चितवनमा कांग्रेस उम्मेदवारलाई मतदान गर्न दिनेश कोइरालाको अपिल


हेटौँडा । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर चितवन क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले चितवन–२ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्।
कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन्।
यस अघिको निर्वाचनमा एमालेले कोइरालालाई सहयोग गरेको भएपनि यो उपनिर्वाचनमा उनले कांग्रेकै उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका हुन् ।
यस अघि आफ्नो उम्मेदवारीबाट ‘ब्याक’ भएर कोइरालालाई सहयोग गरेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई यो पटक एमालेले उपनिर्वाचनको लागि उम्मेदवार बनाएको अवस्थामा पनि कोइरालाले भने कांग्रेसलाई मतदान गर्न अपिल गरेका हुन् ।
उनले भनेका छन्, ‘नेपालको राजनीतिक, सामाजिक, धार्मिक, आर्थिक वातावरण सजिलो बाटोमा गइरहेको छैन। अर्थतन्त्रमा सबैभन्दा बढी समस्या देखिएको छ। कांग्रेसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन अगुवाइ गर्नुपर्छ । तनहुँमा उम्मेदवार बनेका गोविन्द भट्टराई र चितवनमा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ प्रतिनिधिसभामा पुग्नै पर्ने सशक्त उम्मेदवार हुन्।’