लुम्बिनी र मधेश प्रदेश प्रमुख सचिवविहीन बनाउँदै ३ सचिवको सरुवा – Nepal Press

लुम्बिनी र मधेश प्रदेश प्रमुख सचिवविहीन बनाउँदै ३ सचिवको सरुवा

सञ्चार मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर राउतलाई, कोशीको जिम्मेवारीमा काफ्ले

काठमाडौं । सरकारले दुईवटा प्रदेशमा प्रमुख सचिवविहीन हुनेगरी ३ जना सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिवसहित ३ जना सविचको सरुवा गरेपछि मधेश प्रदेश र लुम्बिनी प्रदेश प्रमुख सचिवविहीन भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल आगामी असार पहिलो साता अनिवार्य अवकाशमा जाँदै छन् ।

अर्यालको सरुवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी मधेश प्रदेशका प्रमुख सचिवको जिम्मेवारीमा रहेका कृष्णबहादुर राउतलाई ल्याइएको छ । राउत १५ महिनादेखि मधेश प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । २०७८ पुष २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो ।

बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव डा.दीपक काफ्लेको कोशी प्रदेश प्रमुख सचिवमा सरुवा गरेको छ । काफ्ले विगत ८ महिनादेखि लुम्विनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । उनलाई गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेको थियो ।

कोशीले पायो प्रमुख सचिव, मधेश र लुम्बिनीले पाएनन्

लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका दिपक काफ्लेको कोशी प्रदेश प्रमुखमा सचिवमा सरुवा भएसँगै करिब ७ महिनादेखि रिक्त रहेको कोशी प्रदेशले प्रमुख सचिव पाएको छ । ७ महिना अघि तत्कालिन प्रमुख सचिव विनोदप्रकाश सिंहको गृह मन्त्रालयमा सरुवा भएपछि कोशी प्रदेश सरकार निमित्त प्रमुख सचिवको भरमा चलिरहेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत नेपाल सरकारका कानून सेवाका सहसचिव (प्रदेश सचिव) किशोरकुमार चौधरीले विगत ७ महिनादेखि नै निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

संघीय मन्त्रालयमा आइसकेका सचिव अहिलेसम्म प्रदेश प्रमुख सचिवमा नगएको हुँदा लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रमुख सचिवविहीन भएका हुन् । कि त सरकारले एक सचिवको दरबन्दी बढाएर पदपूर्ति गर्नुपर्छ ।

राष्ट्रिय किताबखानाको विवरण अनुसार आगामी असार ३ गते मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले अनिवार्य अवकाश पाउँनेछन् । त्यसपछि मात्रै सचिव बढुवा प्रक्रिया अघि बढ्ने भएकाले मधेश प्रदेश र लुम्बिनी प्रदेशले अझै केही समय कुर्नुपर्नेछ ।

२ महिनामै गृहसचिव सिंहको सरुवा भएका कारण प्रदेश प्रमुख सचिव रिक्त

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो । बढुवा भएको १० दिनपछि असार १६ गते सिंहले कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए । जिम्मेवारी सम्हालेको २ महिना पुग्ने वित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त राखेर सिंहलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिएको थिए ।

जतिबेला गृहमन्त्रीको जिम्मेवारीमा काँग्रेसकै नेता बालकृष्ण खाण थिए । पछिल्लो समय सबैभन्दा थोरै समय प्रदेशमा बस्ने सचिव सिंह नै हुन् । सिंह २०७९ असार १६ गतेदेखि २०७९ भदौ २९ गतेसम्म मात्रै कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा बसेका थिए ।

सिंहभन्दा अघि प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले भने २०७८ साउन ३२ गतेदेखि २०७९ असार १४ गतेसम्म करिव एक वर्ष जिम्मेवारी सम्हालेका थिए । उनी भन्दा अघि नै प्रदेश प्रमुखको सचिवको जिम्मेवारीमा रहेकाहरु अहिले पनि प्रदेश प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् ।

२०७८ कात्तिकदेखि गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका रबिलाल पन्थ डेढ वर्षदेखि प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् । एक वर्ष अघि २०७८ फागुन १२ गतेदेखि बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालेका मुकुन्दप्रसाद निरौला पनि एक वर्ष भन्दा बढी समयदेखि सोही जिम्मेवारी सम्हालिरहेका छन् ।

उनीहरु २ जना भन्दा पछि नै सचिवमा बढुवा भएका विनोदप्रकाश सिंह भने कोशी प्रदेशबाट गृह सचिवमा सरुवा भएर पनि ६ महिना बिताइसकेका छन् । सिंह २०७९ असार ६ गते सहसचिवबाट सचिवमा बढुवा भएका थिए ।

२०७९ असारदेखि कर्णाली प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका डा. गोपीकृष्ण खनाल ९ महिनादेखि सोहि जिम्मेवारीमा रहेका छन् । यस्तै गत भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा भएका नारायणप्रसाद शर्मा पनि ७ महिनादेखि सुदूरपश्चिम प्रदेश प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् ।

प्रधानमन्त्री कार्यालयमा ८ जना सचिव

मधेश प्रदेश र लुम्बिनी प्रदेशमा प्रमुख सचिव विहिन भइरहदाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ७ जना सचिव कार्यरत छन् । सञ्चार सचिव डा.बैकुण्ठ अर्यालयको प्रधानमन्त्री कार्यालयमा सरुवा भएसँगै सचिवको संख्या ८ पुगेको छ ।

जसमा दिनेश भट्टराई आर्थिक तथा पूर्वाधार विकास, अर्जुनप्रसाद पोखरेल सामाजिक विकास तथा प्रादेशिक समन्वय, उदयराज सापकोटा कानून तथा मानवअधिकार, सुमनराज अर्याल राष्ट्रिय सुरक्षा तथा सुशासन गणेशप्रसाद पाण्डेय प्रशासन र नतिजा व्यवस्थापन र रामआधार साह ईन्जिनियर क्लष्टर हेरिरहेका छन् ।

यस्तै, स्वास्थ्य अवस्था ठीक नभएका कारण सचिव खगेन्द्रप्रसाद नेपाल बढुवा भएदेखि नै विशेष दरबन्दीका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् ।

अब सञ्चार सचिव अर्याल प्रधानमन्त्री कार्यालयमा जगेडामा बस्नेछन् वा अरु कसैलाई जगेडामा राखेर उनलाई कुनै जिम्मेवारी दिइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर