लुम्बिनीमा एकैदिन सरकारी र प्रमुख प्रतिपक्षका अलग–अलग पीस म्याराथन प्रतियोगिता – Nepal Press

लुम्बिनीमा एकैदिन सरकारी र प्रमुख प्रतिपक्षका अलग–अलग पीस म्याराथन प्रतियोगिता

खेलाडीहरुबीच विवाद बढाउने चिन्ता, सरकारी पक्षको भन्दा विपक्षको पुरस्कार ठूलो

रुपन्देही । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार लुम्बिनीमा सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल निकट संस्थाहरुले आयोजना गरेको पीस म्याराथन प्रतियोगिताले खेलाडीलाई अन्यौलता थपेको छ ।

बिहीबार लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय पीस म्याराथन२०२३ को आयोजना गरेको छ भने मदन भण्डारी स्पोट्र्स एकेडेमीले पनि सोही ठाउँमा म्याराथन प्रतियोगिताको आयोजना गरेको छ ।

एकैदिन एकै क्षेत्रमा एकै प्रकृतिका प्रतियोगिता आयोजना गरेर सरकार पक्ष र प्रमुख प्रतिपक्षबीच थप असमझदारी बढ्ने चिन्ता खेलप्रेमीको छ । तर नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषदले यसलाई क्षेत्र छुट्टाएर आपसी समन्वयमा समय अन्तर पारेर विवाद हुन नदिने प्रतिवद्धता गरेको छ ।

ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले आफूहरुको पूर्वनिर्धारित कार्यक्रम भएपनि एकेडेमीले पछि सो क्षेत्र छनौट गरेको दावी गरे । ’हामीले निर्णय गरेपछि उहाँहरुले पनि गर्ने भनेको सुन्यौ, एकै प्रकृतिको एकै ठाउँमा नगरेको भए पनि हुनेथियो, तर तयारी भइसकेपछि हामी समन्वय गरेर अगाडि जान्छौं, विवाद आउन दिँदैनौ’–उनले भने ।

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रकालाई निमन्त्रणा गरिएको र यो लुम्बिनीका लागि गौरवको कार्यक्रम भएको उनले बताए । निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने श्रेष्ठले दाबी गरे ।

कपिलवस्तुको तिलौराकोट दरबारबाट विहीबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिए ।प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागिसमेत निमन्त्रणा गरिने छ । विशेषगरीवुद्धिजम मान्ने देशहरुलाई लक्षित गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी खेलकूद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको उनले बताए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी तथा भारत र अन्य देशबाट पनि खेलाडी आउनेक्रममा छन् । यो कार्यक्रमका लागि करिब ५० लाख खर्च अनुमान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले यसको उद्घाटन गर्नेछन् ।

यता मदन भण्डारी स्पोट्र्स एकेडेमीले पनि बिहीबार नै लुम्बिनीमा उस्तै प्रतियोगिता आयोजना गरेको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले आफूहरुले एक वर्षदेखि तयारी गरेर पहिले नै दर्ता गराएको बताए । देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने बताउँदै खेलकुद परिषद्सँगको समन्वयमा विवाद आउन नदिन अर्को कार्यक्रमलाई समय सारिएको बताए ।

हाम्रो ७७ जिल्लाका २ हजार ५ सय जनाले सहभागी लिने ठूलो कार्यक्रम हो, हामी लुम्बिनीमै रहन्छौं, बिहान ७ बजे सुरु हुन्छ, उहाँहरुलाई तौलिहवाबाट सुरु गराएर लुम्बिनी आउदा एकआपसमा विवाद हुने अवस्था हुँदैन– उनले भने । प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुनेछ ।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा उत्रनेछन् । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गर्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *