गणतन्त्रलाई क-कसले बनाए ठगी खाने व्यवस्था ?
हामीले स्कुल पढ्ने बेलासम्म १७-१८ वर्षमा धेरै नानीहरुको बिहे भैसक्थ्यो । भने जस्तो घर केटो आए ९-१० कक्षा पढ्दै छोरी दिने चलन थियो पहिले । सबै निर्णय अभिभावककै हुने भए पनि अन्तिममा केटाकेटी देखाउने चलन थियो । भने जस्तो घरका केही क्राइटेरिया हुन्थ्यो जस्तो सरकारी जागिर, ब्रिटिस सेना, भारतीय सेना, काठमाडांै या अन्य शहरमा घरबास भएको, तराईमा जग्गा भएको आदि अब्बल मानिन्थे ।
धेरै दाजुभाइ, दिदीबैनी नभएको र छोरीलाई घाँसदाउरा, मेलोपँधेरो गर्न नपर्ने र सकेसम्म बिहेपश्चात श्रीमानसँग सँगै बस्न पाउने कुरा अतिरिक्त आकर्षण मानिन्थ्यो । प्रायः १० कक्षा मा एसएलसी दिने बेलासम्म धेरैको बिहे भैसक्थ्यो । स्कुले कक्षामा ५०-६० जना छात्र हुँदा मुस्किलले एउटा बेन्चमा छात्रा हुन्थे । कुनै कुनै कक्षामा एक जनामात्र छात्रा भए पनि सिङ्गो बेन्चमा उनीमात्र हुन्थिन् । उनको बेन्चमा छात्र मिसिएर बस्ने चलन थिएन । व्यापार व्यवसाय प्राथमिक विषय थिएनन् । भए पनि नेवारहरु उद्योग व्यापार, थकाली होटल, सुनार सुनचाँदीको व्यापारमा संलग्न हुन्थे । अरु बाँकी कि जागिर या कृषि पेशामै लागेर जीविकोपार्जन गरेका हुन्थे ।
शहरिया विकृति र सुनसान गाउँघर !
समय फेरियो । पचासको दशकपछि मानिसहरु कृषि पेशामा निर्भर रहन छोड्दै गए । गाउँमा अलिकति व्यवस्थित भएर बसेका, अलिकति खान पुग्ने, अलिकति पढेका र प्रश्न गर्नसक्नेलाई माओवादी द्वन्द्वका बेला सामन्त, सुराकी या पुरानो सत्ताका दलाल भनेर शहरतिर बसाइ सरे । शहरमा सजिलै बसाइ सर्नसक्नेहरु आफैं पनि गाउँ असुरक्षित मानेर गाउँबाट शहर पलायन भए । व्यापारमा सबै जातका मानिसहरु संलग्न हुन थाले भने गाउँका युवा पनि वैदेशिक रोजगारमा विभिन्न मुलुकमा गए । आफूले दुःख पाए पनि छोराछोरीले उचित शिक्षा पाऊन् भनेर छोराछोरी पढाउन शहर र आसपासका गाउँमा झर्ने लहर चल्यो ।
अधिकांश स्थानमा आधुनिक कृषिको योजना नभएर पशुपालन, माछा, कुखुरा तथा दूधजन्य उत्पादनहरु पनि पशु आहारको परनिर्भरताले आयात नै वृद्धि भैरहेको छ । अर्कोतिर सीमित मात्रामा छुट्याइएको कृषि अनुदान तथा सुविधाहरु टाठाबाठा नेता र कर्मचारीतन्त्रको अतिरिक्त आम्दानीको स्रोत भइरहेको छ ।
एकातिर शैक्षिक दलाली मौलायो सँगसँगै वैदेशिक रोजगारमा गएका दाजुभाइले कमाएको रकम हात पार्न जग्गाको व्यापार बढ्यो । शहर नजिकका खेतीयोग्य जमिनहरु सबै टुक्रा पारेर घडेरी बने । गाउँबाट जालीफटाहा फेरि शहर पसेर तिनै हिजो गाउँका शोषितपीडित वैदेशिक रोजगारमा गएकालाई घडेरीको बल्छीमा पार्न थाले । अझ कतिले त बैदेशिक रोजगारीमा गएका आफ्नै भाइभतिजाका श्रीमती रमाइलोका साधन पनि बनाए । हुँदाहुँदा विदेशबाट फर्केर आउँदा बच्चा मावलीमा श्रीमती गरगहना र सम्पत्ति लिएर टाप कसेका दृष्टान्तहरु पनि बर्गेल्ती छन् ।
नवधनाढ्यको उत्पत्ति
गाँस, बास र कपासमात्र होइन रोजगारी र जातीय एवम् सांस्कृतिक अधिकारसमेत दिने आश्वासनमा हजारौंले ज्यान फाले, कति घरबारविहीन भए, शरीरमा वर्षौंदेखि गोलीको छर्रा बोकेर तड्पिने तथा युवा उमेरका छोराछोरी गुमाएका बेसहारा बुढाबुढी तथा बाबुआमा गुमाउने टुहुरा बालबच्चा युवा भैसके । सामन्त भनेर झण्डा गाड्दै कब्जा गरिएका जग्गाहरु टाठाबाठा कामरेडहरुले घडेरी बनाएर बेचे या ठूला कृषि फर्म, रिसोर्ट होटल आदिमा फेरिए । हिजो सामन्त भनिएकाहरु, गाउँमा विभिन्न किसिमको बदमासी गरेर मुख देखाउन लाज मानेकाहरु ठूला घर,गाडी र सुटबुट तथा नेता कामरेडका संगतले विभिन्न ओहदा ओगट्ने भए । जनताका हक अधिकार र देश विकासका कुरा किताबमा लेखिए, रेडियो र टेलिभिजनमा पढिएमात्र ।
बितेको १०-१५ वर्षमा केही धनीहरु थपिए । दलाली यति मौलायो, आफ्नै बाबुसित पनि कमिसन खानु, भाञ्जा, दिदीबैनी ठग्नु पनि सामान्य लाग्न थाल्यो । भुटेका मकै, भटमास, कोदो-फापरका रोटी जस्ता मौलिक र स्वस्थबर्द्धक खानेकुरा मम, चाउमिन, पिजा, बर्गर जस्ता खानेकुराले प्रतिस्थापन गरे । ग्रामीण बस्तीबाट रोजगारी र अवसरको खोजीमा शहर पस्ने र वैदेशिक रोजगारीमा जाने संख्या बढ्दै जाँदा गाउँबस्ती रित्ता भए । खास गरेर तराईका खेतीयोग्य जमिन घर घडेरीमा खण्डित हुने र पहाडका कृषि योग्य जमिन बाँझिएर जंगलमा परिणत हुने अवस्था बढ्दै जाँदा खाद्यान्न आयात पनि बढ्दै गएको छ । नीति निर्माताहरुले कागजी योजना बनाए पनि कृषि उत्पादन बढाउनेतिर सफलता हासिल भएको छैन । अधिकांश स्थानमा आधुनिक कृषिको योजना नभएर पशुपालन, माछा, कुखुरा तथा दूधजन्य उत्पादनहरु पनि पशु आहारको परनिर्भरताले आयात नै वृद्धि भैरहेको छ । अर्कोतिर सीमित मात्रामा छुट्याइएको कृषि अनुदान तथा सुविधाहरु टाठाबाठा नेता र कर्मचारीतन्त्रको अतिरिक्त आम्दानीको स्रोत भइरहेको छ ।
कृषिलाई यान्त्रीकरणको खाँचो
गोरु पाल्ने र हलो जोत्नेको संख्या घटेसँगै कृषि एक प्रकारले टुहुरो भएको छ । ठूल्ठूला कागजी गफ भए पनि राज्यले कृषिलाई हेरेकै छैन । कृषि र कृषकको भाषामा भन्दा एक प्रकारले देश राज्यविहीन नै छ भन्दा फरक पर्दैन । बितेको सात महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४४ अर्ब रकम विदेशी कलेजहरुमा पठाए । यो डरलाग्दो संकेत हो । देशको शिक्षा, स्वास्थ्य र रोजगारीको सम्भावनाप्रति युवाहरुको विश्वास निरन्तर घट्दो छ । कृषियोग्य जमिनलाई चक्लाबन्दी गर्ने, हाते ट्याक्टरले होइन ठूल्ठूला प्लटहरुमा ठूलै उपकरण प्रयोग गरेर खेती गर्न अत्यन्तै जरुरी भैसक्यो । सँगै हरेक कृषि उपजको बजार मूल्य तोक्ने र कृषि उत्पादनको लागत घटाउनसके स्वतः खर्बौंको कृषिजन्य आयात घटाउन सकिन्छ । बालुवैबालुवा भएको अरब मुलुकहरुले गहुँ निर्यात गर्ने भैसके । हामी भने खेतीयोग्य जमिन थप खण्डीकरण र प्लटिङ गर्न उद्यत छौं ।
बितेको सात महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४४ अर्ब रकम विदेशी कलेजहरुमा पठाए । यो डरलाग्दो संकेत हो । देशको शिक्षा, स्वास्थ्य र रोजगारीको सम्भावनाप्रति युवाहरुको विश्वास निरन्तर घट्दो छ ।
यता पहाडमा गोरु छैनन्, ट्याक्टर लग्ने बाटो खन्न थाल्दा जग्गाधनी चिच्याउँछन् । हिजो गाईगोरु हिंड्ने सानो बाटोहरुलाई ट्याक्टर छिर्नेगरी विस्तार गर्न बाधा छ । विद्युत बिक्री गर्नुको सट्टा मल कारखाना खोल्ने, विद्युतीय सवारीसाधनमा व्यापक रुपमा कर भन्सार कटौती गरेर प्रशस्त चार्जिङ सेन्टरहरु विस्तार गर्ने तथा श्रमिक युवाहरुलाई कम्तिमा मासिक ३० हजार पारिश्रमिक उपलब्ध गराउनसकेमात्र देशको अर्थतन्त्रले सही दिशा ग्रहण गर्नसक्छ । तर, हाम्रो दिशाहीन राजनैतिक नेतृत्व देश कङ्गाल बनाएर भुँडी भर्न व्यस्त छन् । कृषिजन्य वस्तुको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन नै देशको सही दिशानिर्देश हो । कम्तिमा पेट पाल्न त अरुसँग हात पसार्न नपरोस् !
कोभिड तथा रुस-युक्रेन युद्धको दुष्प्रभावबाट कसरी जोगिने ?
कोभिड र रुस-युक्रेन युद्धको कारण संसारभर एक प्रकारको आर्थिक मन्दी छ । यसको मारमा खास गरेर शहरिया गरिब र ग्रामीण किसान वर्ग परेको छ । कैयौं देशबाट रोजगारीमा गएका दाजुभाइ फर्केर बेरोजगार बसेका छन् । यो महामारीबाट एउटा दरिलो पाठ विदेशमा श्रम बेच्न जाने दाजुभाइहरुले सिक्नु नै पर्दछ । स्वदेशमा नगद आम्दानी हुने कपाल काट्ने, ममफसली बेच्ने, कबाड जम्मा गरेर बेच्ने, ठेलामा खाजा, तरकारी, फलफूल घरघरमा पु¥याएर बेच्ने, माछा बिक्री गर्ने, भरिएको ट्वाइलेट सफा गर्नेदेखि फर्निचर, वेल्डिङ, फल्स सिलिङ जस्ता लगानी कम छिटो आम्दानी हुन कार्यहरुमा संलग्न भारतीय कामदारलाई विस्थापित गर्नुपर्नेछ । घरघरमा गएर बोदिएको चक्कु छुरी उद्याउँदा या घरमै गएर कपाल काट्ने काम गर्दा किन लाज मान्नु ? काम सानो ठूलो नभनेर देशभित्र स्वरोजगार हुँदा अरुले लैजाने पैसा बचत हुनुका साथै काम गर्ने संस्कार र संस्कृतिको विकास हुन गई वास्तवमै हामी समृद्धितिर उन्मुख हुन्छौं ।
त्यसैगरी देश पशुजन्य उत्पादनबाट आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गइरहेको छ । हामीले खाली रहेको जमिनमा जुन ठाउँमा जे हुन्छ जुनेलो, फापर, काउनो, कोदो सखरखण्ड तथा उपलब्ध जमिनअनुसारको फलफूल, मसला तथा जडिबुटी उत्पादनमा लाग्न ढिलो भैसक्यो । अर्काको देशमा त्राहीमाम हुनुपर्ने र अफ्ठेरो पर्दा सबैले तिरस्कार नै गर्ने रहेछन् भन्ने कुराबाट शिक्षा लिँदै स्वरोजगारतर्फ उन्मुख होऔं । महामारी र आर्थिक मन्दीबाट जोगिन तथा कम्तिमा कृषिमा आत्मनिर्भर हुन आफ्नो गाउँघर फर्कनुपर्ने भएपछि बल, बुद्धि र पसिनाले सिंचेर हामी हाम्रा पुर्खाले आर्जेको भूमि पुनः गुल्जार गरौं । हिजो अन्न फलाएका खेतबारी पुनः खनजोतमा लागौं । हामीले अलिकता परिश्रम गरेर आत्मनिर्भर हुन सिक्यौं भने महामारी तथा विश्वको बदलिएको परिस्थिति हाम्रो निम्ति बरदान सावित हुनसक्ने आधार छ । तर, दुर्भाग्य सधैं अरुको इसारामा चल्ने यो या त्यो नामका कठपुतलीहरु नै सत्तामा छन् । उत्तम खेती, मध्यम व्यापार र अधम नोकरी त्यसै प्राथमिकीकरण गरेका हैनन् हाम्रा अग्रजहरुले ।