नेपाली पत्रकारिताः विश्वासको संकट, चुनौतीका चाङ
पत्रकारिताको मूल्य-मान्यता भनेकै सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हो । पत्रकारहरुको काम नै निष्पक्ष भएर समाचार लेख्नु हो । त्यो सबै सञ्चार क्षेत्रको साझा धर्म हो । वर्षाैंदेखि यही भनेर काम गरिरहेका छौं हामीले । तर, पछिल्लो समय पत्रकारिताले विश्वास गुमाउँदै गएको र मूलधारका सञ्चारमाध्यम संकटमा परेको भनेर निकै बहस चलिरहेको छ । नयाँ नयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेका छन् । त्यसो भए अबको पत्रकारिता कस्तो हुनुपर्छ । नेपाली पत्रकारिताको पछिल्लो चासो र चिन्ता यही विषयमा देखिन्छ । किन गुम्यो विश्वास ? यसको गहन जवाफ खोज्ने र आफैंलाई सच्याउन तयार हुनु नै अबको पत्रकारिताको आवश्यकता पनि हो ।
संकटमा पत्रकारिता
त्यसो त विश्वभर नै मूलधारको मिडिया अहिले निकै अप्ठ्यारो अवस्थामा छ । खासगरी सूचना प्रविधिको विकास र सोसल साइटले फड्को मार्दा त्यसले परम्परागत पत्रकारिता कमजोर बनेको हो । नागरिक पत्रकारिता बलियो हुँदै जाँदा पेशेवर पत्रकार र मूलधारको पत्रकारिताको भविष्यमाथि प्रश्न उब्जेको छ । एक त प्रविधिले यस्तो गर्यो । अर्को, पत्रकारहरु खासमा पत्रकार रहेनन् । राजनीतिक दलका कार्यकर्ता भएर हिंड्ने, एउटा व्यानरमा पत्रकारिताको विषय अनि छेवैमा अर्को व्यानर कार्यकर्ता प्रशिक्षण भनेर राख्ने प्रवृत्तिकै कारण आमनागरिकले पत्रकारिताको आवरणमा दलको धन्धा चलाइरहेको देखे । अनि विश्वास गुम्दै गयो ।
दलीयकरणको मार
राजनीतिक आस्थाका आधारमा सञ्चारमाध्यम सञ्चालन गर्ने प्रवृत्ति हावी छ । प्रायः नेता र तिनका निकट कुनै न कुनै सञ्चारमाध्यम छन् । पत्रकारहरु पनि दल, नेता, कर्मचारी, व्यापारी सबैका अलग-अलग छन् । लुकेका र लुकाइएका कुराहरु सार्वजनिक गर्नुपर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने पत्रकार नै आफ्नो पेशागत कर्ममा भन्दा गोजीमा दलको सदस्यता बोकेर हिंड्दा न समाचारमा विश्वास रहन्छ न त पत्रकारमाथि नै ।
सूचना प्रविधिको विकास र सोसल साइटले फड्को मार्दा त्यसले परम्परागत पत्रकारिता कमजोर बनेको हो । नागरिक पत्रकारिता बलियो हुँदै जाँदा पेशेवर पत्रकार र मूलधारको पत्रकारिताको भविष्यमाथि प्रश्न उब्जेको छ ।
कुरा प्रस्ट छ कि अधिकांश पत्रकारहरु पार्टीका कार्यकर्ता छन् । पाठक, स्रोता र दर्शक तपाईं कुन दलको पत्रकार भनेर प्रश्न गर्छन् । दलभित्र पनि नेताअनुसार सहयोगी पत्रकार । आफ्नो दलका बेथिति अधिकांश पत्रकारले लेख्दैनन् । कांग्रेसका नेता-कार्यकर्ताबाट हुने गलत कामको समाचार प्रेस युनियनका पत्रकारले लेखेको भेटिन्न । न एमालेले जितेका सरकार र जनप्रतिनिधि वा नेता-कार्यकर्ताले गर्ने बेथिति प्रेस चौतारीका पत्रकारले लेख्छन् र बोल्छन् । माओवादी केन्द्र र प्रेस सेन्टर वा जसपा, लोसपा, समाजवादी र ती दल आवद्ध पत्रकार संगठनका पत्रकारको हालत पनि उही हो । कोही जनप्रतिनिधिको, केही कर्मचारीको, कोही व्यापारीको र कोही सुरक्षा निकाय वा ठेकेदारको पकेटका पत्रकार बनेपछि आमनागरिकले पत्रकारले आफ्ना समस्यामा बोल्छन् भन्ने विश्वसनीय कसरी गर्छन् र ?
व्यक्ति, समूह वा संस्था विशेषले आफ्नो प्रचार गर्न, धन कमाउन वा सत्ता र शक्तिमा पुग्न तथा विरोधीलाई खुइल्याउन चलाएका मिडिया हाउसका हामी उपयोगी साधन त भैरहेका छैनौं भनेर सोच्न ढिला भैसकेको छ । किनभने पत्रकारले समाज रुपान्तरणका पक्षमा आवाज उठाउने हो । पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने मुख्य दायित्व पत्रकारहरुकै हो । व्यवसायिक र मर्यादित पत्रकारिताबारे बहस र छलफल गरेर नथाक्ने नेपाली सञ्चार क्षेत्रमा आचारसंहिता उल्लंघन सधैं पेचिलो बनिरहेको छ ।
अर्को समस्या मिडिया क्षेत्र पनि उद्योगका रुपमा विकास हुन नसक्नु हो । राज्यको श्रम कानून नमान्ने, पारदर्शी नहुने, श्रमिकलाई काम गरेको पारिश्रमिकसमेत समयमा नदिने समस्या सञ्चारमाध्यममा वर्षौंदेखि कायमै छ । यो स्थितिमा राज्यको चौथो अंग भएर वाचडगको भूमिका कसरी निर्वाह हुन्छ ? तर, अधिकांश सञ्चारमाध्यम र पत्रकारले आफ्नो भूमिकाप्रति जनस्तरबाट बारम्बार प्रश्न उठाउँदा पनि मनन गर्न सकिरहेका छैनन् ।
प्रविधि : अवसर कि चुनौती ?
च्याट जीपीटी अहिले सबैभन्दा चर्चामा छ । जसले मान्छेको काम खोसिरहेको देखिँदैछ । भोलिका दिनमा फाइभ डब्लूएच के हो भनेर बताउने र त्यसैका आधारमा समाचार लेख्ने काम च्याट जीपीटी वा अरु कसैले गर्दैन भन्ने के ग्यारेन्टी छ ? आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बौद्धिकताले अब मानिसलाई बेरोजगार बनाउँदैछ भनिरहँदा ट्विटर, फेसबुक, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालले नागरिक पत्रकारिताको काम गरिरहेका छन् । कतिसम्म भने अनलाइन वा छापा र टेलिभिजन तथा रेडियोको सूचनाको स्रोतसमेत यिनै सामाजिक सञ्जाल बनिरहेका छन् । यो चुनौतीको सामना पत्रकारिताले कसरी गर्ने ? त्यसमा भन्दा अझै बढी विश्वसनीय कसरी बनाउने ? जनविचार डिजिटल मिडिया वा सामाजिक सञ्जालबाटै हुन थाल्दा मूलधारका मिडियाले दर्शक/स्रोता र पाठकलाई कसरी विश्वासलाग्दो समाचार पस्कने भन्ने चुनौती छ ।
राजनीतिक आस्थाका आधारमा सञ्चारमाध्यम सञ्चालन गर्ने प्रवृत्ति हावी छ । प्रायः नेता र तिनका निकट कुनै न कुनै सञ्चारमाध्यम छन् । पत्रकारहरु पनि दल, नेता, कर्मचारी, व्यापारी सबैका अलग अलग छन् ।
भीडको भर
हरेक व्यक्तिसँग तत्काल सूचना र त्यसको प्रवाह गर्ने माध्यम भएपछि पत्रकारिता पनि भीडको पछिपछि दौडिन थालेको छ । के सही, के गलत हो, त्यसमा सोच्ने र निर्णय गर्ने फुर्सद देखिन्न । समाजमा भैरहेका घटना, कानूनको पालना र सामाजिक मूल्य-मान्यतालाई कसैले ख्याल गरेको देखिन्न । त्यही बेला अहिले सिंगो सञ्चार क्षेत्र आर्थिक संकटको मारमा परिरहेको छ । पल शाह वा सन्दीप लामिछानेकै जबरजस्ती करणीसम्बन्धी प्रकरणलाई हेर्दा पनि भीडले सूचना र समाचारमाथि नियन्त्रण गर्न लागेको देखियो । सामाजिक सञ्जालमा भाइरल वा ट्रोलको होडले भूमिका खेल्न थालेपछि ‘हेट स्पीच’को लहर चलेको छ । ‘मिस इन्फर्मेसन’ विष बनेर फैलँदैछ । युट्युबका नाममा हुने यस्ता गतिविधि मूलधारका सञ्चारमाध्यमका लागि अर्को चुनौती हुन् ।
मुद्दा हराए, लक्षित वर्ग ठाउँ सरे
राणाकालमा सुरु भएको गोरखापत्रदेखि आजको गणतन्त्रसम्म आइपुग्दा नेपाली पत्रकारिताले निकै उतारचढाव व्यहोरेको छ । पञ्चायतकालमा मिसन पत्रकारिता थियो । बहुदलका लागि मुद्दा नै बोकेर मिडिया हिंड्यो । २०४६ सालपछि परिस्थिति फेरियो । व्यवसायिक पत्रकारिताको कुरा आयो । तर, त्यो मर्यादित पेशाका रुपमा व्यवसायिक बन्न सकेन । अचेल पत्रकारिताको राजनीतिकरण र व्यापारीकरण भयो । खोज अनुसन्धानमूलक समाचार देखिन छाड्यो । बरु बदनामी बढ्दै गयो । सर्वसाधारणलाई मिडियाले जे पनि लेखिदिन्छ भन्ने परेको छ ।
त्यसो त पछिल्लो समय आमनागरिकको मिडियामा पहुँच बढेको छ । तर, अडियन्सको चाहना के हो भन्ने अध्ययन र अनुसन्धान नहुँदा मूलधारका मिडियाले लय बिर्सेको देखिन्छ । हामी मूलधारका हौं र एजेण्डा सेट हामीले नै गर्छौं भन्ने भ्रम त छ । तर, स्रोता, पाठक, दर्शकले आफूलाई छाडिसकेको ख्याल न हामी पत्रकारले गरेका छौं न त मिडिया सञ्चालकले । स्रोता, पाठक, दर्शकहरु परम्परागत शैलीमै रमाइरहेका टीभी, रेडियो, पत्रिका छाडेर सामाजिक सञ्जाल, अनलाइन र युट्युबतिर पुगिसके । तर, हामी पुरानै प्रवृत्तिमा बसेका छौं ।
रित्ता गाउँ जस्तै हुँदैछन् मूलधारका मिडिया । घर छन्, खेतीयोग्य जमिन छ । तर, गर्ने, बस्ने र हेरचाह गर्ने मान्छे शहर पसे । यस्तै हुँदैछन् मूलधारका सञ्चार माध्यमहरु । मुद्दा छाडेको उदाहरण नै हेर्ने हो भने पनि गतवर्ष संसदले पारित गरेको र विवादित बनेको अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसीमा जे जति भयो सुरुमा मूलधारको मिडिया बोलेन । पल वा सन्दीपको केसमा पनि त्यस्तै हो । अन्तिम समयमा बल्ल लेख्न थालेका हुन् । सामाजिक सञ्जालमा रातारात भाइरल भैसकेका विषय मिडियामा देखिन केही दिन नै कुर्नुपर्यो ।
ट्विटर, फेसबुक, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालले नागरिक पत्रकारिताको काम गरिरहेका छन् । कतिसम्म भने अनलाइन वा छापा र टेलिभिजन तथा रेडियोको सूचनाको स्रोतसमेत यिनै सामाजिक सञ्जाल बनिरहेका छन् ।
यसले के देखाउँदैछ भने खासमा अहिले पत्रिका, रेडियो टेलिभिजनको परम्परागत कन्टेन्ट धेरै पुरानो भैसक्यो । अनलाइनसमेत सोसल मिडियाको चेपुवामा परेको छ । पाठक, दर्शक वा स्रोता परम्परागत वा मूलधारका मिडियाले दिने विषयवस्तुमा अडियन्स अडिन्न । तर, हामीहरु लोकतन्त्र ल्याउन लडेका हौं । हाम्रो योगदान छ भनेर बसिरहेका छौं ।
बलियो विरासत
सार्वजनिक सेवा हो सञ्चारमाध्यम । पत्रकार सार्वजनिक सम्पत्ति हुन् । उनीहरुले निजी स्वार्थका लागि सार्वजनिक सञ्चारमाध्यमको दुरुपयोग गर्नै हुँदैन । त्यसो त नेपाली प्रेसले बेलाबखत उदाहरणीय काम नगरेको हैन । विश्वमै मूलधारको पत्रकारिता संकटमा छ । त्यसको असर नेपालमा पनि पर्ने नै भयो । नेपाली पत्रकारिताको विरासत प्रिन्ट मिडिया त झन् समस्यामा देखिन्छ । दोस्रो विश्वयुद्धपछि रेडियो अनि त्यसपछि टेलिभिजन चर्चित भए । नेपालका सामुदायिक रेडियोको भूमिका पनि अब्बल हो । अहिले अनलाइन अघि छ भनिँदैछ । तर सबैका आआफ्नै बजार र विश्वास छन् । यसलाई जोगाउन त्यति सहज भने छैन । त्यसको एकमात्र कारण विश्वास डगमगाउन नदिनु हो । विश्वास गुमाउँदा र शासकको पिछलग्गू हुँदा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको विश्वकै चर्चित मुलुक भारतको मिडिया कहाँ पुग्यो । भारतमा गोदी मिडिया भनेर भन्न थालेको धेरै भैसक्यो । कतै नेपाली पत्रकारिता पनि त्यस्तै हुन्छ कि भन्ने डर सबैलाई छ ।
अब के गर्ने ?
दैनिक पत्रिकामा समाचार र विज्ञापनमा कुपोषण लाग्न थालेको छ । रेडियो र टेलिभिजन सेटहरुमा माकुराले जालो लगाउँदैछ । पत्रकारहरु बेरोजगार हुँदैछन् । यथार्थ के हो भने पाठकले खोजेभन्दा फरक विषयवस्तु दिएर मूलधारका मिडिया अब टिक्दैनन् । सूचना प्रवाह गर्ने हो पत्रकारको काम । तर, दलका मुद्दा बोकेर कमरेड र दाइ भन्दै धाउँदा खोजमूलक लेख-रचनाका सामग्री हराए । दलका समितिमा बसेका कति पत्रकारले ती दलको बेथिति उजागर गरे ? अहं कहीं भेटिन्न । अर्थात पत्रकारिताको गरिमा र मर्यादा जोगाउनु अहिलेको मुख्य चुनौती हो । दलको प्रचार गरेर वा हुबहु भाषण लेखेर प्रेस स्वतन्त्रता बलियो हुन्न ।
टीभीले युट्युब र टिकटकको सामना गर्न कठिन भैसक्यो । पत्रकार गलत सूचना, गालीगलौजपूर्ण अभिव्यक्तिका प्रचारकका रुपमा चिनिएका छन् । सामाजिक सञ्जालमा देखिने विकृति रोकेर सत्यतथ्य समाचार र विश्वसनीय विश्लेषण तथा खोज पत्रकारिता अबको आवश्यकता हो । सत्य र न्यायको आवाज बोल्ने अनि जनतामा छाएको निराशालाई आशलाग्दो र जागरुक बनाउँदै नयाँ प्रविधि र चुनौतीको सामना गरेर अघि बढ्नसके नेपालको मूलधारको पत्रकारिताले आफ्नो बाटो समाउनेछ ।
आशा र अपेक्षा
सूचना लिने र दिने मिडिया फरक भएको हो । सञ्चारको शैली र स्वरुप फेरिएको हो । यसलाई संक्रमणकालीन अवस्था ठानेर विश्वसनीय सूचना सम्प्रेषण गर्नसके धेरै सुधार हुन्छ । त्यसका लागि पत्रकारहरुले आफूलाई सच्याउन पर्छ । नयाँ जनशक्ति र पढेलेखेका पत्रकारले न्यूज रुमको नेतृत्व लिनुपर्छ । केवल जनरुचिका र विश्वासलाग्दा विषय दिनुपर्छ । विषय र विश्वसनीयतामा नयाँपन दिनुपर्छ ।
विश्वास गुमाउँदा र शासकको पिछलग्गू हुँदा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको विश्वकै चर्चित मुलुक भारतको मिडिया कहाँ पुग्यो । भारतमा गोदी मिडिया भनेर भन्न थालेको धेरै भैसक्यो । कतै नेपाली पत्रकारिता पनि त्यस्तै हुन्छ कि भन्ने डर सबैलाई छ ।
पत्रकारितालाई बाटो बिराउनबाट जोगाउने हो भने राज्यका कामकारबाहीका बारेमा समीक्षा गर्नसक्ने पत्रकारिता गर्नुपर्छ । राज्य संयन्त्रमा भैरहेको दलीयकरण रोक्न र आफू दल तथा नेताको खल्तीमा नबस्ने आँट गर्नुपर्छ । हिजो अभ्यासका आधारमा गरिँदै आएको पत्रकारितालाई अब योग्यता र क्षमताका आधारमा अघि बढाउन आवश्यक छ । पत्रकार हुनेहरु निश्चित योग्यता पास भएका र परीक्षामा अब्बल हुनुपर्छ । प्रविधिको उच्चतम प्रयोग गर्दै पेशामा देखिने अवसर र चुनौती सामना गर्न तयार हुनुपर्छ ।
पेशागत सिद्धान्तबाट विमुख हुँदा गुमेको विश्वास फर्काउने र प्रेस स्वतन्त्रताको उपभोग जनताले गर्ने गरी निरन्तर बहस र छलफल आवश्यक छ । सामाजिक न्याय, सुशासन, पारदर्शिता र विधिका पक्षमा हुनुपर्छ पत्रकारिता । योसँगै पत्रकारहरुको क्षमता अभिवृद्धि गरिनुपर्छ । गलत सूचना सम्प्रेषण हुनबाट रोक्न साझा पहल गर्नुपर्छ । यतिसम्म हुनसके पनि नेपाली पत्रकारिताले छोटै अवधिमा मारेको गुणात्मक फड्कोलाई फेरि लयमा लैजान सकिनेछ । पत्रकारहरुले सत्तालाई प्रश्न गर्न छाडेर अवसर पाउँदा आफैं सत्ताधारी भएपछि पत्रकारितामा सत्यतथ्य र निष्पक्षता कहाँ रहन्छ र ?
पत्रकारिताको विकास र स्वतन्त्रतासँगै चुनौती र दायित्वका विषयमा पनि समीक्षा गर्ने र त्यसलाई व्यवहारमै उतार्नुपर्ने आवश्यकता छ । किनभने स्वतन्त्र सञ्चारको सुनिश्चितता जति महत्वपूर्ण छ, त्यति नै आवश्यक छ पेशागत मर्यादा र दायित्व । किनभने नागरिकले प्राप्त गर्ने सूचनाको हकको प्रयोग यसैमा जोडिएको हुन्छ । सम्पादकीय मूल्य-मान्यता र स्वतन्त्रताको वास्ता नगर्ने, विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनको स्रोत बनाउने प्रवृत्ति रहेसम्म पत्रकारिताले राम्रो गर्न सक्दैन । त्यसले पत्रकारिताको गरिमा घटाएको छ र विश्वसनीयता गुमाएको छ ।
सम्पादकीय मूल्य-मान्यता र स्वतन्त्रताको वास्ता नगर्ने, विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनको स्रोत बनाउने प्रवृत्ति रहेसम्म पत्रकारिताले राम्रो गर्न सक्दैन । त्यसले पत्रकारिताको गरिमा घटाएको छ र विश्वसनीयता गुमाएको छ ।
पत्रकारिताको विकल्प अर्को हुन्न । तर, सूचनाकारिता र दलीयकरण हटाएर समाचार नखोजेसम्म समस्या रहिरहन्छ । अब बताउनुभयो, गर्नुभयो भन्ने भनाइकारिताले चल्दैन । जनतासँग जोडिएर हरेक विषयमा कारण खोतल्नुपर्छ । किनभने पत्रकारले त समाज रुपान्तरणका पक्षमा आवाज उठाउने हो । पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने मुख्य दायित्व पत्रकारहरुकै हो । व्यवसायिक र मर्यादित पत्रकारिताबारे बहस र छलफल गरेर नथाक्ने नेपाली सञ्चार क्षेत्रमा आचारसंहिता उल्लंघन सधै पेचिलो बनिरहेको छ । त्यसैले लुकेका र लुकाइएका कुराहरु सार्वजनिक गर्नुपर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने पत्रकार नै आफ्नो पेशागत कर्ममा भन्दा गोजीमा दलको सदस्यता बोकेर हिंड्दा न समाचारमा विश्वसनियता रहन्छ न त पत्रकारमाथि नै ।
जिल्लाहरुमा एउटा अर्को समस्या छ । सार्वजनिक कार्यक्रमको ‘ठेक्का’ लिएर समाचार बाँड्ने प्रवृत्तिले सञ्चारका उपभोक्तालाई नयाँ सूचना दिन्न । एकजना पत्रकारले लेखेको समाचार सबैतिर बाँड्दा एउटै समाचार धेरै सञ्चारमाध्यममा प्रकाशन, प्रशारण हुने क्रम घटेको छैन । बहस न्यू मिडिया, न्यू मिडियम, ‘स्मार्ट जर्नालिजम’ को गर्ने तर व्यवहारमा पत्रकारको संख्या बढ्ने भएपछि त अरु पेशामा टिक्न समस्या हुने खालको छ । ‘रिर्पोटिङमा जाँदा भएको खर्च र आम्दानी हेर्दा दिनहुँ घाटा हुने पत्रकारिता गर्नुपरेसम्म पत्रकारिता सुध्रिन्न ।
त्यसैले सामाजिक कुरीतिविरुद्ध पारदर्शिता र बेथितिसँग लड्नसक्ने क्षमता राख्ने पत्रकारिताको गरिमा जोगाउने हो भने सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई जनताको समृद्धिसँग गाँस्ने मूल आधार बनाउने गरी पत्रकारितालाई नयाँ ढंगले अघि बढाउनुपर्छ । भाषणमा र दाताको परियोजनाका लागि व्यवसायिक र गुणात्मक पत्रकारिताको कुरा गर्ने हामी पत्रकार आफैं सुध्रिन तयार छाैं त ? प्रश्न आफैंलाई गरौं ।
सामाजिक कुरीतिविरुद्ध पारदर्शिता र बेथितिसँग लड्नसक्ने क्षमता राख्ने पत्रकारिताको गरिमा जोगाउने हो भने सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई जनताको समृद्धिसँग गाँस्ने मूल आधार बनाउने गरी पत्रकारितालाई नयाँ ढंगले अघि बढाउनुपर्छ ।