घरभाडामा प्रदेश सांसदहरूको लोभ : विराटनगरमै घर भएकाहरू पनि बुझ्छन् मासिक रकम
कोशीका कुन सांसदले मासिक कति बुझ्छन् घरभाडा ? (सूचीसहित)
विराटनगर । कोशी प्रदेश सभाका ७ जना बाहेक सबै प्रदेशसभा सदस्य घर भाडामा लोभिएका छन् । विराटनगर मै घर भएर पनि प्रदेशसभाले दिने मासिक १९ हजार रुपैयाँमा लोभिएर प्रदेश सभा सदस्यहरूले घर भाडा बुझेका छन् ।
यसरी विराटनगरमै घर भएर पनि घर भाडा बुझ्ने प्रदेश सभा सदस्य हुन् भीम पराजुली । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले मासिक १९ हजारका दरले घर भाडा बुझेको देखिएको छ ।
नेपाल प्रेसले सूचनाको हक प्रयोग गरी कोसी प्रदेश सभा सचिवालयसँग मागेको विवरणमा विराटनगरका पूर्व मेयर पराजुलीले मासिक घर भाडा बुझेको देखिएको छ ।
उनी मोरङ क्षेत्र नम्बर ४ (२) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनको घर कोसी प्रदेश सभा भवनबाट मुस्किलले ४ किलोमिटर पर कञ्चनवारिमा छ । उनको निर्वाचन क्षेत्र पनि विराटनगर महानगरपालिका भित्र समेत पर्छ ।
पराजुली बाहेक विराटनगरमै घर भएकाहरूले पनि संसद् सचिवालयबाट घर भाडा बापत रकम बुझेका छन् । यसरी रकम बुझ्ने प्रदेश सभा सदस्यहरूको निर्वाचन क्षेत्र भने विराटनगर बाहिर रहेको छ ।
कोसी प्रदेश सभामा सुनसरी मोरङ र झापाका प्रदेश सभा सदस्यहरू धेरै जसो घरैबाट धाउने गरेका छन् । तर मोरङबाट प्रतिनिधित्व गर्ने ७ जना कोशी प्रदेश सभाका सदस्यहरूले मासिक घर भाडा बुझेका छन् ।
मोरङका प्रदेश सभा सदस्यहरू खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, उमाकान्त गौतम, गयानन्द मण्डल, मानबहादुर लिम्बु, मालती कुमारी लिम्बु घरैबाट प्रदेश सभा आउने जाने गरेका छन् । ती मध्ये केही प्रदेश सभा सदस्यको घरै विराटनगरमा छ । तर पनि उनीहरूले घर भाडा बापतको रकम बुझेको देखिन्छ । मोरङका लीलाबल्लव अधिकारी र विद्या चाम्लिङ नुरशदी वेगमले पनि घर भाडा बापत रकम बुझेको देखिन्छ ।
यस्तै सुनसरीका सबै प्रदेश सभा सदस्यहरूले घर भाडा बापतको रकम बुझेका छन् । उनीहरू कोही पनि विराटनगरमा बस्दैनन् । संसद् चलेका बेला र काम परेका बेला विराटनगर जाने प्रदेश सभा सदस्यहरूले घर भाडा बुझेका छन् । घर भाडा बुझ्ने सुनसरीका सबै प्रदेश सभा सदस्यहरूको आफ्नै घर रहेको छ ।
सुनसरीका प्रदेश सभा सदस्यहरू रेवती रमण भण्डारी , रोहितबहादुर कार्की, रामप्रसाद महतो, रामदेव यादव, इस्राइल अन्सारी, सदानन्द मण्डल विजय राई, रमेश बस्नेतले घर भाडा बुझेको देखिन्छ ।
यस्तै समानुपातिकबाट प्रदेश सभा सदस्य भएका मिना श्रेष्ठ, निरादेवी खनाल, सुनिता गच्छदार, सुनिता गुरुङ राम, सपना दर्जीले पनि घर भाडा बुझेको देखिन्छ ।
कोसी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूका लागि घर भाडा भनेर १४ लाख ६५ हजार रुपैयाँ निकासा गर्दै आएको छ ।
सात संसद् जसले घर भाडा बुझ्दैनन्
कोसी प्रदेश सभाका सात जना प्रदेश सभा सदस्यले भने घर भाडा बुझेका छैनन् । यसरी घर भाडा नबुझ्ने संसद्को सूचीमा अमृत अर्याल, केदार कार्की, शिला दीक्षित कार्की, जय प्रकाश चौधरी रहेका छन् । गणेश उप्रेती, गीता तिम्सिना, गीतारानी महतोले पनि घर भाडा बुझेका छैनन् ।
हेर्नुस् घर भाडाको सूची सहित
सुशासन भनेको यहि हो ।