षा प्रणाली लागू हुनुअगावै अनुमतिपत्र पाइसकेका थिए । त्रिविका केवल १०० जना विद्यार्थी यो परीक्षामा सामेल थिए । जसमा ४६ जना उत्तीर्ण भए । त्यसैले यस वर्ष परीक्षामा सामेल हुने प्रायः विद्यार्थीहरूले (१९०३ जना) पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल र विदेशी विश्वविद्यालयमा अध्ययन गरेका थिए । अनुत्तीर्ण संख्या (२७ प्रतिशत) उनीहरूकै बढी देखिएको छ । त्यसमा पनि विदेशमा पढेर आएका ३७८ मध्ये केवल ५८ जना (१५ प्रतिशत) विद्यार्थी उत्तीर्ण भए । परीक्षाको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमकै वरिपरि रहेर बनाइएको हुनाले विदेशमा र नेपालकै अन्य विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई यो परीक्षा केही कठिन भएको अड्कल गर्न सकिन्छ । यसबाहेक अन्य तथ्यांकले देखाए झैं त्रिविबाहेकका विश्वविद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको यो परीक्षामा पनि छरपस्ट देखिएको छ ।
तेस्रो, यो पटकको परीक्षामा चार वर्ष इन्जिनियरिङमा पढाइ हुने सबै विषयलाई पाठ्यक्रममा समावेश गरिएको थियो । प्रश्नहरुसमेत त्यसरी नै सोधिएका थिए । इन्जिनियरिङका प्रत्येक विषय आफैंमा कठिन छ । अझ सबै विषयका भित्री विषयलाई समेत विनानमुना प्रश्न तयारी गर्न धेरै गाह्रो हुन्छ । विद्यार्थीहरूलाई पहिलेबाट पढेका सबै विषय र त्यहाँबाट परीक्षामा सोध्न सकिने सम्भावित प्रश्नहरू अहिलेसम्म याद रहने सम्भावना पनि न्यून हुन्छ । यसले गर्दा समेत परीक्षामा धेरै विद्यार्थी असफल भएको देखिएको छ ।
तर, धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको दोष परीक्षा पद्धति र पाठ्यक्रमको घनत्वलाई मात्र दिन मिल्दैन । यसमा सहभागी विद्यार्थीहरूको क्षमता, उनीहरुको विश्वविद्यालयको शैक्षिक गुणस्तर र उनीहरूले हासिल गरेको ज्ञानले पनि उत्तिकै भूमिका खेलेको छ । तर, यो पहिलो परीक्षा भएकाले अन्तिम समीक्षा गर्न पर्याप्त तथ्यांक छैन । अझै केही परीक्षाको नतिजा हेरेपछि बल्ल एउटा निक्र्योलमा पुग्न सम्भव हुन्छ ।
इन्जिनियरिङ अनुमतिपत्र परीक्षा सजिलो पक्कै हुनुहुँदैन । यो सक्षम इन्जिनियरलाई मात्र बजार प्रवेश गराउने फलामे ढोका बन्नैपर्छ । इन्जिनियरिङ ठूलो जिम्मेवारी भएको पेसा हो । एउटा असक्षम इन्जिनियरले निर्माण गरेको संरचना भत्किए हजारौं मानिसको ज्यान एकैपटक जोखिममा पर्दछ ।
यद्यपि अनुमतिपत्र परीक्षाको पाठ्यक्रमा पनि केही सुधार तत्काल गर्न सकिन्छ । सबै पाठ्यक्रम समेटेर यो परीक्षालाई लोकसेवा वा इन्जिनियरिङको सेमेस्टर परीक्षा जस्तो ज्यादा घनत्व भएको बनाइएको छ । जुन आवश्यक छैन । बरू थोरै विषय जाँच्ने तर त्यसमा इन्जिनियरको रट्ने क्षमताको साटो समग्र विषयको बुझाइ जाँच्दा उचित हुन्छ । यसका लागि परीक्षार्थीहरूलाई परीक्षा दिँदा सहविषय छान्ने अवसर प्रदान गर्न सकिन्छ । जस्तैः इलेक्ट्रोनिक्स इन्जिनियरलाई कम्युनिकेसन सिस्टम र कम्प्युटर नेटवर्क ऐच्छिक विषयको रूपमा छान्न दिन सकिन्छ । यस्तै विकल्प अरू विषयमा समेत दिन सकिन्छ । यसले विद्यार्थीलाई आफ्नो विज्ञता एवं सहजताको आधारमा थोरै विषयमा राम्रो तयारी गर्न सहयोग पुग्छ । साथै गुणस्तर मापनमा पनि प्रतिकूल असर पर्दैन । किनभने सामान्य सापेक्षताको सिद्धान्तलाई आधार मान्दा पनि एउटा विषय ऐच्छिक लिएर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीले आवश्यक परे त्यस्तै अर्काे विषय सहजै पढ्न वा उत्तीर्ण गर्नसक्छ । यसबाहेक नमुना प्रश्नपत्रको उपलब्धता र परीक्षाले जाँच्न चाहेको प्राविधिक पाटो स्पष्ट पारिदिए सक्षम विद्यार्थीलाई अझ सहज हुनेछ ।
इन्जिनियरिङ अनुमतिपत्र परीक्षा सजिलो पक्कै हुनुहुँदैन । यो सक्षम इन्जिनियरलाई मात्र बजार प्रवेश गराउने फलामे ढोका बन्नैपर्छ । इन्जिनियरिङ ठूलो जिम्मेवारी भएको पेसा हो । एउटा असक्षम इन्जिनियरले निर्माण गरेको संरचना भत्किए हजारौं मानिसको ज्यान एकैपटक जोखिममा पर्दछ । साथै राज्यलाई पनि ठूलो आर्थिक क्षति हुनसक्छ । त्यसैले अबका दिनहरूमा काउन्सिलले यस परीक्षालाई अनुभवका आधारमा अद्यावधिक गर्दै रटेर अनुमतिपत्र निकाल्ने माध्यमको साटो काविल इन्जिनियर चिन्ने बाटो बनाउनुपर्दछ । इन्जिनियरिङ अनुमतिपत्रको परीक्षा सरल तर गुणस्तर नाप्न सक्षम हुनुपर्दछ । यसलाई विश्वविद्यालयका सेमेस्टर परीक्षाले मापन गर्न छुटाएका गुणस्तर मापन गर्न केन्द्रित गर्नुपर्दछ । तर, परीक्षालाई गुणस्तरीय बनाउन पाठ्यक्रमको अनावश्यक भारमात्र थपिए यसले परीक्षा तयारी कक्षाको नाममा महंगा ट्युसन सेन्टरहरूलाई प्रश्रय दिनेछ । त्यसैले नेपाल इन्जिनियरिङ काउन्सिलले परीक्षाको सबै तथ्यांकलाई विस्तृत विश्लेषण गरेर यसलाई प्रत्येक वर्ष सुधार गर्दै लैजान आवश्यक छ ।
[email protected]|https://aamodkh.github.io