मुख्यमन्त्रीको बदनाम गर्न प्रदेशसभाको बिजुली काटियो: सचिवालय – Nepal Press

मुख्यमन्त्रीको बदनाम गर्न प्रदेशसभाको बिजुली काटियो: सचिवालय

रुपन्देही । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले चैत २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बक्यौता विद्युत महसुल बुझाउन पत्र लेख्यो । पत्रमा तोक लगाउँदै मुख्यमन्त्री कार्यालयले विद्युत महसुल भुक्तानी दिन स्वीकृति दिन्छ । पत्र दर्ता भएको केहीबेरमै प्रदेशसभाको विद्युत सप्लाई काटिन्छ ।

विद्युत महसुल भुक्तानीको प्रक्रिया थाल्दाथाल्दै बिजुली काटिनु र त्यसअनुसार प्रचार गरिनु मुख्यमन्त्रीको बदनाम गराउने षड्यन्त्रको रुपमा बुझेको मुख्यमन्त्रीको सचिवालयले प्रतिक्रिया दिएको छ ।

‘पत्र दर्ता भएको केही बेरमा संसदको विद्युत काटिनु, त्यहाँ त्यहीअनुसारले कुरा उठ्नु, यो मुख्यमन्त्रीको बदनाम गर्ने षड्यन्त्रको एउटा पाटो जस्तो देखिन्छ’, मुख्यमन्त्री सचिवालयका एक अधिकृतले भने, ‘मुख्यमन्त्रीले पैसा नतिरेपछि लाइन काटियो भनेर जुन सूचना प्रवाह गरियो, यो गलत हो ।’

पत्र दर्ता भएकै दिन मुख्यमन्त्री कार्यालयले विद्युत महसुल बुझाउने प्रक्रिया अघि बढाएको थियो । भोलिपल्ट चैत २१ गते मुख्यमन्त्री कार्यालयको बैठक तथा आन्तरिक प्रशासन शाखाले विद्युत महसुलवापत चेक पठाएको थियो ।

प्रशासनिक भवनहरुमा रहेको प्रदेश सरकारका मन्त्रालय, आयोग, कार्यालय र निवासहरुमा एउटै मिटरबाट विद्युत जडान गरिएको छ । सबै कार्यालयको एकीकृत मिटर रहेको छ । प्रदेश सरकारले हालसम्मको ७ लाख ६३ हजार ३५० रुपैयाँ चेकमार्फत भुक्तानी दिएको छ ।

‘मुख्यमन्त्री कार्यालयको विद्युत सप्लाइ नकाटेर किन प्रदेशसभाको विद्युत बन्द गरियो ? यसभित्र षड्यन्त्र हुन सक्छ’, सचिवालयले भन्यो, ‘विद्युत प्राधिकरणले पत्र लेखेको २४ घण्टाभित्र सबै रकम भुक्तानी दिइसकिएको अवस्थामा बदनाम गर्ने गरी कुरा बाहिर ल्याइयो ।’

प्रदेशको प्रशासनिक कार्यालयहरु यहाँ नआउँदा यो विद्युत राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको थियो । शिक्षालयको नाममा समेत बाँकी बक्यौता थियो । मुख्यमन्त्री कार्यालयले अबको विद्युत महसुल आर्थिक मामिला मन्त्रालयबाट भुक्तानी दिनेगरी व्यवस्था मिलाउन बोधार्थसमेत पठाएको लेखा अधिकृत दिनेशसिंह ठाकुरले लेखेको पत्रमा उल्लेख छ ।

विद्युत महसुल नबुझाएकाले प्रदेशसभाको बिजुली काटिएको भन्दै मंगलबार बसेको पहिलो अधिवेशनको आठौं बैठकमा प्रतिपक्ष दलका सांसदहरुले चर्कोगरी कुरा उठाए । उनीहरुले संसदमा आलोचना गरिरहँदा मुख्यमन्त्री कार्यालयबाट विद्युत महसुलको रकम भुक्तानीको लागि काटिएको चेक विद्युत प्राधिकरण वितरण केन्द्र लमहीमा पुगेको थियो ।

‘विद्युत काट्नु नियमित काम नै हो । रकम भुक्तानी भएको थिएन, त्यसमा विद्युत कार्यालयले आफ्नो सामान्य जिम्मेवारीमात्रै निर्वाह गरेको हो’, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले भने, ‘विद्युत काटिएपछि रकम भुक्तानी भयो । अहिले एक रुपैयाँ पनि बक्यौता छैन् ।’

यसअघि नेपाल प्रेसले यससम्बन्धी समाचार प्रकाशन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर