भन्सार विभागका नासुसँग २ करोड १४ लाख अकुत सम्पत्ति, अख्तियारले चलायो मुद्दा
काठमाडौं । भन्सार विभागका अवकाश प्राप्त नायब सुब्बा-नासु रघुनाथ घिमिरेको २ करोड १४ लाख रुपैयाँभन्दा बढीको सम्पत्तीको स्रोत खुल्न नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवामा रहँदा घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा काम गरेका थिए । अख्तियारका अनुसार घिमिरे २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्म सेवामा रहेका हुन् ।
घिमिरेको पारिश्रमिक, निजकी श्रीमती शारदा गौतमको पारिश्रमिक, छोरीको पारिश्रमिक, कर्मचारी सन्चय कोषसहित विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको रिण, जग्गा विक्री, घर बहालसहित विभिन्न माध्यमबाट ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ वैधानिक आय गरेको देखिने अख्तियारको दाबी छ ।
तर सोही सेवा अवधिमा उनले ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ व्यय र लगानी रहेको अख्तियारले जनाएको छ । २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँको स्रोत नखुलेको दावी गरिएको छ। अख्तियारले श्रीमती शारदालाई पनि प्रतिवादी बनाएको छ ।